पूर्वराजा ज्ञानेन्द्रबाट २९३ औं पृथ्वी जयन्तीका उपलक्ष्यमा दिएको शुभकामना जस्ताको त्यस्तै
काठमाडौं पौष २७, नेपाल एकीकरणका सूत्रधार पृथ्वीनारायण शाहको २९३औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइयो । वि.सं १७७९ पौष २७ गते गोर्खामा जन्मिका शाहले आफ्नो शासनकालमा ससाना राज्यहरुलाई जोडेर नेपाल एकीकरण गरेका थिए । यही योगदानलाई कदर गर्दै पौष २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२/२०६३ को आन्दोलनपछि बनेको सरकारले त्यसलाई खारेज गरिदिएको थियो ।तर, जनस्तरमा यो दिवस मनाउनेक्रम भने कायमै छ । यस वर्ष पनि जनस्तरबाट भव्यताको साथ यो दिवस मनाइँदैछ । पछिल्ला वर्षहरुमा पौष २७ गतेलाई फेरि राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकारमाथि दबाब बढिरहेको छ । नागरिकस्तरबाट एकता दिवस मनाउन दबाब बढ्दै गएपनि लोकतन्त्रमा विश्वाश गर्ने सरकारले भने जनआकांक्षा सम्बोधन गर्न सकेको छैन ।
यसैवीच २९३ औं पृथ्वी जयन्तीका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले आईतबार शुभकामना मन्तव्य पददै पृथ्वीनारायण शाह वास्तवमै नेपाल राष्ट्रका आधार स्तम्भ तथा राष्ट्र संयोजनका धरोहर भएको बताएका छन । साथै उहाँले आफ्नो सन्देशमा नेपाल सुन्दर, शान्त र समृद्ध बन्नुपर्दछ, नेपाल राष्ट्र सवैको साझा फुलवारी बन्नु पर्ने पनि बताएका छन ।
पूर्वराजा ज्ञानेन्द्रबाट २९३ औं पृथ्वी जयन्तीका उपलक्ष्यमा दिएको शुभकामना जस्ताको त्यस्तै :
आज हामी आधुनिक नेपाल राष्६्रका निर्माता एवं नेपाली एकताका धरोहर श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९३ औं जन्म जयन्ती मनाउदै छौ । दुई सय छयालीस वर्ष पहिले नेपालका सवै जातजाति, वर्ग, धर्म, सम्प्रदाय र क्षेत्रका जनतालाई एउटै मालामा गाँसेर मौसुफबाट सबल नेपाल राष्ट्र निर्माण गरिबक्सेको मात्र हैन, नेपाली नेपाली वीचको एकता मजबुत पारी यो नेपाल राष्ट्रलाई राष्ट्रिय स्वरुप समेत बक्सेको हो ।
त्यसैले नेपाल हाम्रो हो र हामी नेपाली हौ भन्ने गर्व गर्ने हिमाल, पहाड, तराईका तमाम सन्ततीले बडामहाराजधिराजलाई आजको दिनमा सम्झनै पर्दछ । यो राष्ट्रिय पर्व सन्दर्भमा म आज मौसुफ प्रति हार्दिक श्रद्धाभावका साथ नमन, अभिनन्दन तथा समपर्ण गर्दछु । कुनै पनि राष्ट्रको राष्ट्रिय इतिहासमा त्यस राष्ट्रको निर्माण तथा सुसंरक्षणमा योगदान दिने राष्ट्रिय व्यक्तित्वको महत्वपुर्ण हात रहन्छ । थरिथरीको भौगोलिक आकार र सामाजिक प्रकारमा बाँडिएकोे यो नेपाली भुखण्डलाई एकिकृत पारेर सबल सुन्दर राष्ट्रको संरचना गर्ने प्रातः स्मरणीय राष्ट्र निर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाह वास्तवमै नेपाल राष्ट्रका आधार स्तम्भ हुन, राष्ट्र संयोजनका धरोहर हुन ।
त्यसैले आजको दिन पचहत्तर रै जिल्ला, चौधै अंचल र सिंगै राष्ट्रका निम्ति गौरबशाली दिन हो । देशका सवै भुभाग र सवै वर्ग समाजका समग्र समुन्नतीका निम्ति हाम्रो स्वच्छ सहि राष्ट्रिय प्रयास जरुरी हुन्छ । तर त्यो विभाजन, विखण्डन र विघटनका निम्ती नभई राष्ट्रिय भावधारामा संयोजन एवं सुसंगठित समुत्थानका निम्ती साधक बन्नु पर्दछ । नेपाल सुन्दर, शान्त र समृद्ध बन्नुपर्दछ, नेपाल राष्ट्र सवैको साझा फुलवारी बन्नु पर्दछ, हाम्रो श्रोत, साधन र सामर्थको आधारमा दिव्यउपदेश अनुरुप हाम्रो सामाजिक, सांस्कृतिक, आर्थिक एवं सुरक्षा नीति अघि बढनु पर्दछ । यहि नै आजको यो गौरवमय ऐतिहासिक राष्ट्रिय सन्दर्भमा राष्ट्र निर्माता प्रतिको हाम्रो सच्चा श्रद्धा तथा कृतज्ञता हुनेछ भन्ने म ठान्दछु ।
जय नेपाल ।