शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ शिवरात्रिका लागि ट्राफिक प्रहरीको सवारी व्यवस्थापनको मार्गचित्र

काठमाडौँ फागुन ४, महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरू सहजताका लागि विशेष सवारी व्यवस्थापनको मार्गचित्र सार्वजनिक गरेको छ । महाशाखाले आज सार्वजनिक गरेको मार्गचित्र अनुसार महाशिवरात्रिको क्रममा चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, ज्ञानेश्वरबाट रातोपुल हुँदै गौशालातर्फ सवारी प्रवेशलाई निषेध गरिएको भने द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामपोखरीबाट  कुटुवहाल हुँदै मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड हुँदै मित्रपार्कतर्फ तथा तिलगङ्गाबाट गौशालातर्फ जाने सडकमा पनि सवारी प्रवेशमा रोक लगाइएको छ ।

त्यस्तै दर्शनार्थीले सहज रुपमा त्यस क्षेत्रमा प्रवेश पाउन् भनेर सवारी व्यवस्थापनका लागि वरिष्ठ प्रहरी उपरीक्षको नेतृत्वमा महाशाखाले ३०० प्रहरी खटाउनुको अलावा मालबाहक सवारी साधन तीनकुनेबाट सिनामङ्ल, जोरपाटीबाट नारायणटार, नयाँबानेश्वरबाट सिनामङ्गल चल्न रोक लगाइएको छ साथै दर्शनार्थी, तीर्थयात्री र विदेशी पर्यटकवाहक सवारी साधनका लागि तिलगङ्गामा पार्किङको व्यवस्था गरेको छ ।

पासवाला सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई गौशाला प्रहरी प्रभागमा पार्किङको व्यवस्थापन गरिएको छ । पासवाला सवारी साधन, भारतीय दर्शनार्थीका सवारी साधनलाई अमालकोटमा व्यवस्थापन  गरिने जानकारीदिदै स्वदेशी तथा विदेशी दर्शनार्थी तथा तीर्थयात्रीका सवारी साधन र सःशुल्क दर्शन गर्ने दर्शनार्थीका सवारी साधन सिफल चौरमा पार्किङको व्यवस्था मिलाइएको महाशाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै  बौद्ध जोरपाटीतर्फबाट आउने सवारी साधनका लागि पार्किङ व्यवस्थापन गरिन जानकारी दिईएको  छ ।

शिवरात्रिका अवसरमा भारतबाट मात्र १०० को हाराहारीमा ठूला यात्रुवाहक बस भोलि बिहानसम्ममा उपत्यका भित्रिने अनुमान गरिएको छ । सवारी साधन व्यवस्थापनका लागि महाशाखाले आज राति ३ बजेबाट जनशक्ति परिचालन गर्ने बताएको छ ।  पशुपति विकास क्षेत्र कोषले यसपटक क, ख र ग गरी प्याजी, हरियो र निलो पासको व्यवस्था गरको छ । कोषले वितरण गरेको पासका आधारमा महाशाखाले कुन सवारी साधानलाई कहाँसम्म पहुँच दिने भन्ने व्यवस्था मिलाएको छ ।

महाशाखाले सवारी साधनको व्यवस्थापनका लागि ३९ स्थानमा चेकजाँच तथा २० स्थानबाट पशुपति क्षेत्रमा प्रवेश निषेध गरको छ । त्यस्तै ५६ स्थानमा यातायात प्रवेशका लागि छेकबार खडा गर्ने महाशाखाले जनाएको छ ।