शुक्रबार, चैत्र १६, २०८०

संविधान मस्यौदाको विवादित सवालमा केन्द्रीत चार दलको बैठक बिनानिश्कर्ष सकियो

काठमाडौ आषाढ ८, प्रमुख राजनीतिक दलबीच भएको सोह्रबुँदे सहमतिको र विगतमा विभिन्न पक्षसँग भएको सहमतिका आधारमा संविधान मस्यौदा समितिअन्तर्गतको कार्यदलले आज राति अबेरसम्म एकीकृत मस्यौदा तयार पार्ने भने पनि केहि विषयगत विवादका कारण आज संविधान मस्यौदा तयार नहुने  भएको छ ।

 मस्यौदा तयार पार्ने क्रममा सिर्जित विवादका कारण विवादित प्रसंग प्रमुख शीर्ष नेतासँग छलफल गरेर टुङ्गो लगाइने सवालमा भएको सहमति अनुरुप आज साँझ बस्ने चार दलको बैठकमा कार्यदलले विवादित संविधानको मस्यौदा पेश गर्ने तयारी गरेको बुझिएको छ । त्यस्तै कार्यदलका सदस्य रमेश लेखकले कार्यदलले तयार गरेको प्रतिवेदन समितिको बैठकमा पेस गरिने र यसवीचमा नमिलेका सवालको सम्बोधन शीर्ष नेतृत्वले गरेपछि पुनः कार्यदलको बैठक बसी मस्यौदा तयार पार्ने जानकारी दिनु भएको छ ।

यसैवीच संविधानको एकीकृत मस्यौदा बनाउने क्रममा देखिएको विवाद समाधान गर्न आज बसेको प्रमुख चार दलको बैठक बिनानिश्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुबाटारमा आज साँझ बसेको बैठकमा विवादित विषयमाथि छलफल भए पनि अन्तिम रूप दिन समय लाग्ने भएकाले बुधबार बिहान पुनः बैठक बसेर टुङ्ग्याउने नेताहरूले बताएका छन् ।
आजको बैठकमा प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसहित मस्यौदा समिति कार्यदलका सदस्यहरू सहभागी हुनुहुन्थ्यो । बुधवार बिहान ११ बजे बैठक बसेर संविधानको एकीकृत मस्यौदा बनाउने क्रममा देखिएको विवादकावीच सहमति खोजिने चारदलबीच समझदारी भएको छ ।