शनिबार, बैशाख ८, २०८१

मन्त्रिपरिषद् बैठक:  डा केसीसङग भएको सम्झौता अनुमोदन

काठमाडौ चैत्र २०,  मन्त्रिपरिषद्को आज बसेको बैठकले सरकारका तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल, मुख्यसचिव लीलामणि पौड्याल र डा गोविन्द केसी तथा नेपाल चिकित्सक सङ्घका अध्यक्ष प्राडा अञ्जनीकुमार झाबीच बिहीबार भएको सम्झौतालाई अनुमोदन गर्दै singhadurbarसम्झौताअनुसार कार्यान्वयनका लागि सरकारका मुख्य सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

त्यसैगरी, उक्त सम्झौताको मर्म अनुरुप पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश हरिबाबु भट्टराईको संयोजकत्वमा चिकित्साशास्त्र सम्बन्धी विस्तारित कार्यक्रम, आशयपत्र, विद्यार्थी भर्ना, सिट थपघट, सम्बन्धन, शुल्कजस्ता विषयमा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिलबाट भएगरेका कामको छानबिन गर्न समिति गठन गरिएको जानकारी सरकार प्रवक्ता डा रिजालले दिनुभएको छ ।

साथै आजको मन्त्रिपरिषद् बैठकले “डडेल्धुरा र ताप्लेजुङ जिल्लाका आगलागीपीडित परिवार र भविष्यमा त्यस्तै प्रकृतिका घटनाबाट प्रभावित हुनेहरूका लागि भवन निर्माण तथा व्यवसाय सञ्चालनका निम्ति क्षतिका आधारमा रु ३० लाखमा नबढ्ने गरी सहुलियतमा ऋण उपलब्ध गराउने निर्णय सहित आगमी वर्षदेखि मङ्सिर ९ गते विसं २०२९ मा उद्योग परिषद् स्थापना भएका स्मरणमा उक्त दिनलाई उद्योग दिवसका रूपमा मनाईने र लुम्बिनी बौद्ध विश्वविद्यालयलाई रूपन्देही पकरी गाविसको चार बिगाहा १४ कट्ठा १५ धुर जग्गा ‘लिज’मा उपलब्ध गराउने निर्णय गरेको छ भने जैन धर्मगुरु श्वेताम्बर तेरापन्थ आचार्य महाश्रवणको स्वागत, सम्मान, सुरक्षा र बिदाइको सम्पूर्ण व्यवस्थाका निम्ति प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयले निर्देशन दिइसकेकाले सोही अनुरूप जिल्ला प्रशासन कार्यालयलाई कार्य गर्न दिने निर्णय पनि बैठकले गरेको जानकारी दिनुभएको छ ।