शुक्रबार, चैत्र १६, २०८०

गर्भवती महिलामा सङ्क्रमण

सीता अधिकारी /           घटना ६ महिनाअघिको हो । बर्दिया जिल्ला घर भई हाल काठमाडौंमा बस्ने रमा (परिवर्तित नाम) का नवजोडी महिनावारी रोकिएको केही महिनापछि गर्भ रहेको आशङ्कामा परीक्षणका लागि थापाथलीस्थित परोपकार तथा स्त्रीरोग अस्पताल प्रसूतिगृह पुगे । रमाको पिसाब परीक्षण गरेपछि गर्भवती भएको पुष्टि भयो । चिकित्सककै सल्लाहमा रमाले रगत पनि परीक्षण गराइन् । रगतको रिपोर्ट भने अर्को महिनामा गर्भ परीक्षण गर्न आउँदा लिन बोलाइएको थियो । उनीहरू Pregnant-women_03_20140301125417-300x227बोलाएको मितिमा अस्पताल गएर रगतको रिपोर्ट लिए । रिपोर्ट हेर्दा एचआईभी पोजेटिभ लेखिएको थियो । त्यो देख्नेबित्तिकै उनीहरू दुवैजना छाँगोबाट खसेझँै भए र तुरुन्तै ल्याबमा पुगे र सोधे– के हो रिपोर्टमा त एचआईभी पोजेटिभ लेखिएको छ, कसरी यस्तो भयो ? रमाले निकै आक्रोशित हुँदै भनिन्, ‘हामी त्यस्तो होइन, यो रिपोर्ट गलत छ ।’ चिकित्सकले भित्र बोलाएर उनीहरूको सबै कुरा बुझेपछि फेरि दुवैको रगत परीक्षण गरियो र भोलिपल्ट नै त्यो रिपोर्ट दिइयो । अर्कोपटक रगत परीक्षण गर्दा पनि दुवैको रगतमा एचआईभी पोजेटिभ देखियो । कारण थियो थियो– रमाका श्रीमान्को भारतमा वैदेशिक रोजगारी । उनका श्रीमान् चार वर्षसम्म भारतमा रोजगारी गएर फर्किएका हुन् । विवाहअघि नै उनलाई एचआईभी भएको हुनसक्ने ठानिएको छ ।
हामीकहाँ रगत परीक्षण गरेर विवाह गर्ने चलन नभएका कारण रमाले नवदुलहीमै सङ्क्रमित बन्नुप-यो । अहिले रमाको माइती केटाको स्वास्थ्य नबुझी छोरी दिएकोमा पश्चात्तापमा छन्, तर धेरै ढिलो भइसकेको छ । श्रीमानका  कारण एचआईभी सङ्क्रमित रमालाई अहिले आफ्नोभन्दा गर्भको बच्चा कस्तो हुने हो भन्ने चिन्ताले बढी सताउन थालेको छ । गर्भपतन गर्न मिल्ने समय कटिसकेकाले गर्भपतन गर्दा झनै जोखिम छ र उनी गर्न पनि चाहन्नन् । आफ्नो सन्तान सङ्क्रमणमुक्त होस् भन्ने प्रार्थना प्रत्येक दिन गर्छिन् उनी । हाल उनीहरूले चिकित्सकको सल्लाहमा एचआईभी/एड्सविरुद्धको औषधि प्रयोग गर्न सुरु गरेका छन् । राजधानीमै डेरा गरी बस्ने उनीहरूलाई कतै आफूहरूको बारेमा थाहा पाएर घरधनीले घरबाट निकाल्ने त होइन भन्ने त्रासले पनि त्यति नै सताउन थालेको छ ।
रमाजस्ता निर्दोष महिला श्रीमानका  कारणबाट आफूले गर्दै नगरेको दोषको सिकार हुन बाध्य छन् । यसरी सिकार हुनेमा भारतमा वा वैदेशिक रोजगारीका लागि अन्य मुलुक गएका पुरुषका श्रीमतीको सङ्ख्या धेरै छ । नेपालमा प्रत्येक वर्ष झन्डै साढे सात लाख महिला गर्भवती हुने गरेकामा ६ सय ४० जना एचआईभी सङ्क्रमित हुने गरेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्याङ्कले देखाएको छ । केन्द्रले विगत वर्षदेखि गर्भवती महिलाको एचआईभी पोजेटिभ भए वा नभएको विषयमा रगत परीक्षणका लागि देशभरका ९५ अस्पताल र बर्थिङ सेन्टरमा परीक्षण शाखा केन्द्र सञ्चालन गरेको जनाएको छ । ती केन्द्रमा गत आर्थिक वर्षमा एक लाख ४५ हजार गर्भवती महिलाको रगत परीक्षण गरिएकोमा एक सय २५ महिलामा एचआईभी पोजेटिभ भेटिएको र सबैभन्दा बढी उपत्यकामा पाइएको केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यसरी रगत परीक्षणपछि एचआईभी पोजेटिभ भेटिएका महिलाबाट जन्मिएको बच्चामा एचआईभी सङ्क्रमणको जोखिम नहोस् भनेर चिकित्सकले चार महिनादेखि त्यस्ता महिलालाई औषधि प्रयोग गर्ने सल्लाह दिने गरेको केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. शम्मु काफ्लेले जानकारी गराए । उनले भने, ‘गर्भवती अवस्थामा एचआईभी सङ्क्रमित भएका महिलाले जन्मिने बच्चामा सर्न नदिन नियमित औषधि प्रयोग गर्नुपर्छ । अन्यथा त्यस्ता महिलाबाट जन्मिएका बच्चामा ८५ देखि ९० प्रतिशतसम्म एचआईभी सङ्क्रमण हुने खतरा हुन्छ र त्यो बच्चा जन्मिँदै एचआईभी सङ्क्रमित भएर जन्मिन्छ ।’
केन्द्रको तथ्याङ्कअनुसार हाल नेपालमा एचआईभी सङ्क्रमित बालबालिकाको सङ्ख्या तीन हजार तीन सय ८२ रहेको छ । ती बालबालिकामध्ये अधिकांश एचआईभी सङ्क्रमित हुनुको कारण सङ्क्रमित आमा गर्भवती हुँदा औषधि प्रयोग नगरेकाले हो भने केही सानैदेखि कुलतमा लागेकाले त्यसको सङ्क्रमणमा पर्ने गरेका छन्, तर त्यो सङ्ख्या भने न्यून छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सन् २०१५ सम्म गर्भ जाँचका लागि आउने गर्भवती महिलाका लागि प्रत्येक अस्पताल, स्वास्थ्यचौकी वा बर्थिङ सेन्टरमा एचआईभी परीक्षणका लागि शाखा केन्द्र पु¥याउने लक्ष्य सरकारले लिएको छ । डा. काफ्लेका अनुसार एचआईभी/एड्स पोजेटिभ भेटिएपछि काउन्सिलिङका क्रममा अधिकांश सङ्क्रमित महिलाले वैदेशिक रोजगारीमा गएका  श्रीमानका   कारण आफूहरू एचआईभी सङ्क्रमित भएको बताएका छन् । त्यसैले सरकारले केही वर्षदेखि भारतलगायत वैदेशिक रोजगारीमा बढी युवा बिदेसिने गरेका ४५ जिल्लामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत महिलालाई समूहमा सङ्गठित गरेर विदेशबाट फर्किएका श्रीमान्सँग एचआईभी परीक्षणको रिपोर्ट आएपछि मात्रै शारीरिक सम्बन्ध राख्न महिलालाई सचेत गराउने गरिएको छ ।

एचआईभी सङ्क्रमित राष्ट्रिय महिला महासङ्घका महासचिव मीरा कुँवर एचआईभी सङ्क्रमित भएका महिलामध्ये अधिकांश  श्रीमानका  कारण सङ्क्रमित भए पनि त्यो कारण घरपरिवार, आफन्त र समाजले नबुझ्दा सङ्क्रमित महिला दोहोरो–तेहोरो हिंसामा पर्ने बताउँछिन् । सरकारले सबै ठाउँमा गर्भवती महिलाको एचआईभी परीक्षण गर्ने व्यवस्था गर्न नसक्दा त्यस्ता महिलाबाट जन्मिने बच्चा नजन्मिँदै एचआईभी सङ्क्रमणको सिकार बन्ने गरेका छन् ।  श्रीमानकै कारण एचआईभी सङ्क्रमणको सिकार बनी आफूजस्ता दिदीबहिनीको प्रेरणाको स्रोत बनेकी कुँवरले भनिन्, ‘एचआईभी सङ्क्रमितको पक्षमा राज्य संवेदनशील हुन सकेको छैन, त्यसैले पनि यसकारण जोखिममा रहेका जनसङ्ख्यामा भने एचआईभीको सङ्क्रमणदर उच्च रहेको छ । साभार ‘म्याग फिचर सर्भिस