शनिबार, बैशाख ८, २०८१

उच्च शिक्षा : कस्तो र कुन कलेज रोज्ने ?

pen- जगत प्रजापति 

काठमाडौ आषाढ ७,    प्रवेशिका परीक्षा (एसएलसी) को नतिजा पनि सार्वजनिक भएको छ । देशका ५ लाख भन्दा बढीको भाग्यको जाँच गरेको परीक्षामा करीव दुई लाख मात्र उत्तीर्ण भएका छन । बाँकी असफलको सुचीमा सुचिकृत भएका छन ।  नतिजासँग विद्यार्थी तथा अभिभावकहरु उच्च शिक्षामा कुन विषय लिएर पढ्ने र पढाउने दोधारमा पर्ने गरेको छ । नतिजा सँगै आउने प्रतिशतले कतिको विज्ञान संकाय पढ्ने चाहना अधुरो हुन सक्दछ । कतिले एसएलसीमा प्राप्त नतिजाकै भरमा विज्ञान संकाय पढ्ने जमर्को गरेको हुन सक्दछ । एसएलसीपछि के पढ्ने भन्ने मुख्य विषय विद्यार्थीको चाहनामा निर्भर रहन्छ र हुनु पनि पर्दछ । अभिभावक वा साथीभाईको करकापमा चाहना भन्दा बाहिरको विषय अध्ययन गर्दा भविष्य बिग्रन सक्दछ ।

पढाई असफल हुँदै जीवन नै अन्धकारमय हुन सक्दछ । त्यसैले विद्यार्थी अभिभावक सबैले यस विषयमा गम्भिर भएर सोच्न आवश्यक छ । विषय छनोट गर्दा मुख्य ध्यान दिनुपर्ने कुरा भविष्यमा के बन्ने चाहना छ त्यतापट्टि ध्यान दिन जरुरी छ । विद्यार्थीको कुशल व्यवस्थापक बन्ने चाहना छ भने विज्ञान संकायमा पढ्नुको कुनै औचित्य हुँदैन । त्यस्तै भविष्यमा चिकित्सक वा ईञ्जिनियर बन्ने धोको छ भने व्यवस्थापन वा अन्य कुनै संकायमा पढ्न भएन उसले विज्ञान संकाय नै पढ्नु पर्दछ । एसएलसी पछि उच्च शिक्षा अध्ययन गर्नेक्रममा विभिन्न संकायहरु हुन्छन । ति कुनै पनि राम्रा वा नराम्रा भन्ने हुँदैन । सबैको आ–आफ्नै स्थानमा छुट्टै महत्व रहेको हुन्छ । पछिल्लो समय प्राविधिक विषयहरु पनि पढ्ने अवसर छ । पैसा कमाउन र नाम कमाउन, प्रशिद्ध हुन, डाक्टर वा ईञ्जिनियर वा पाईलट नै हुनुपर्छ भन्ने छैन । राम्रो शिक्षक वा वकिलले पनि जीवनमा राम्रै कमाई गर्न सक्दछ ।

समाजमा एक प्रतिष्ठित व्यक्तित्व भएर जीउन सक्दछ । त्यसैले सबैले विज्ञान नै पढ्नु पर्दछ भन्ने होईन । उच्च शिक्षामा मानविकी, शिक्षा शास्त्र वा अरु कुनै पनि संकायमा पढ्दा पनि हुन्छ । विद्यार्थी तथा अभिभावकहरुले के पढ्ने सँगसँगै आफ्नो आर्थिक अवस्थालाई पनि ख्याल गर्नुपर्दछ । खर्च नै धान्न नसक्ने गरी पढाउनु पनि उचित हुन सक्दैन । आफ्नो आर्थिक हैसियत भन्दा बाहिर गएर समाजमा देखाउन कै लागि भएपनि वा आफ्नो ईच्छा शक्ति कै कारण बढी खर्च हुने विषय पढ्नु पनि गलत हुन सक्दछ । कलेजको शुल्क लगायत भविष्यमा आईपर्ने अतिरिक्त शुल्क समयमा तिर्न सकेन भने त्यसले बच्चाको पढाईलाई नकारात्मक असर पु¥याउन सक्दछ । त्यसैले विषय छनोट गर्दा आफ्नो आर्थिक अवस्थालाई पनि ख्याल गर्न जरुरी छ। कतिपय अवस्थामा साथीभाईको करकाप, अभिभावकको ईच्छा र आकांक्षाका कारण रुची भन्दा बाहिरको विषय छनोट गर्दा पढ्न मन नलाग्ने, त्यसले गर्दा पढाई बिग्रने, पढाई बिचमा छाड्नु पर्ने, उत्तीर्ण गर्न नसक्ने जस्ता समस्या पनि आउन सक्दछ । यसले एउटा विद्यार्थीको जीवन बरबाद हुन सक्दछ ।

विद्यार्थी अभिभावकहरुले विषय सँगै कलेज रोज्दा पनि बडो ध्यान दिन जरुरी छ । राम्रा र आकर्षषण तथा ठूला भवन हुँदैमा पढाई राम्रो हुन्छ भन्ने होईन । त्यसैगरी आकर्षण विज्ञापन र विज्ञापनमा नाम चलेका शिक्षाविद् र ठूला ठूला प्राध्यापक तथा शिक्षाशास्त्रीको नाम र फोटो झुण्ड्याउँदैमा ती व्यक्तिहरुले कलेजको आँगनमा पाईल हाल्छ भन्ने पनि होईन । तसर्थ अभिभावक तथा विद्यार्थीले कलेज रोज्दा भ्रमपूर्ण विज्ञापनको पछि लाग्नु हुँदैन ।
शहरका कलेज भन्दैमा मात्र पनि राम्रो हुन्छ भन्ने कुनै ग्यारेण्टी हुँदैन । घर नजिकका कलेज पनि राम्रा र पढाईमा गुणस्तर हुन सक्दछन । कम शुल्कमा पढाउने सस्ता कलेजले पनि परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन्छन । कलेज रोज्दा सबै भन्दा महत्वपूर्ण त्यस कलेजले विगतमा हासिल गरेको नतिजा कस्तो छ, त्यसमा ध्यान दिनु पर्दछ । नतिजाले नै कलेजको पढाईको स्तर मापन गर्ने भएकाले अभिभावक तथा विद्यार्थीहरुले त्यसलाई गम्भिर रुपले लिन जरुरी छ ।
नतिजासँगै त्यस कलेजको शैक्षिक सामाग्री र प्रयोगशालाको भौतिक संरचनाका बारेमा बुझ्न आवश्यक छ । कलेजको पुस्तकालय कस्तो छ ? आवश्यक पाठ्यपुस्तक छ छैन ? पुस्तकालय उपयोगी छ छैन ? प्रयोगशाला नाम मात्र को छ की साच्चै प्रयोगशाला जस्तो छ ? यस्ता कुरामा गम्भिर ढंगले ध्यान दिन जरुरी छ । त्यसपछि समान सेवा सुविधा भएका कलेजमा शुल्कको कति भिन्नता छ त्यसमा पनि अभिभावक तथा विद्यार्थीहरुले ध्यान दिनु पर्दछ । अहिले पढाईका अवसर धेरै छन । विद्यार्थीका सपना प्लस टु पछिको पढाई विदेशमा गर्ने रहेको छ । नेपालको राजनैतिक अस्थिरता, सिमित स्रोत र साधनले गर्दा आम युवाको चाहना विदेशिने रहेको छ । पढ्न नसक्ने विदेशमा मजदुरी गर्न जाने र पढ्न सक्ने युरोप, अमेरिका वा अष्ट्रेलिया, जापानमा अध्ययनका लागि जाने र उतै स्थापित हुने चाहना दिन प्रति दिन बढ्दै गएको छ । उच्च शिक्षाका लागि भविष्यमा विदेशमा जाने योजना छ भने अहिले नै योजना अनुसारको विषय छनोट गर्नु पर्दछ ।
त्यस्तै आफ्नो पढाईको स्तर र घरको आर्थिक अवस्थाले गर्दा भविष्यमा वैदेशिक रोजगारमा नै जानु पर्ने बाध्यता छ भने प्राविधिक शिक्षाको पनि थुप्रै अवसर छन । वैदेशिक रोजगारमा नगएपनि ती प्राविधिक विषयले भविष्यमा आत्म निर्भर बनाउन सक्छ । स्वरोजगारको अवसर सृजना गर्न सक्दछ । तसर्थ प्राविधिक विषय पनि एसएलसी पछिको उत्तम गन्तव्य बन्न सक्दछ ।