शनिबार, बैशाख ८, २०८१

प्रम कोइराला र एमाओवादीका अध्यक्ष प्रचण्डले गरे सहमतिबाट संविधान जारी हुने उद्घोष

चितवन फागुन १९ , प्रधानमन्त्री सुशील कोइराला र विपक्षी गठबन्धन ३० दलीय मोर्चाको नेतृत्व गरिरहनुभएका एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आज एकै सभामा उभिएर छिट्टै सहमतिबाट संविधान जारी हुने उद्घोष गर्नुभएको छ । पश्चिम चितवनको शिवनगरस्थित नारायणी विद्या मन्दिर उच्च downloadमाविको स्वर्ण महोत्सवको संयुक्त रुपमा उद्घाटन गरेपछि यसै क्षेत्रबाट निर्वाचित प्रधानमन्त्री कोइराला र यसै विद्यालयमा अध्ययन गर्नुभएका अध्यक्ष दाहालले जनचाहनाअनुरुप छिट्टै दलहरुबीच सहमति भई संविधान बन्ने विश्वास दिलाउनुभएको हो ।

प्रधानमन्त्री कोइराला र अध्यक्ष दाहालबीच एउटै मञ्चमा झन्डै आधा घन्टा लामो अनौपचारिक कुराकानीपछि दुवैले छिट्टै सहमति हुने उद्घोष गर्नुभएको हो । उहाँहरुले काठमाडाँै फर्किएपछि वार्ता र संवादबाटै सहमति खोजेर संविधान बनाउने विश्वास पनि दिलाउनुभयो । प्रधानमन्त्री कोइरालाले अध्यक्ष दाहाल र अध्यक्ष दाहालले कोइरालालाई सहमतिको वातावरण निर्माण गर्न एकअर्कासँग आग्रह गर्नुभएको थियो । कार्यक्रममा प्रधानमन्त्री कोइरालाले जनताको चाहनाअनुरुपको संविधान जारी गर्न आन्दोलनरत दलहरुसँग छिट्टै सहमति हुने बताउनुभयो ।

अध्यक्ष दाहालप्रति सङ्केत गर्दै उहाँले सहमतिका लागि धेरै दिन नलाग्ने पनि बताउनुभयो । प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “अब मुलुकलाई विकास चाहिएको छ, त्यसका लागि शान्ति र संविधान जरुरी छ ।” पैतीस लाखभन्दा बढी युवा विदेशमा रहेको भन्दै उहाँले देशमा संविधान बनेसँगै शान्ति र विदेशी लगानी भित्रिने वातावरण बन्ने आशा व्यक्त गर्नुभयो । कृषि, पर्यटन, सडकलगायतमा विदेशी लगानी बढे स्वदेशमै युवाले रोजगारी पाउने र देशको विकास हुने उहाँको भनाइ थियो । सबै जाति, धर्म, समुदाय र भाषा समेटिने गरी संविधान बन्ने आश्वासन दिँदै उहाँले भन्नुभयो, “तपार्इंहरु सबै ढुक्क हुनुहोस् । संविधान बनेसँगै सबैको माग पूरा हुन्छ ।” प्रधानमन्त्री कोइरालाले मञ्चमै रहनुभएका अध्यक्ष दाहालसँग अनुमति मागेर आफूसँगै तीनपटक जय नेपाल भन्न अनुरोध गर्नुभयो । उहाँले थप्नुभयो – काँग्रेस भएर होइन हिमाल, पहाड र तराई सबै नेपालको जय होस् भनेर जय नेपाल भनेको हुँ ।

प्रधानमन्त्री सकारात्मक देखिएकाले छिट्टै सहमति बन्ने अध्यक्ष दाहालको आशा कार्यक्रममा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष दाहालले केही दिनभित्रै दलहरुबीच संविधान निर्माणको विषयमा सहमति हुने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । प्रधानमन्त्री कोइरालासँग मञ्चमा अनौपचारिक छलफल भएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री पनि सकारात्मक देखिएकाले छिट्टै सहमति हुनेमा विश्वस्त रहेको बताउनुभयो ।

राजनीतिक परिस्थिति जटिल रहेको भन्दै अध्यक्ष दाहालले गाँठो फुकाउन सहमतिबाट संविधान निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष दाहालले काठमाडाँै फर्किएलगत्तै सत्ता पक्ष र विपक्षीहरुको बीचमा वार्ताको वातावरण बनाउन यस कार्यक्रमको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री आफूलाई बनाउन यस विद्यालयको भूमिका रहेको भन्दै अध्यक्ष दाहालले विद्यालयको विकासका लागि आफ्नोतर्फबाट सहयोग पु¥याउने वचन दिनुुभयो । सोही विद्यालयमा अध्यक्ष दाहालले कक्षा १० सम्म अध्ययन गर्नुभएको हो ।  everestherald .com बाट