शुक्रबार, चैत्र १६, २०८०

सिल्करोड बौद्ध धर्मको राजमार्ग

काठमाडौ फागुन १८, प्रसिद्ध सिल्क रोड बुद्ध धर्मको फैलावटका सम्बन्धमा राजमार्ग नै भएको निष्कर्ष बौद्ध अध्येता एवं वरिष्ठ पुरातत्वविद् सुक्रसागर श्रेष्ठको छ । आफ्नो अध्ययनपछि मुदिता–नेपालद्वारा शुक्रवार आयोजित एक प्रवचन कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
चीनबाट सुनभन्दा महंगो मूल्यमा यूरोपतिर आयात हुने रेशमबाट उत्पादित चिनियाँ सामगीहरु पूर्वीय संसारबाट पाश्चात्य संसारमा निर्यात हुने प्रतिष्ठित वस्तुमा पर्दथ्यो । तर समयको क्रममा सो मार्ग ओझेलमा परेपनि सय वर्षअघिदेखि यसका सम्बन्धमा खोजअनुसन्धान कार्य भएको थियो । हाल त्यस मार्गलाई पुनः संचालनमा ल्याउने तयारी कार्यमा चिनियाँ सरकार लागेको पाइन्छ । यस मार्गको विकास ईशाभन्दा अघि हान राजवंशमा सुरु भएको थियो ।

अध्ययन अनुसन्धानका क्रममा यही मार्ग भएर बुद्धधर्मलगायत अन्य धर्महरुले पनि यात्रा गरेको गरेको थियो । यसै क्रममा यस मार्गमा बौद्ध सम्पदाहरुको पनि विकास भएको थियो । नेपाल रेशम मार्गभित्र नपरे पनि सहायक मार्ग रहेको अध्येता श्रेष्ठले बताउनु भयो । यसै सन्दर्भमा युनेस्कोका लागि मुस्ताङलगायतका ठाउँहरुमा पुरातात्विक दृष्टिले अध्ययन गर्नु भएका श्रेष्ठले रेशम मार्गसम्बन्धी अवधारणा विस्मृत रहेको र रेशम मार्ग भनेर उक्त बाटोबाट रेशमको मात्रै व्यापार हुन्थ्यो भनेर भममा पर्न नहुने बताउनु भयो । हालै चिनियाँ राष्ट्रप्रमुखबाट श्रीलंका र मालदिभ्सलाई पनि रेशम मार्गबाट जोडने विचार व्यक्त भएको यहाँ स्मरणीय छ ।
पुरातत्व विभागका पुरातत्वविद प्रकाश दर्नाल, बौद्ध अध्ययन केन्द्रिय विभाग, त्रिविका प्रमुख डा। मिलनरत्न शाक्यलगायत बौद्ध अध्येता एवं यसका विद्यार्थीहरुको सहभागिता रहेको प्रवचन कार्यक्रममा आयोजक मुदिता–नेपालका अध्यक्ष बसन्त महर्जनले संस्थाको संक्षिप्त परिचय दिंदै बौद्ध विषयवस्तुसँग सम्बन्धित क्षेत्रहरुमा संस्थाले अध्ययन अनुसन्धान तथा प्रवचनका कार्यक्रमहरु गर्दै जाने जानकारी दिनु भएको थियो ।