मित्रराष्ट्र र दातृ सस्थाबाट चार खर्ब बराबरको सहयोगको घोषणा
काठमाडौ आषाढ १०, भूकम्पपछिको पुनर्निर्माणका लागि सहयोग आह्वान गर्ने उद्देश्यले नेपाल सरकारद्दारा आज दाता सम्मेलनको आयोजना गरिएको छ ।
राजधानीको सोल्टी होटलमा शुरु भएको सम्मेलनको प्रधानमन्त्री सुशील कोइरालाले एक विशेष कार्यक्रमकावीच उद्घाटन गर्दै भूकम्पबाट भएको अकल्पनीय क्षतिपछिको पुनःनिर्माण एवम् पुनःस्थापनाको यात्रामा नेपाल लम्किएको बताउँदै त्यसमा सक्दो सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नु भएको थियो
सम्मेलनमा भारत, चीन, जापान, नर्वेलगायत ५५ देशका २ सय ८० जना प्रतिनिधि सहभागी छन् । भारत र चीनसहित सम्मेलनमा सात देशबाट मन्त्रिस्तरीय सहभागी रहेको थियो । भारतकी विदेशमन्त्री सुष्मा स्वराज, चीनका विदेशमन्त्री वाङ यी, नर्वेका विदेशमन्त्री वर्ग ब्रेन्डे, जापानका विदेश राज्यमन्त्री मिनोरु कियुची सहभागी भएका छन् भने त्यस्तैगरि दातृ निकायमा विश्व बैंकका उपाध्यक्ष, एशियाली विकास बैंकका अध्यक्ष, जाइकाका अध्यक्ष, संयुक्त राष्ट्रसंघका उपमहासचिव एवम् डिफिडबाट निर्देशक सम्मेलनमा सहभागी भएका थिए ।
भारतीय विदेश मन्त्री सुष्मा स्वराजले महाविपत्तिमा परेको नेपाललाई कुल रु दुई खर्ब बराबरको सहुलियतपूर्ण ऋण र अनुदान सहायता प्रदान गरिने घोषणा गर्नुभयो भने चिनिया विदेश मन्त्री वाङ यीले रु एक अर्ब वित्तीय सहायता उपलब्ध गराइने जानकारी दिनुभएको थियो ।
त्यस्तै उद्घाटन सत्रमा नर्वेका विदेश मन्त्री बर्ग ब्रेन्डे, श्रीलङ्काका विपद् व्यवस्थापन मन्त्री ए एचएम फौजे, बङ्गलादेशका अर्थमन्त्री अबुल माल अब्दुल, जापानका विदेश राज्यमन्त्री मिनोरु कियुची, संयुक्त राष्ट्रसङ्घका उपमहासचिव ज्ञानचन्द्र आचार्य, एसियाली विकास बैँकका अध्यक्ष ताकिहिको नोकी, युरोपेली सङ्घका विकास आयुक्त नेविन मिमिका, विश्व बैँकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष एलेन डिक्सनलगायतले सम्बोधन गर्दै नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
यसैगरी, उद्घाटन सत्रमा राष्ट्रसङ्घका महासचिव बान की मुन र विश्व बैँकका प्रमुख जिम योङ किमले सम्मेलनको सफलताका लागि दिएको भिडियो सन्देश प्रस्तुत गरिएको थियो । उद्घाटन सत्रपछि विजनेश र टेक्निकल सेसन हुने छन् । विजनेश सेसनमा हुने प्लेनरी सेसनमा दाताबाट सहयोगको घोषणा हुनेछ ।
सम्मेलनको दोस्रो सत्रलाई अर्थमन्त्री डा महतले अध्यक्षता गरिरहनुभएको छ । त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्द पोखरेल विपद्पछिको आवश्यकता मूल्याङ्कन पिडिएनए प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । त्यस्तै एसियाली विकास बैंकको सहअध्यक्षको ‘सार्वजनिक सेवा’सम्बन्धी प्रस्तुति पछि । समापन सम्मेलनको समापन हुँने जानकारी दिइएको छ ।
यसैवीच अर्थमन्त्री डा.रामशरण महत, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले स्वागत मन्तव्य दिनु भएको प्रस्तुत सम्मेलनमा नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा बहुपक्षीय तथा द्विपक्षीय दातृ निकायबाट अहिलेसम्म रु चार खर्ब बराबरको सहयोगको घोषणा भएको जानकारी दिदै अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रमा व्यक्त भएका भावनाले नेपाल र
नेपालीलाई उत्साहित बनाएको बताउनुभएको छ ।