बिहिबार, बैशाख १३, २०८१

दलबीच टुटेको सम्बन्ध जोडियो

काठमाडौ फागुन २३,  भावी संविधानका अन्तर्वस्तुका विषयमा दलका बीचमा ४८ दिनदेखि टुटेको सम्बन्ध आजदेखि औपचारिक रुपमा जोडिएको छ । गत माघ ५ गते मध्यरातमा संविधानका अन्तर्वस्तुमा पुनः छलफल गरी सहमति गर्ने कि प्रक्रियामा लैजाने भन्ने विषयमा सत्तासाझेदार दल र एमाओवादीले प्रतिनिधित्व गरेको ३० दलका बीचमा कुरा नमिल्दा संविधानसभाभित्र तोडफोड भएपछि दलबीचको सम्बन्ध चिस्सिएको थियो ।

सत्तासाझेदार दल नेपाली काँग्रेस, नेकपा ९एमाले०, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले  लगायत केही साना दल प्रक्रियाका लागि अगाडि बढेका थिए भने ३० दल 3-dal1आन्दोलनमा ओर्लिएका थिए । विशेष गरी प्रधानमन्त्री सुशील कोइरालाको विशेष आग्रहमा ३० दलका नेता माघ ५ पछि पहिलो पटक संविधान लेखनका विषयमा औपचारिक वार्तामा आज बस्नुभएको थियो ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सहभागी दलका नेताले बैठकपछि एकै स्वरमा सञ्चारकर्मीलाई भन्नुभयो, “सहमतिमा संविधान लेखन गर्ने विषयमा दलहरुका बीचमा टुटेको सम्बन्ध आजको वार्तादेखि जोडिएको छ, यो सम्बन्ध टुट्दैन ।”

नयाँ संविधानमा व्यवस्था गरिने राज्यको पुनःसंरचना (सीमाङ्कन, नामाङ्कन, सङ्ख्या ) शासकीय स्वरुप तथा न्याय र निर्वाचन प्रणालीका विषयमा दलहरुका आआफ्नै अडानका कारण माघ ८ मा नयाँ संविधान जारी भएन । “विवादित विषयमा सहमतिमा पुग्न आजको बैठकले नयाँ अध्यायको सुरुआत गरेको छ, नयाँ शिराबाट वार्ता, छलफल निरन्तर हुन्छ”, उहाँहरुले भन्नुभयो । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले भन्नुभयो, “वार्ताको वातावरण आंशिक रुपमा बनेकाले वार्तामा बसेका हाँै, अब सहमतिमा संविधान लेखन कार्य अगाडि बढाउन नयाँ शिराबाट वार्ता अगाडि बढ्नेछ ।”

निरन्तर वार्तामा बस्ने सहमति        सो छलफल तीन घन्टा चलेको थियो । जुन विन्दुमा असहमति भई गत माघ ५ को वार्ता भाँडिएको थियो त्यही विन्दुमा छलफलको सुरुआत नभए पनि अब निरन्तर वार्तामा बस्ने सहमति भएको जानकारी काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले दिनुभयो । उहाँले भन्नुभयो, “वार्ता आरम्भ भयो, यो निरन्तर रुपमा अगाडि बढ्छ, विवादित विषयले छिट्टै निकास पाउँछ ।”

एमालेका महासचिव ईश्वर पोखरेलले संविधानका अन्तर्वस्तुमा कसरी सहमति खोज्ने भन्ने कुरा अबका वार्ताले दिशाबोध गर्ने र आजको वार्ताले नयाँ सुरुआत गरेको बताउनुभयो । सञ्चारकर्मीको जिज्ञासामा उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थताका कारण बैठकमा अनुपस्थित हुनुभएको जानकारी दिनुभयो । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान लेखनका विषयमा दलहरुका बीचमा टुटेको सम्बन्धलाई आजको वार्ताले पुनः जोड्ने काम गरेको बताउनुभयो । उहाँले वार्तामा विवादित अन्तर्वस्तुका विषयमा छलफल नभए पनि अन्तर्वस्तुमा वार्ताका लागि प्रारम्भ भयो भन्नुभयो ।

काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले दलहरुका बीचमा संविधान लेखनका विषयमा चिस्सिएको सम्बन्ध पुनः जोडिएको र सहकार्य, सहमति र एकताले संविधान लेखन कार्य पूरा हुने बताउनुभयो । उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठी संविधान लेखन कार्य अगाडि वढ्छ ।”  बैठकमा प्रधानमन्त्री एवं काँगे्रस सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति पौडेल र महामन्त्री सिंह, एमालेका उपाध्यक्ष वामदेव गौतम र महासचिव पोखरेल, एमाओवादीका अध्यक्ष दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदारलगायत नेताको सहभागिता थियो ।  everestherald .com बाट