बिहिबार, चैत्र १५, २०८०

मन्त्रिपरिषद्को बैठक : मस्यौदामाथि सुझाव लिन श्रावण ४ र ५ गते सार्वजनिक बिदा

काठमाडौ श्रावण १.  सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको राय सुझाव लिन सरकारले यही साउन ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  सभासद्हरूको आ–आफ्नो निर्वाचन क्षेत्रमा उपस्थित भई सुझाव  सङ्कलन गर्ने कार्यलाई मध्यनजर गरी सुझाव सङ्कलन कार्य र अत्यावश्यक सेवामा प्रत्यक्षरुपमा संलग्न कर्मचारीबाहेकलाई साउन ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

त्यस्तै आजको बैठकले बाराको कलैयामा बलात्कार भई उपचारका क्रममा निधन भएकी कञ्चनकुमारी ठाकुरका नजिकका हकदारलाई रु छ लाख आर्थिक सहयोग दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले बताउनुभयो । त्यस्तै स्थानीय शान्ति समितिको म्याद २०७३ असार मसान्तसम्म थप गर्नुका साथै राहत तथा पुनःस्थापना एकाइको म्याद २०७२ पुस मसान्तसम्म थप गर्नुको अलावा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्षमा डा कुलबहादुर बस्नेतलाई नियुक्त गरेको छ भने नेपाल स्वास्थ्य सेवाको अधिकृतस्तर १२ आँै तहमा डा किरण रेग्मी र डा मधुदेव भट्टराईलाई बढुवा गर्ने निर्णय गरेको छ ।

साथै सरकारले त्रिभुवन र संस्कृत विश्वविद्यालयमा लामो समयसम्म रिक्त दरबन्दीमा करारमा कार्यरत भारतीय शिक्षकमध्ये पाँचदेखि १० वर्षसम्म काम गरेकालाई प्रति वर्षको आधा महिनाको, १० देखि १५ वर्षसम्म कार्यरतलाई प्रतिवर्ष एक महिनाको र १५ वर्षभन्दा बढी काम गरेकालाई प्रतिवर्ष डेढ महिना बराबरको रकम उपलब्ध गराउने निर्णय साथै स्वामी डा प्रपन्नाचार्यलाई आजीवन मासिक रु ३० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।

आइतबार इदको सार्वजनिक बिदा : यसैवीच आइतबार पनि मुस्लिम समुदायको मनाउँने इदुल् फित्र पर्वको अवसरमा सरकारले सो दिन सार्जजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।