काठमाडौ श्रावण १५, आज आषाढ शुक्ल पूर्णिमा अर्थात आफूलाई अज्ञानरुपी अन्धकारबाट ज्ञान प्रदान गर्ने गुरुको सम्मान आज देशभर गुरुपूर्णिमा मनाइँदै छ । वेद, महाभारत, श्रीमद्भागवत, अठार पुराण उपपुराण आदि धार्मिक ग्रन्थका रचयिता वेदव्यासको
जन्मजयन्तीलाई परापूर्वकालदेखि गुरुपूर्णिमाका रुपमा मनाउन सुरु गरिएको जनश्रृति रहि आएको छ । त्यसो त संस्कृतिमा गुरुलाई ब्रह्मा, विष्णु, महेश्वर र परब्रह्मकै उच्च स्थानमा राखेर ठूलो सम्मान गरिन्छ। यस दिन विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरूले आफ्ना गुरुलाई सम्मान गर्छन्। चार वेद (ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद), अठार पुराण, महाभारतको रचयिता कृष्ण द्वैपायनको पनि यसै दिन जन्म भएकाले यस दिनलाई व्यास जयन्तीका रूपमा पनि मनाउने गरिन्छ।
यसैक्रममा ज्ञानोदय पूर्व विद्यार्थी समाज नेपाल ज्ञान” द्दारा आज आफ्ना गुरुहरुको सम्मानमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा विद्यालयका प्रअ नातिकाजी महर्जनले विद्यालयको स्थापनाकालदेखि हालसम्मका प्रधानाध्यापक लगायत पूर्व तथा वर्तमान शिक्षकहरु, व्यवस्थापन समितिका सदस्य आदिलाई जमघट गराउन ज्ञानले देखाएको कोशिसलाई प्रशंसा गर्नु भएको थियो । त्यस्तै निवर्तमान प्रअ धनञ्जय शर्मा अधिकारीले भने ज्ञानको स्थापनाको पहिलो वर्षदेखि नै शुरुवात गरिएको यस्ता कार्यक्रम भावि पुस्ताका लागि अनुकरणिय रहेको बताउनु भएको थियो । त्यस्तै गरी पूर्व शिक्षक महेश्वर यादवले विद्यार्थीहरुको संगठन विद्यालयको लागि मेरुदण्ड सावित भएको र यसले गरेका सामाजिक कार्यहरुको प्रशंसा गर्नु भएको थियो ।
समाजका अध्यक्ष साधुराम गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निवर्तमान प्र।अ हरु सानुकाजी केसी, धनञ्जय शर्मा अधिकारीका साथै वर्तमान प्रअ नातिकाजी महर्जन त्यस्तै गरि पूर्व शिक्षकहरु ज्वाला नेपाली, गुलशन प्रधान, ईश्वरी भट्टराई, महेश्वर यादव, कमला राजभण्डारी, भोलानाथ रेग्मी, प्यारेन्टेस टिचर एसाृसिएसनका अध्यक्ष रामेश्वर प्रसाद गौतम र विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् विद्यालयमा हाल कार्यरत वर्तमान शिक्षक/कर्मचारी गरी १५० जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।
समाजका अध्यक्ष साधुराम गौतमले विद्यालयको पूर्व विद्यार्थीहरु बिचको सम्पर्कलाई अगाडि बढाउँदै, आपसी सहयोग र सद्भावमा वृद्धि गर्दै, विद्यालयसंग समन्वय गर्दै विविध कार्यक्रमहरु आयोजना गर्ने लक्ष्यका साथ अगाडि बढ्ने एल्मुनाईको मुख्य उद्धेश्य रहेको बताउँदै गुरु पूर्णिमाको अवसरमा पूर्वविद्यार्थी समाजले यस किसिमको कार्यक्रमको आयोजना गरेको जानकारी दिनु भएको उक्त कार्यक्रममा सहभागीहरुलाई समाजकी सदस्य निरु महर्जनले स्वागत गर्नु भएको थियो भने कार्यक्रम संचालन समाजका सचिव रूपचन्द्र पन्तले गर्नु भएको समाजद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।