शनिबार, मंसिर १७, २०७९

बिचरी ती महिला…

 pen-copy-gift-150x150 -शोभाकर पराजुली

आतंकको आधारमा आफ्नो शासन स्थापना गर्न चाहनेहरूको जगजगी थियो । उनीहरूको विचारमा सहमत नहुनेहरूलाई त्रास देखाउने, ती जनताको सम्पति लुट्ने, लखेट्ने समेतका कार्यहरू भइरहेका थिए । केही साहसीहरु त्यसको विरोध गरिरहेका थिए । उनीहरूको विरोधलाई राज्यबाट सहयोग हुने अवस्था थिएन । तैपनि जनतालाई तर्साएको आधारमा राजगर्नेहरूको विरुद्धमा नलाग्नु भनेको आँफूमाथि अन्याय गर्नु हो । यो अवस्थाको श्रृजना  हुँदै र अझ विकराल हुँदै जाँदा त्यसको धोका हाम्रा भावी पिँढीलाई पनि हुन जान्छ भन्ने सोचेर केही मानिसहरूले ज्यानको बाजी लगाइरहेका थिए ।
यो अवस्था धेरै ठाउँमा विविध किसिमले आएको थियो तर निचोडमा एउटै कार्य भएको थियो अन्याय । पात्रहरुले भोगेका पीडाको परिणाम पनि अन्याय नै थियो । कति विस्थापित भएका थिए । उनीहरूको एउटा मात्र सोच थियो कि–जतिसुकै राम्रो कुरा गरे पनि बन्दुक र तरवारको आधारमा चल्नेहरूले जनताको हित गर्न सक्दैनन् । उनीहरूको गल्ति औँल्याउनु भनेको उनीहरूको अत्याचारको निशाना बन्नु हुन्छ । बन्दुकले जति नै अन्याय गरे पनि उनीहरूले अन्याय गरेको कुरालाई नै न्याय भन्नु पर्दछ र नभने मर्नु पनि पर्दछ, त्यतिबेला मानिसले के गर्दछ ? यदि उनीहरूले वास्तवमा जनताको हित गर्ने भए किन बन्दुक चाहियो ? बन्दुक नबोकी वा बन्दुकको लालसा नलिई जनतालाई सजग र सचेत बनाउने र आफ्नो पक्षमा लिने हो । र उनीहरूको हित गर्ने हो भने जनताले आवधिक चुनावमा उनीहरूलाई मत दिन्छन् नै । आवधिक चुनावसंग र विपक्षीसंग डराउनुको अर्थ हो गल्ति गर्न सक्दछौंं र गरेमा पनि सत्ताबाट हामी हात धुन तयार छैनौं वा सत्ता छोड्न तयार छैनौं भन्ने सोचको मान्यता । त्यो आफु भन्दा राम्रो विचार आएमा वा व्यवहार आएमा सजिलैसंग छोड्न हामीहरू तयार छैनौं भनेको हो । यो तानाशाही प्रवृत्ति हो र जनविरोधी प्रवृत्ती हो भन्ने प्रष्ट छ । यो विकास, समानताविरोधी प्रवृत्ति पनि हो ।
जनतालाई त्रास देखाएर राजगर्नु हु दैन भन्ने सोच राख्ने जुझारु व्याक्तित्वहरूमध्येका एक जनालाई आतंकका अगाडि घुंडा नटेकेको र त्यसको विरोध गरेको कारणले मारिएछ । मार्दा पनि तड्पाई तड्पाई मार्ने र त्यसबाट मानिस मार्ने दानवीय क्षमतालाई वृद्धि गर्ने आतंकीहरूको ब्यवहार त सबैलाई थाहा थियो नै ।bookउनको हत्या गर्नु पर्ने कारणमा उनले गल्तिलाई विरोध गर्न पाउनुपर्दछ, अझ राम्रा संभावनाहरू आउने बातावरण लोकतन्त्रले मात्र दिन्छ । बन्दुकको भरमा चल्नेहरुले लोकतन्त्र दिन सक्दैनन्, बन्दुकको भरमा चल्नेहरूको शासन हुनु भनेको शासितहरूलाई पशु सरह बनाउनु हो र पशुजीवन भन्दा मृत्यु ठीक छ भनेकोले एक सैनिकलाई सुराकी गरेको भन्ने झुटो आरोप रहेछ ।
सैनिकहरू बन्दुके बन्ने क्र्रम कम भएर बन्दुकलाई जनता र देशको सुरक्षामा प्रयोग गर्नेमा परिणत भइरहेका छन् र लोकतन्त्रका पहरेदार बनेका पनि छन् । उनीहरूलाई बन्दुके भन्दा बन्दुकेबाट बचाउने शक्तिको रुपमा पनि लिन थालिएको छ । लोकतन्त्रमा सुरक्षाकर्मीहरू बन्दुके हुदैनन् । उनीहरूबाट जनतालाई बचाउने सुरक्षाकवच बन्ने प्रयास गर्छन् वा सफल हुन्छन् । त्यसैले अचेल प्रायः सुरक्षा कार्यवाहीलाई युद्ध नभनिकन अपरेशन भन्ने गरिन्छ । शरीरको पनि त अपरेशन हुन्छ । खराब कुरा फाल्नका लागि राम्रोकै सुरक्षाको लागि वा खराबबाट राम्रालाई बिग्रन वा बर्वाद हुन नदिनका लागि हुन्छ । सुरक्षाकर्मीको कमी हँुदा बन्दुकेहरूबाट जनहितको सोच राख्ने र गल्ति प्रक्रिया र कामको विरोध गर्नेहरू धेरै मारिए वा विभिन्न तरिकाले सताइए । तिनीहरूमध्ये कतिपयका परिवारजनहरू र आफन्तहरूले शोकलाई शक्तिमा बदले । उनीहरू मर्न तयार भए । तर सबैको त्यस्तो क्षमता र अवस्था हँुदो रहेनछ । कतिपय फरक अवस्थाले पनि मानिसलाई फरक निर्णय लिन वाध्य हुन पर्दोरहेछ ।

संगठित आतंक चलेको समयमा असंगठित आतंक गर्नेहरू अर्थात् समाजका ठगहरू, बदमासहरू, बेइमानहरू, दलालहरू (गलत काम गर्ने दलालहरू), कहिलेकाँहि राम्रै काम गर्न पनि अनावश्यक दुख नहोस् भन्नेहरू तर पैसालाई बढी महत्व दिनेहरू, विभिन्न असामाजिक तत्वहरूसमेतका समाजका विषयहरू तथा कमजोर मनस्थितिहरूलाई आतंकवादको संरक्षणले सुरक्षित रहन, आफ्ना गल्ति छोप्न, बच्न र गल्तिहरूलाई जारी राख्न सजिलो बनाउने उपाय भनेको संगठित आतंकी समूहको सदस्य बन्नु नै रहेछ । त्यसले गर्दा संगठित आतंक मच्चाउनेहरूलाई पनि बल पुग्ने रहेछ । जनतालाई अझ डर देखाउन सजिलो हुने रहेछ । जनतामा भ्रम दिन खराब मानिसहरू नै भए पनि आफ्नो विचारले जित्न आवश्यक भएकोले तिनीहरू ठीक विचारमा आए र उनीहरू ठीक भए, उनीहरूलाई पनि ठीक हुने अधिकार छ भन्ने गरियो । अन्य पक्षमा त्यस्तै नभए पनि कुनै अनायासै गल्ति भएमा त्यसलाइ नै आधार मानेर विरोध गर्ने कार्य हुन थालेको थियो । उनीहरूलाई प्रतिगमनका पक्षधर र गरीबका विरोधी भनेर खेदो गर्ने गरिन्थ्यो । समाजका विषहरूले अझ संगठित अपराध गरेर जनतालाई पीडा थपिरहेका थिए । आतंकी पक्षले लाखौं मानिसहरूलाई दुख दिएको थियो । संगठित रुपमा मानिस मारेको थियो । तर अर्को ठाउँमा अरु अपराधीको कारणले मानिस मरेमा त्यसको विरोध गर्ने कार्य त्यो आतंकी संगठनबाट हुन्थ्यो । हत्या र आतंकको विरोध हुनै पर्दछ तर आतंक फैलाउने र हत्या गर्नेले अरुले त्यही काम गर्दा विरोध गर्नु भनेको मानिस मार्नेसम्मका अपराध गर्ने छुट आपूmलाई मात्र छ भन्नु नै हो । पीडितलाई फोहोर हातले छुनु हो । रामहरि श्रेष्ठका नाबालक छोराले आफ्ना बाबु मारिएकोमा क्षतिपूर्ति लिए हुन्छ भन्दा–के मान्छे मार्ने लाइसेन्स क्षतिपूिर्त हो ? भन्ने आसयका अभिव्यक्ति राखेका थिए । संपत्ति, सत्ता र शक्तिका लागि आतंकमा उत्रेकाहरूले पैसा दिए पछि अरुलाई जे गरे पनि हुन्छ भन्ने सोच्दा रहेछन् । अर्थात् गहिरिएर बुझ्न सक्ने हो भने कम्युनिष्ट विचारको वास्तविक र कतै पनि विजय हुनुमध्येको प्रमुख कारण त्रास र शक्तिको प्रयोग नै रहेछ । त्यो परिवार मात्र अपवाद होइन होला । एकै किसिमका पीडा नभए पनि फरक किसिमका पीडा विभिन्न परिवारहरू, जसको परिवारका मानिसलाई मारिएको छ वा दुख दिइएको छ, तिनीहरूलाई पनि भएको होला । त्यो परिवारमा भने अझ अप्ठेरो प-यो । डरले अरु विस्थापित भए वा आतंकीहरूको गुटमा लागे । पछि फाइदा र सुरक्षाको लागि उनीहरूको विचार पनि बदलियो र मन स्वार्थमा लोभियो । तर त्यो परिवारमा पति र बाबु मरे पछि जाने कुनै ठाउँ थिएन वा साहस भएन । पति मरेको क्रियामा खर्च कहाँबाट ल्याउँदछौ ? त्यो पैसा हामीलाई देऊ । नत्र तिमीहरूको पनि खैरियत हुने छैन भन्ने धम्की आयो ।

केही कर, चन्दा दिएर उनीहरू बस्दै आएका थिए । कहिले खाना, कहिले चन्दा, कहिले काम गरिदिनु पर्ने आदि दुःख सहनु पर्ने वाध्यता दोहोरिइरहेको थियोे । अर्कोतर्फ विरामी पर्दा समेत कतैबाट कसैको सहयोग हुने अवस्था थिएन । गाउँमा आतंकीहरूकै शासन थियो । कुनै एक रात त केही मानिसहरू आए । ढोका खोल्न भने, तिनीहरू आतंकीहरू रहेछन् । बच्चाहरूलाई लिएर सुतेकी ती महिलालाई सोधपुछ गर्ने भनेर आतंकीहरूले बाहिर लगेछन् र बाहिरबाट ढोका लगाएछन् । त्यस पछि तँ यहाँबाट भाग्ने कि ? मर्ने भनेछन् । उनलाई के लाग्यो कुन्नी, मलाई मार भनिछन् । त्यसपछि चार पाँच जनाको समूहले उनलाई मार्ने सोच नबनाएर बलात्कार गरेछ । मुख थुनेर बलात्कार गरेपछि उनले कुनै प्रतिकार गर्न सक्ने कुरा भएनछ । बलात्कार पछि उनीहरू गएछन् । अर्धवैसे महिला त्यहाँबाट फर्किछन् । पीडाले के गर्ने भन्ने नसोचिकन उनको दिमागमा सन्तान आत्तिएको पीर भएछ । वास्तवमा आमालाई सन्तानको ठूलो ममता पनि हुन्छ । त्यसैले देवीको आराधनामा “कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति” अर्थात् सन्तान खराब हुन सक्दछ तर आमा कहिल्यै खराब हुन सक्दिन पनि भनिएको छ । नको मनमा मरौं कि जस्तो पनि लागेको रहेछ । उनीहरूलाई मार भन्दा मारेनन् । अब सन्तानको लागि मात्र बाँचेको, व्यक्तिगत रुपमा मरेको संझेर पनि म बाँच्नु पर्दछ भन्ने उनलाई लागेछ ।

मुस्किलले घर आएपछि सोह्र वर्षसम्मका सन्तानहरू भएकोमा आमा के भयो ? भनेर उनीहरूले सोध्दा उनलाई पीडाले फेरि छोपेछ । तर सम्हालिंदै उनले भनिछन् कि–उनीहरूले पिटे, अरु केही भएको छैन । अब कसरी दिन बिताउने भन्ने सोच्दा सोच्दै आतंकीहरूले अर्को दिन बच्चाहरू नभएको समयमा आएर तिमीले हाम्रो यौन इच्छा पूरा गरेमा हामी तिमीलाई केही गर्दैनौं र अरुलाई पनि केही गर्न दिँदैनौं भनेछन् । उनलाई हल्ला गरौं जस्तो, विरोध गरौं जस्तो त लागेको थियो । तर उनी संयमित भइन् । उनले सोचिन्– उनको कुरा कसले सुन्छ र ? हरेक सत्य कुरा आतंकीहरूका लागि विष हुन्छ । आफ्नो लागि पीडाको कारण बन्नपुग्दछ । जीवन त बच्चाहरूको लागि हो । म बच्चाहरूको लागि भनेर बाँच्ने भनेकी होइन र ? उनको मनमा आएछ । बच्चाहरूलाई पनि त बचाउन प-यो । म त यसै बिग्रेकी आइमाई भएँ । उनले उनीहरूको सर्त पालना गरिन् । केही समय त उनको शरीरको प्रयोगले आतंकीहरू खुसी भए र हामीले विरोधीलाई पनि गल्ति नगरे केही गर्दैनौं भने तर यथार्थ गल्ति होइन बरु आतंकीहरूसँग अपराधमा प्रतिकार नगर्नु मात्र थियो । पछि आतंकीहरूको आँखा उनकी छोरीमाथि प-यो । उनीहरूले छोरीलाई पनि यौन तृष्णाको शिकार बनाए । उनले अब त विरोध गर्दछु भन्ने ठानिन् । आतंकीहरूको सामु उनको विरोधको कुनै अर्थ रहने छैन बरु छोरी र उनी गएर नजिकको नदीमा हामफालेर मर्नु नै उपयुक्त हुन्छ भन्ने उनको निष्कर्ष निस्कियो । तर अरु सन्ता��लाई के गर्ने ? बरु बाँचे अरु विकल्प निस्केलान् । उनले छोरीलाई विभिन्न तर्कहरू दिएर संझाइन् । यो दुखको भारी कति बोक्ने ? विरोध गरे पनि विरोध हावाले उडाउँछ । परिणाम भने आँफुले भोग्नु पर्दछ । उनले आतंकीहरूले छोडेको पर्चा पढिन् । अब उनलाई उपाय आयो । आतंकीको समूहमा लाग्ने । उनलाई उपयोग गर्ने गरेका बाहेकका अलि माथिल्ला नेतासंग भेट्ने विचार सुझ्यो । उनी ती नेतालाई भेट्न गइन् । उनले आतंकीहरूले भाषण गर्दा सुनेका कुरालाई मिलाएर भन्दै आफुले पहिला गल्ति गरेको र उनका पतिले गल्ति गर्दा यसो भएको भन्ने समेतका कुरा राखेर नेतालाई आश्वस्त पारिन् । हुन त पतिले न्यायको पक्षमा बोल्ने गरेको कुराले उनलाई घचघच्याइरहेको थियो । तैपनि उनी संयमित भइन्, बच्चाको भविष्य सोचेर आँफैलाई सम्हालिन् । त्यही दिनमा उनलाई ती नेताले विधिवत उपल्लो श्रेणीकी योद्धा बन्न पुगेकी, पतिकै गल्तिले गर्दा उनको मृत्यु हुन पुगेको र त्यसमा पतिको नै दोष भएको बताएकीले उनलाई विशेष सम्मान गरे । यो विषय प्रचार गर्नका लागि पनि महत्वपूर्ण थियो । उनले ती ठूला नेतालाई घरमा एक्लै भएको समयमा बोलाइन् र रमाइला कुरा गरिन् । अर्को विवाह गर्न मन लागेको तर सन्तानको मायाले गर्दा गर्न नसक्ने बताइन् ।

उनको कुरा बुझेर ती नेताले उनलाई बाहुपासमा लिए । समय समयमा उनीहरूबीच गोप्य रुपमा मायाप्रीतिका कुरा हुने सल्लाह भयो । अरुले केही गरेमा आफुलाई भन्नू भनेर ती स्थानीय नेताले भने । आतंकीहरूको सबैभन्दा ठूलो कमजोरी भनेको यौनलिप्सा हो भन्नेमा उनी र उनकी छोरीप्रति गरिएको क्रुर व्यवहार र यौन अपराधबाट समेत उनलाई प्रष्ट भएको थियो । त्यही वाध्यताले गर्दा ती महिलाको पनि चाहना त्यही बनाउन आवश्यक भएको थियो । केवल एक जनासंगको सामिप्यले उनलाई सजिलो पनि हुने हुँदा उनीले नै वाध्यताको चाहना ती नेतामाथि खुसीले जस्तो गरेर राखेकी थिइन् । यसले बहुपीडाबाट रोक्ने पनि थियो र रोक्यो । अर्को राति साथी भन्दै आतंकीहरू आए । उनले ढोका खोलिनन् बरु बाहिरबाटै यस्तो कुरा आफूले नमान्ने, अब यस्तो कुरा आएमा माथिका नेतालाई बताउने कुरा उनले भनिन् तर कस्सिएर आएकाहरूले ढोका फोरे अनि उनी चिच्याउन थालिन् । उनको आवाज सुनेर गाउँलेहरू आए । उनीसंग सामिप्यता अर्थात् माया प्रिती गाँसेका नेता पनि आए ती नेता त्यस इलाकाका सबैभन्दा ठूला आतंकी नेता थिए नै । ढोका फोर्नेहरू पक्राउ परे । उनीहरूले जति अनुरोध, सफाइ र आरोपका बारेमा बताए पनि मुख्य नेता अब उनीहरूको कुरा सुन्न तयार भएनन् ।

गाउँलेहरूले उनको सम्मान हुनु पर्दछ र ढोका फोर्नेहरूलाई श्रम सजाय हुनु पर्दछ भन्ने प्रस्ताव राखे । त्यसपछि ती महिलालाई गाउँको महिला आतंकी समूहको प्रमुख सल्लाहकारमा नियुक्ति गरियो । महिलाहरू, त्यो आतंकी समूहले ती महिलालाई त्यति ठूलो सम्मान गरेकोमा गद्गद् भए र आतंकी समूहको जयजयकार समेत गरे । अर्थात् काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर । अब उनका पीडाहरू सकिए । त्यस ठाउँमा आतंकीहरूकै राज थियो । उनी त्यहाँकी सम्मानित व्यक्ति बन्न पुगिन् । ठूलो मानिस बन्दै जाँदा उनमा पनि लोभको कारणले त्यसै संगठनमा नै बस्न ठीक लाग्यो । सुरक्षा, सम्मान, पद, पैसा मात्र होइन शक्ति पनि उनलाई प्राप्त भयो । पछि उनको एउटा छोरा विदेशमा काम गर्न गयो । उसले आमालाई पनि घुम्न बोलायो । आमा त्यहाँ पुगे पछि आमालाई सोध्यो–आमा तपाइँ जे गरिरहनु भएको छ, त्यसबाट खुसी हुनुहुन्छ ? उनले उत्तर दिनु भन्दा पहिला भनिन्–तिमी के सोचिरहेका छौ बताऊ त ? छोराले निर्धक्क भएर बच्चाको जस्तो गरेर आमाको काँखमा बसेर भन्यो–आमा त्यो कु नै कुरा मन नपरे पनि ठूलाले भनेको मान्नै पर्ने, हामी सानाहरूको कुनै पनि कुराको सुनुवाइ नहुने । त्यस समूहको सदस्य भए जे अपराध गरे पनि छुट हुने, त्यस्तो संगठन त मलाई मन पर्दैन । अब म पनि त्यहाँ आउन्न । आमाले भनिन्– तिम्री आमा ठूला मानिसमा परिसकिन् । अब कुनै डर छैन । तिम्रा कुरा सुनिन्छन् । छोरा भन्दछ, तपाई जस्ताको संख्या कम छ । हामीले पहिला दुख पाएका जस्ताहरूको संख्या बढी छ । अन्याय गर्नु र अन्यायको पक्षमा बस्नुभन्दा मर्नु उपयुक्त हुन्छ जस्तो लाग्दछ आमा मलाई त । तर के गर्ने ? पहिला तिमीहरूको मायाले मर्न सकिन । अब मर्ने जरुरत छैन र विद्रोेह गरौँ भने मारिदिन्छन् । तिमीले सुनेका छैनौ ? सत्यको लागि विद्रोह गर्नेहरूलाई कि त सुराकीको आरोपमा मारिदिन्छन् कि आर्थिक हिनामिनाको दोषमा मारिदिन्छन् । त्यसको पृथक कारणले भए पनि एउटा उदाहरण त तिम्रा बाबु नै हुन । अर्को शब्दमा भन्दछौ भने कुनै पनि अपराध गर्ने छुट आतंकी समूहमा रहँदासम्म मात्र सीमित रहन्छ । बरु यसैमा आनन्द लिए ठीक छ । अन्याय जति नै भए पनि बन्दुकको अगाडि असंगठित पीडितहरूले केही गर्दा पनि सफल हुन् सक्दैनन्। गरीबहरू कमाउँदछन् । आम्दानी हामी राख्दछौं अनि कसैले विरोध गरे भोकै मर्नु पर्दछ । हाम्रो संगठनका प्रमुख आधार यिनै हुन, आमा भन्छिन् । तिमी सम्झ छोरा, हामीले जे भन्दछौं त्यही न्याय हो, हामी जे थोपर्दछौं त्यो नै समानता हो । अन्यायको परिभाषा पनि हामी नै गर्दछौंं । हाम्रो समूह बाहेककाले जे गरे पनि त्यो अन्याय हो । त्यस्तो अन्यायको पीडा भोगेका हामीहरूले यस्तो कुरा गर्न सुहाउँछ र आमा ? म आखिर त्यसमा लागेर अरुले जस्तो बढी अन्याय गरेकी छैन । अरुलाई पनि अन्याय गर्न सकेसम्म रोकेकी छु, आमा स्वभाविक रुपमा भन्दछिन् । सबैले यसो भन्दा त अन्याय संस्थागत हुन्छ । हामीले अन्यायको विरोध नगरेमा र सबैले यसो भनेमा कसले न्यायको कुरा गर्दछ आमा ? म बुढी भएँ । अब साहस छैन । तिमीहरूको मायाले पनि म त्यसो गर भन्दिन । तर मैले राम्रो गरेँ भनेर पनि म भन्दिन । मेरो वाध्यता थियो । न म तिमीलाई मर्न तयार होऊ भन्दछु । तिमीलाई केही पैसा ल्याइदिएकी छु । नेता भए पछि हाम्रो संस्थामा पैसाको प्रयोग सजिलो हुन्छ । विरोध गर्ने साहस नहुने मात्र होइन, नेताले हाम्रो लागि शरीर नै अर्पण गरेका छन् भने हामीले उनीहरूप्रति शंका गर्न हुँदैन भन्ने आतंकीहरूको मुख्य धारणा हुन्छ । आमा, त्यो अपराध गरेको पैसा म कसरी लिउँ ? तिमीले चाहे त्यो पैसालाई अन्यायको विरोधमा पनि प्रयोग गर्न सक्दछौं । तर मेरो नाम नलिनू । म अब संघर्ष गर्न सक्दिन । अब त मलाई संगठन छोड्दा भ्रष्टाचार, शक्तिको दुरुपयोग आदि जस्ता आरोप पनि लाग्न सक्दछन् । म मारिने संभावना सबैभन्दा बढी हुन्छ बाबु ।
क्रमश……..