काठमाडौ आषाढ ३१, नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आज आयोजना गरेको ‘संविधानको प्रारम्भिक मस्यौदामाथिको चिरफार विषयक विज्ञ प्रस्तुति कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानको मस्यौदा फरक राजनीतिक आस्था बोकेका दलहरूको साझा दस्तावेज भएकाले आपसमा बाझिएका बुँदा देखिएको यद्यपी बाझिएका ति बुँदालाई अन्तिम रुप दिने क्रममा सबै दलको सहमतिमा संशोधन गरिने बताउँनु भएको छ । त्यस्तै उपसभापति पौडेलले मस्यौदामा सञ्चारमाध्यमका हक कुण्ठित हुने कुनै व्यवस्था भए संशोधन गरिनेमा विशेष जोड दिदै लोकतान्त्रिक अभ्यासबाट समाजवादमा प्रवेश गरिने भएकाले त्यस्तो समाजवाद लोकतान्त्रिक समाजवादको अवधारणाभन्दा फरक नहुने बताउँनु भएको छ ।
त्यस्तै कार्यक्रममा काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रदेशसहितको संविधान जारी नभएसम्म संविधान कार्यान्वयनमा नजाने भएकाले अधिकतम प्रयास सहित नागरिकबाट संविधानको सुझाव आउने समयको सदुपयोग गरी शीर्ष नेताले नामाङ्कन र सीमाङ्कनसहितको आठ प्रदेशको संविधान जारी गर्ने पक्ष तर्फ उन्मुख हुँनु पर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइराला , संवैधानिक कानुनका ज्ञाता डा विपिन अधिकारी वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने लगायतका वक्ताहरुले संविधानमा लोकतान्त्रिक मूल्य मान्यताका विरुद्ध सम्झौता गर्न नहुनेमा काँग्रेस नेतृत्वको ध्यानाकर्षण गराउनुभएको थियो ।