बिहिबार, भदौ २, २०७९

भुल्न नसकिने, खुल्न पनि नसकिने

binod dhalkalविनोद ढकाल/    ‘मलाई एचआईभी/एड्स भएको छ,’ सम्भवतः यसरी सार्वजनिक फोरम, सार्वजनिक ठाउँ र परिवारसँग खुलेर भन्न सक्नेहरूले केही गरेका छन्, नसक्नेहरू बाँच्न पाएका छैनन्, लुकाउनेहरूलाई बचाउन सकिएको छैन । कथा एचआईभी सङ्क्रमितहरूको पीडा र बाध्यतासँग जोडिएको छ । एउटा भयानक समस्या बोकेर बाँच्नेहरू पनि छन्, समस्या बुझेर लुकाउनेहरू र बाध्यतामा बाँच्नेहरू पनि कम छैनन् । अनि, केही अबोधले भ्रुणमै रहँदा उक्त समस्यालाई झेलिरहेका पनि छन् । यो अमूर्त समस्याको मूर्त सारचाहिँ एचआईभी सङ्क्रमणको पीडा भोग्नेहरूकै हो ।

एचआईभी/एड्सविरुद्ध लड्न औषधिको प्रयोग गरिरहेका छन्, काठमाडौंका काफ्ले थरका युवा । उनी औषधोपचार गर्न सक्षम भएका कारण अहिलेसम्म टिकिरहेका छन् । एचआईभी सङ्क्रमण र एड्स नै भएको उनलाई नौ वर्ष पुगिसकेको छ । परिवारका केही सदस्यलाई थाहा छ अनि औषधोपचार गर्ने ठाउँमा अनुमान गर्छन् कि उनी एचआईभी पीडित हुन् भन्ने । ‘यो भुल्न मुस्किल र खुल्न पनि मुस्किल हुने समस्यामा फसेको छु,’ उनले भने, ‘जीवन बाँच्न मुस्किल छ, मर्न पनि सकिँदैन ।’ आफू एचआईभी सङ्क्रमति भएको थाहा पाएका उनले परिवारलाई जानकारी गराए । तर, उनकी श्रीमतीमा नदेखिएपछि उनी ढुक्क भए । श्रीमतीले उनलाई छाडिनन् र उपचारमा सहयोग गरिरहिन् । उनीहरूबाट सन्तान हुन सकेको छैन । ‘थाहा पाएपछि सन्तान उत्पादन गर्ने कुरा पनि भएन,’ राम्रो अध्ययन गरेका उनी थप्छन्, ‘जीवनलाई चलाउने तरिका फरक अपनाएको छु, बाँचेर केही गर्नुपर्छ भनेर परिवारका लागि गरिरहेको छु ।’ अहिले उनी काठमाडौंमा राम्रो व्यापार गरेर बसेका छन् । उनी भारतमा लामो समय व्यापारका क्रममा बसेका थिए । उनी अनुमान गर्छन्, ‘सायद त्यतै बस्दा मलाई सङ्क्रमण भएको थियो ।

चितवनको भरतपुरका एक सरकारी कार्यालयका कर्मचारीको कथा दर्दनाक छ । राजु एचआईभीपीडित थिए । उनलाई पक्षघात पनि भएको थियो । ०६० मा विवाह गरेका मालपोत कार्यालयका राजुलाई एचआईभी भएको त्यतिबेला थाहा भयो, जतिबेला उनी पक्षघातको बिरामी भएर थलिएका थिए । उनलाई उपचार गराएर हेरचाह गर्ने सङ्घर्षशील पत्नी चन्द्रामा पनि एचआईभी देखिएको थियो । चन्द्रा जीवनमा सङ्घर्ष गरिरहेकी छिन् । चितवनकी कोपिला भण्डारीको कथा पनि उस्तै थियो । उनमा पनि एचआईभी/एड्स सरेको त्यतिबेला थाहा पाइन् जतिबेला श्रीमान् एचआईभीपीडित भएको पत्ता लाग्यो । सुनसरीको इटहरीमा पार्वती राई अहिले पनि सङ्घर्ष गरिरहेकी छिन् । एचआईभी सङ्क्रमित भएको पत्ता पाएपछि उनी मर्नु न बाँच्नु भइन् । तर, आफूलाई भएको पीडा अरूलाई नहोस् भन्ने ध्येयले उनी एचआईभी/एड्सविरुद्धको अभियानमा जुटिन् । र, अहिले सुनसरी र मोरङका गाउँगाउँमा उनी एचआईभीविरुद्धको सन्देश बोकेर हिँड्न थालेकी छिन् । ‘कसरी भयो भन्ने कारण खोज्नुभन्दा कसरी बाँच्ने र यसको रोकथाम गर्ने भन्नेतिर मेरो ध्यान जान थालेको छ,’ उनले भनिन्, ‘जानी–जानी पनि हुने यो पीडा अरूलाई नजानेर पनि नहोस् भन्ने अभियानमा लागेकी छु

 चन्द्रा, कोपिला र पार्वतीजस्ताको मात्र पीडा होइन यो । यो पीडा नेपालका झन्डै ७० हजार मानिसको हो । कतिपयले आर्थिक अभावका कारण उपचार गराउन नसक्दा पनि अञ्जानमा यो एचआईभीको सिकार हुनुपरेको छ । तर, कतिपय थाहा पाएर सङ्घर्षको मैदानमा उत्रिएका छन् र यसविरुद्ध अभियान नै थालिरहेका छन् । यद्यपि, मुलुकमा एचआईभी/एड्सका पीडितहरूको सङ्ख्या भने बढ्दै छ, न्यूनीकरणको प्रयत्न भए पनि वृद्धिदर कम भएको छैन ।

२२ वर्षअघि नेपालमा सन् १९८८ मा चारजना यौनकर्मी महिलामा फेलापरेकोे एचआईभी सङ्क्रमण अहिले बढ्दै गएर ७० हजारमा पुगेको छ । नेपालमा वृद्धिदरको विश्लेषण गर्दा कम्तीमा १५ जना मानिस प्रत्येक दिन एचआईभी सङ्क्रमणको सिकार बन्ने गरेका छन् । तीन हजारभन्दा बढीको एचआईभी सङ्क्रमण भई एड्सका कारण मृत्यु भइसकेको छ । एचआईभी/एड्स तथा यौनरोग नियन्त्रण कार्यालयको तथ्याङ्कअनुसार १४ वर्षमुनिका तीन हजार ६ सय बालबालिका, १५ देखि ४९ वर्षसम्मका ५२ हजार र ५० वर्षमाथिका सात हजारभन्दा ज्यादा मानिस एचआईभी सङ्क्रमित भएको पाइएको छ ।

एचआईभी र एड्स तथा यौनरोग नियन्त्रणविज्ञ डा. श्याम मिश्रका अनुसार सन् २००७ देखि हालसम्म रगत परीक्षण गराउनेको सङ्ख्यामा वृद्धि हुँदै जाँदा सङ्क्रमितहरूको सङ्ख्यामा पनि वृद्धि भएको हो । तर, एड्स नै भएकाको सङ्ख्या भने त्यसको तुलनामा कम छ । एचआईभी/एड्स सङ्क्रमतिको सङ्ख्या २३ हजार छ । एचआईभी/एड्स तथा यौनरोग तथ्याङ्क अधिकृत डा. वीरबहादुर रावलका अनुसार एचआईभी/एड्सबाट सङ्क्रमित हुनेमा आधाभन्दा बढी वैदेशिक रोजगारबाट फर्केका व्यक्ति र तिनका श्रीमती हुन्छन् । सङ्क्रमितबाट जन्मिएका केही बालबालिका पनि यसबाट पीडित छन् ।

एचआईभी सङ्क्रमणको उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागूपदार्थको प्रयोगकर्ता, यौनकर्मी, तिनका ग्राहक, पुरुष समलिङ्गी, रोजगारीका लागि भारत तथा तेस्रो मुलुक जाने तथा तिनका दम्पती रहेका छन् । भर्खरै सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार स्वास्थ्य मन्त्रालयअन्तर्गतको कार्यक्रममा एआरटी (एन्टिरेट्रोभाइरल ट्रिटमेन्ट) सेवा उपलब्ध गराइराखेको र यस्ता केन्द्रमा आउनेको सङ्ख्या आठ हजार पाँच सय ४६ नाघिसकेको छ । एचआईभी सङ्क्रमित गर्भवती आमाबाट बच्चामा हुने सङ्क्रमणको जोखिम कम गर्ने सेवा मुलुकका ६२ केन्द्रमा उपलब्ध गराइएको छ । यस्तो सेवा लिने आमाको सङ्ख्या एक सय ६२ भन्दा बढी छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार २०१३ को अन्त्यसम्ममा विश्वभरि ३५ करोड मानिस एचआईभीसँग लडिरहेका छन् । ११ करोड ७० लाखले यसविरुद्धको उपचारमा आफ्नो सक्रियता देखाएका छन् । तर, एचआईभी सङ्क्रमण र एड्सविरुद्धको उपचार गर्नुभन्दा हुन नदिनका लागि मानिस सक्रिय हुनुपर्ने देखिन्छ । खासगरी नेपालको सन्दर्भमा असुरक्षित यौनसम्पर्क, जथाभावी सिरिन्जको प्रयोग, रगत परीक्षणको नियमितताजस्ता कारण एचआईभीका लागि प्रमुख मानिन्छन् । भारत या अन्य मुलुकमा काम गरेर फर्किएका आफ्ना पतिको स्वास्थ्य परीक्षण गराएर मात्रै सम्बन्ध राख्नका लागि महिलालाई सचेत गराउनुपर्ने देखिन्छ । महिलालक्षित जनचेतना गाउँगाउँसम्म पुयउनु आवश्यक छ ।

साभार म्याग फिचर सर्भिस’ 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031