शनिबार, बैशाख ८, २०८१

प्रारम्भिक मस्यौदा सच्याउँनेतर्फ नजर अन्दाज गरिए मुलुकमा ठूलो दुर्घटना हुँने संविधानविद्को ठहर

काठमाडौं श्रावण २, संवैधानिक तथा कानुन व्यवसायी मञ्चले संविधानको मस्यौदाका सम्बन्धमा आज राजधानीमा आयोजना गरेको छलफल तथा सुझाव कार्यक्रममा संविधानसभाले तयार पारेको संविधानको प्रारम्भिक मस्यौदामा भाषागतमात्र नभई दफागतरुपमा समेत अनेकन त्रुटि रहेको र ति सच्याउँनेतर्फ नजर अन्दाज गरिए मुलुक नसोचेको दुर्घटनामा पर्ने भन्दै सचेत हुँन संविधानविद्ले जोड दिएका छन ।  कार्यक्रममा संविधानविद् नीलाम्बर आचार्य, वरिष्ठ अधिवक्ता शम्भु थापा,काशीराज दाहाल, प्रा डा पीताम्बर शर्मालगायतले संविधानको प्रस्तावनामा नै पुनर्लेखन गर्नुपर्ने र अन्य धारामा पनि थुप्रै सुधार गर्नुपर्ने देखिएकाले यसैलाई नै संविधानको अन्तिम स्वरुप दिन नहुने धारणा राख्नुभएको थियो ।

त्यस्तै संविधानविद् दाहालले भने संविधान सङ्क्षिप्त, सरल र बोधगम्य हुनुपर्नेमा सरकारको नीति तथा कार्यक्रमजस्तै मस्यौदा संविधान पनि भद्दा रहेको बताउँनु भएको थियो भने मञ्चका अध्यक्ष अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले सविधानलाई पूर्ण गर्न मस्यौदामा रहेका कमी कमजोरी हटाउन सबैले आफूलाई लागेका सुझाव दिदै मस्यौदामा प्रयोग भएको भाषा, प्रस्तावना, प्रारम्भिक परिभाषा, नागरिकता, मौलिक अधिकार, संवैधानिक राष्ट्रपति, सङ्घीयता, संवैधानिक अधिकार, महिला तथा बालअधिकार, संवैधानिक आयोग, न्यायपालिका, राजनीतिक दललगायत भागमा संशोधन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।