छापिने सबै पत्रिका हो, कम्प्युटर र मोबाइलमा देखिने सबै अनलाइन मिडिया हो भन्नुभयो भने अभिव्यक्तिको स्वतन्त्रता नजोगिने : सञ्चारमन्त्री डा रिजाल
काठमाडौ भाद्र ११. नेपाल प्रेस युनियनले आज राजधानीमा आयोजना गरेको ‘भूकम्पपछिको व्यवस्थापन र नेपालको राष्ट्रिय निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो बारेमा केही सञ्चारमाध्यमले अनर्गल समाचार प्रकाशन गरेकोप्रति आपत्ति प्रकट गर्दै समाचार लेख्दा समाचारको गम्भीरता र आफ्नो पत्रकारिता धर्मको दायित्व बुझेरमात्र लाई समाचार लेख्न
पत्रकारहरुलाई आग्रह गर्नुभएको छ ।
त्यस्तै पूर्व प्रम देउवाले आफू र आफ्नो पार्टी सदैव स्वतन्त्र पत्रकारिताको पक्षमा रहेको बताउँदै कैलाली घटनाको आफूले बोल्दै नबोलेको प्रसंग अर्थात कुरा केही सञ्चारमाध्यमले लेखेको आक्रोश पोख्दै नेता देउवाले बँधुवा मजदुरका रुपमा रहेका थारु समुदायको उत्थानका लागि आफूले कमैया मुक्तिको घोषणा गरेको व्यक्तिलाई नियोजित रुपमा थारु विरोधी भएको चित्रण सहितको समाचार प्रकाशन भएकोमा आपत्ती व्यक्त गर्दै भन्नुभयो – म सदैव थारु आन्दोलनमा लागेको मान्छे हुँ, म कसरी थारु विरोधी हुन सक्छु ? त्यस्तै उहाँले सुदूरपश्चिममा थारु र पहाडी समुदाय विगत देखि वर्तमान सम्ममा पनि मिलेर बसेको अवस्थामा केही व्यक्तिले सुनियोजित रुपमा सम्प्रदाय भड्काउने काम गरेको समेत त्यस क्रममा खुलासा गर्नु भएको थियो ।
कार्यक्रममा काँग्रेस प्रचार विभागका प्रमुख एवम सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले राष्ट्र निर्माणमा नेपाली प्रेसको भूमिका सकारात्मक रहदा रहदै पनि अझै केहि सुधारको आवश्यकता रहेको बताउँदै स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ भएकै कारण प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउन नसक्ने जिकिर प्रस्तुत गर्नु भएको थियो । त्यस्तै उहाँले छापिने सबै पत्रिका हो, कम्प्युटर र मोबाइलमा देखिने सबै अनलाइन मिडिया हो भन्नुभयो भने अभिव्यक्तिको स्वतन्त्रता नजोगिने बताउनु भएको थियो । वरिष्ठ पत्रकारद्वय डा सुरेश आचार्य र हरिबहादुर थापाले ‘भूकम्पपछिको व्यवस्थापन र नेपालको राष्ट्रिय निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेल वरिष्ठ पत्रकार हरिहर विरही, युनियनका अध्यक्ष बद्री सिग्देल, ईश्वरी ओझालगायतले नेपाली सञ्चारमाध्यमले राष्ट्र निर्माणमा खेलेको भूमिकाको सम्बन्धमा प्रकास पार्नु भएको थियो ।