शुक्रबार, चैत्र १६, २०८०

सर्वोच्च आदेशले नेपाल ट्रस्टमातहत आएका सरकारको ५ हजार रोपनी जग्गा जोखिममा

काठमाडौं आषाढ ९, पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मीको मुद्दामा सर्वोच्च अदालतले दिएको आदेशले नेपाल ट्रस्टमातहत आएको विभिन्न नौ जिल्लास्थित पाँच हजारभन्दा बढी रोपनी जग्गा जोखिममा पर्ने देखिएको छ । यो नजिर स्थापित भए ट्रस्टको नाममा आएको पोखराको दियालो बंगला, रत्न मन्दिर, मकवानपुरको हेटौँडा दरबार र काठमाडौंको गोकर्ण रिसोर्ट पनि गुम्न सक्छ । ट्रस्टमातहत ल्याइएको काठमाडौंको छाउनीस्थित १५ रोपनी १ आना जग्गा सर्वोच्च  Court अदालतले पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणालाई फिर्ता गर्न आदेश दिएको छ ।

पूर्वराजा वीरेन्द्रको नाममा रहेको उक्त जग्गा ज्ञानेन्द्रले छोरीलाई दाइजो दिएका थिए । यही नजिरलाई आधार मानेर कसैले मुद्दा दायर गरे ट्रस्टमातहत ल्याइएका अन्य जग्गा पनि फिर्ता गर्नुपर्ने स्थिति आउनसक्ने ट्रस्टका पदाधिकारीहरू बताउँछन् । ट्रस्टले हालसम्म पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा रहेको काठमाडौं, भक्तपुर, नुवाकोट, धनकुटा, मकवानपुर, काभ्रे, चितवन, कास्की र सुर्खेतमा रहेको पाँच हजार ६४ रोपनी १३ आना एक दाम एक पैसा जग्गा आफ्नो नाममा ल्याइसकेको छ । ‘हामीले नेपाल ट्रस्ट ऐन, २०६४ अनुसार पूर्वराजा वीरेन्द्र र वीरेन्द्रका परिवारको नाममा रहेको सम्पत्ति ट्रस्टको स्वामित्वमा ल्याएका हौँ, तर यसरी सम्पत्ति फिर्ता गर्दै जाने हो भने ट्रस्टको स्वामित्वमा आएको कुनै पनि सम्पत्ति नरहन सक्छ,’ ट्रस्टका कामु सचिव केदारबहादुर अधिकारीले भने । ट्रस्टका कानुन उपसचिव पुरुषोत्तम नेपालले ऐन–नियमअनुसार नै वीरेन्द्र र वीरेन्द्रको परिवारको नाममा रहेको सम्पत्ति ट्रस्टमातहत ल्याइएको बताए । ‘ट्रस्टका नाममा आएको सम्पत्ति फिर्ता गर्दै जाने हो भने ट्रस्टको कुनै पनि सम्पत्ति बाँकी नरहन सक्छ, त्यसैले हामी सर्वोच्चले आदेश गर्दैमा जग्गा फिर्ता गर्दैनौँ, बरु पुनरावलोकनमा जान्छौँ,’ नेपालले भने ।

ट्रस्टका अनुसार पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा काठमाडौंका विभिन्न स्थानमा रहेको झन्डै ३३ सय रोपनी जग्गा ट्रस्टका नाममा फिर्ता आएको छ । त्यसैगरी भक्तपुरमा एक सय आठ रोपनी, नुवाकोटमा ८७, धनकुटामा एक सय ९४, मकवानपुरमा २६, काभ्रेमा नौ रोपनी, चितवनमा दुई हजार ६ सय ७५ बिघा, कास्कीमा एक सय ७५ रोपनी र सुर्खेतमा पाँच सय ३४ बिघा जग्गा ट्रस्टको नाममा आइसकेको छ । काठमाडौंका विभिन्न स्थानमा रहेका १८ वटा घर पनि ट्रस्टले आफ्नो नाममा ल्याएको छ । सर्वोच्चको आदेशलाई नजिर मान्दै अन्य कतिपय व्यक्ति ट्रस्टको नाममा आएको जग्गालाई आफ्नो दाबी गर्दै अदालत जानसक्ने कानुन उपसचिव नेपालले बताए । ट्रस्टको जग्गा कसले उपभोग गर्दै छ रु ट्रस्टले आफ्नो नाममा ल्याएको अधिकांश जग्गा विभिन्न व्यक्ति, व्यापारी र संस्थाले उपभोग गरिरहेका छन् । ताहाचलस्थित ५९ रोपनी जग्गामध्ये केही व्यापारिक तथा सामाजिक काममा प्रयोग भइरहेको तथा केही लिजमा दिइएको ट्रस्टले जनाएको छ । त्यस्तै, बालाजुमा स–साना कित्तामा छरिएको १० रोपनी जग्गामा मोहीले खेती तथा बसोवास गरिरहेका छन् । सामाखुसी गल्कोपाखामा रहेको नौ आना जग्गामा पनि मोहीले बसोवास गर्दै आएका छन् । ट्रस्टका अनुसार काठमाडौंका विभिन्न स्थानमा रहेका केही जग्गा विद्यालयले र कतिपय मोहीले प्रयोग गरिरहेका छन् । कतिपय ब्यवसायिक प्रायोजनमा रहृको खवर नयाँ पत्रिका दैनिकले छापेको छ।