अधिकांश सुझाव संकलन केन्द्रमा ८० प्रतिशतभन्दा बढी हिन्दू धर्मावलम्बी भएको मुलुकलाई धर्मनिरपेक्ष बनाउँन नहुँने जनसुझाव व्यक्त
काठमाडौं श्रावण ४, नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा आज २४० वटै निर्वाचन क्षेत्रमा जनमत सङ्कलनको कार्य सुरु गरेको छ । यसैक्रममा राजधानीको निर्वाचन क्षेत्र नं ८ का अन्र्तगत ज्ञानोदय उमावि बाफलमा संविधानको पहिलो मस्यौदामाथि सुझाव सङ्कलन गर्न आयोजित कार्यक्रममा बोल्ने अधिकांश जनताले ८० प्रतिशतभन्दा बढी
हिन्दू धर्मावलम्बी भएको मुलुकलाई धर्मनिरपेक्ष भन्न नमिल्ने राय व्यक्त गर्दै अब बन्ने नयाँ संविधानमा हिन्दू राष्ट्र कायम राख्नुपर्ने माग गरेका छन् ।
त्यस्तैगरि सुझाव संकलन कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सदस्य उद्धव थापाले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदानको महत्व दिन संविधानमा कतै न कतै उनको नाम अङ्कित गर्नुपर्ने माग गर्दै नेपाल चार जात ३६ वर्णको फूलबारी भएको हुँदा यहाँ सबैले समान अवसर प्राप्त गर्ने व्यवस्था संविधानको मौलक हकमा राख्न सुझाव दिनुभएको थियो भने सिविसका प्रतिनिधि यादवकुमारी पन्तले बालमैत्री संविधान निर्माणका लागि आग्रह गर्दै उनीहरुलाई विद्यालय, घर तथा अन्य स्थानमा यातना दिन नपाइने र कलकारखानामा श्रम शोषणको अन्त्य गरी प्रभावित क्षेत्रका र जोखिममा रहेका बालबालिकालाई संरक्षणको व्यवस्था गर्नुपर्ने प्रसंगमा जोड दिनु भएको थियो ।
त्यस्तैगरि धेरै सहभागीले राजनीतिक दलको उपस्थितिले राजनीतिक अस्थिरता उत्पन्न भएकाले त्यसको अन्त्यका लागि नयाँ संविधानमा राष्ट्रिय पार्टी बन्न मतसीमा थ्रेसहोल्डको व्यवस्था गर्नुपर्ने सुझाव दिनु भएको छ । त्यस्तै केही ज्येष्ठ नागरिकले उनीहरुको सामाजिक सुरक्षाको विषयलाई मौलिक हकअन्तर्गत राख्न पर्नेमा विशेष जोड दिएका थिए भने केहि सहभागीहरुले आरक्षण जातका आधारमा नभई पिछडिएका जनतामा केन्द्रीत हुँनुपर्ने र सांसद हुन कम्तीमा ‘स्नातक उत्तीर्ण’ को व्यवस्था नयाँ संविधानमा हुनुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा नेकपा एमालेका नेता जीवनराम श्रेष्ठले धेरै पार्टीका धेरै विचारलाई मस्यौदामा समाहित गर्नु परेकाले यसमा केही त्रुटि भएको भन्दै जनताको सुझाव लिएपछि उनीहरुको चाहनालाई सम्बोधन गर्दै त्रुटि सच्चाउन पर्ने अभिव्यक्ति दिनु भएको थियो । त्यस्तै कार्यक्रममा जनताको सुझाव ग्रहण गर्न उपस्थित संविधानसभा सदस्य नविन्द्रराज जोशीले प्रारम्भिक मस्यौदामा जनताले दिएको सुझावका आधारमा भएका त्रुटि सच्याइने बताउँदै मस्यौदाको अध्ययन गरेर थप सुझाव लिखित रुपमा दिन पनि त्यस अवसरमा आग्रह गर्नु भएको थियो । साथै उहाँले सुझाव संकलनको क्रममा प्राप्त जनताको राएलाई प्रतिवेदनमा समावेश गरी महत्वपूर्ण सुझावमाथि संविधानसभामा छलफल गरि जनभावनाको सम्मान गर्न आफु पूर्णप्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा आफ्नो सुझाव राखिसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दू राष्ट्र कायम राख्नुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।