शुक्रबार, चैत्र १६, २०८०

स्वरोजगारतर्फ तानिदै महिलाहरू

 मनिता चाम्लिङ, धरान  /  सुनसरी महेन्द्रनगर गाविसका महिलाहरू अहिले स्वरोजगारतर्फ आकर्षित हुन थालेका छन् । महेन्द्रनगर गाविसमा क्रियाशिल सबै राजनीतिक दलहरूको साझा महिला सञ्जालले दलीय प्रतिनिधित्वका आधारमा विभिन्न विषयमा तालिम दिन थाले पछि महिलाहरूमा स्वरोजगारतर्फ चाख बढ्न थालेको हो ।  महेन्द्रनगर गाविसको बजेटमध्ये महिलाका लागि छुट्याइएको १० प्रतिशत महिला बजेटबाट सञ्जालले स्वरोजगार तालिम सञ्चालन गर्न थालेपछि स्थानीय महिलाहरूको चाख त्यसतर्फ बढेको सञ्जालकी सचिव नन्दकुमारी राई बताउँछिन् । चालु आर्थिक बर्षमा सञ्जालले महिलाका लागि ब्युटिसियन तालिम शुरु गरेको छ ।

 सौन्दर्य प्रसाधन विधा समय सान्दर्भिक भएका कारण महेन्द्रनगरका महिलाहरू उत्सुकतापूर्वक सहभागी भएको बताउँछिन् । भन्छिन्– ‘बिहे पार्टीमा जान परेमा या बेहुली सिंगार्न परेमा पनि ब्युटिपार्लरकै आवश्यकता पर्ने हुन्छ, त्यही आवश्यकतालाई पूरा गर्न गाउँघरका महिलाहरूलाई यसपटक ब्युटिपार्लरको तालिम प्रदान गरेका हौं।’ विगत बर्षमा ६ महिने ब्युटिसियन तालिम लिएका महेन्द्रनगरका युवा तथा गृहिणी महिलाहरू घरको चुल्हो–चौका सम्हालेर बचत भएको समयमा सौन्दर्य प्रसाधान कार्य गर्न थालेको देखिएपछि नयाँ पुस्तामा यस कार्यको आकर्षण बढेको हो ।

महेन्द्रनगर गाविस शुक्रबारे निवासी ललिता मगर अहिले उक्त ६ महिने तालिममा सहभागी भएकी छिन् । उनी यस तालिम सिकेपछि आफ्नै गाउँमा ब्युटिपार्लर खोल्ने बताउँछिन । ललिता भन्छिन्– ‘अहिले महिलाका लागि जल्दोबल्दो पेशा भन्नु नै ब्युटिपार्लर हो, यो तालिम राम्ररी सिकेमा घरमै बसेर पनि आय–आर्जनको बाटो बन्नेछ ।’ त्यसो त उनी आफुले मात्र सिकेर चुपलागेर बस्दिनन् बरु घरमा त्यतिकै बसी दिन काट्ने महिलाहरूलाई संघ–संस्थाद्वारा प्रदान गरिने यस्ता तालिमहरूमा सहभागी हुँदा श्रीमानको कमाइमा मात्र भर पर्नु नपर्ने सुझाव दिन्छिन् ।

महेन्द्रनगर–७ पुलाहा निवासी सुमित्रा बराल पनि पहिलोपटक सञ्जालमार्फत् तालिम लिइरहेको बताउँछिन् । उनलाई पहिलेदेखि नै ब्युटिपार्लरको तालिम सिकेर गाउँमा पार्लर खोल्ने इच्छा थियो तर त्यो इच्छा महिला सञ्जालले पूरा गरिदिएको उनी बताउँछिन । उनको गाउँदेखि ब्युटिपार्लरको सेवा लिन महेन्द्रनगर–१ स्थित बजार नै पुग्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन् ।

उनी भन्छिन्– ‘हाम्रो गाउँदेखि बजार पुग्न १ घण्टाजति लाग्छ, तसर्थ, यो तालिम सिकेर गाउँमा व्युटिपार्लर खोली महिला दिदीबहिनीहरूलाई सेवा दिनेछु ।’ उनी पनि तालिम नसिकेका महिलाहरूलाई यस्ता तालिममा सहभागी हुन सल्लाह दिन्छिन । त्यसैगरी महेन्द्रनगर–६ तित्रीगाछीकी हिरा भण्डारी र महेन्द्रनगर–१ की पार्वती बस्नेत पनि आफुहरू पढ्दै गरेको भएपनि बचेको समयको सदुपयोग गर्दै यस तालिममा सहभागी भएको बताउँछन् । उनीहरू भन्छन्– ‘यस तालिम सिकेर आफैं पार्लर खोल्दा आय–आर्जनको राम्रो बाटो हुनेछ ।’  महिला सञ्जालको सहयोगमा अहिले महेन्द्रनगर गाविसका विभिन्न वडाका १७ जना महिलाहरू महेन्द्रनगर–१ स्थित सावना ब्युटिपार्लरमा ब्युटिशियन सुमित्रा राईद्वारा ६ महिने तालिम लिइरहेका छन् । ब्युटिसियन राई आफुले काठमाडौं चक्रपथस्थित आईटिसी कम्पनीद्वारा ब्युटिपार्लरको तालिम सिकेको बताउँछिन् । उनी भन्छिन्– “मैले सिकेको तालिमले पार्लर खोले, अहिले मलाई यस पार्लर आय–आर्जनको राम्रो माध्यम बनेको छ । ‘उनी अरु महिलाहरूलाई पनि आयआर्जनको माध्यममा लाग्न प्रेरित गर्छिन् ।’

त्यसो त महिला सञ्जाल महेन्द्रनगरले यसअघि पनि १३ जना महिलाहरूलाई ड्राइभिङको तालिम दिइसकेको कुरा सञ्जालकी सदस्य दिव्यश्वरा प्रसाई बताउँछिन । प्रसाईका अनुसार ती महिलाहरूले यातायात कार्यालयको ट्रायल (परीक्षण) मा पनि एकैपटकमा उतीर्ण गरि चालक अनुमतिपत्र (लाईसेन्स) पाएका थिए । यसरी तालिम लिएका रेनु र बिनिता माझिका दुई जना त ड्राइभिङ काममा नै वैदेशिक रोजगारमा गएका छन् । उनीहरूको कमाई पनि राम्रो रहेको उनका परिवारले बताएका छन् ।  तर अन्य महिलाहरूले भने उक्त ड्राइभिङ तालिमको सदुपयोग गर्न नसकेको प्रसाईको भनाई छ । उनी भन्छिन्– ‘ड्राइभिङमा राम्रो तालिम लिए पनि गाडी धनीहरूले महिलालाई विश्वास नगर्ने हुँदा महिलाले काम पाउन नसकेका हुन् । तर, उनीहरूलाई लगानी गरी दिने हो भने यो पेशाामा पनि महिलाहरू प्रसस्तै आउने थिए।’

यस अघि महिलाका लागि नै आदिवासी जनजाति महेन्द्रनगरले प्रस्ताव लेखन तालिम दिएको थियो । यो तालिमले काम गर्न सजिलो भएको गाविसका खरिदार गंगा लिम्बू बताउछिन् । उनका अनुसार पहिला उनलाई प्रस्ताव लेखन के हो भन्नेबारे केही थाहा थिएन तर यस तालिम पाएपछि भने अब अरुलाई पनि यसबारे जानकारी दिनसक्ने भएको बताउँछिन । उनका अनुसार उनीसँगै सो तालिममा महेन्द्रनगरका विभिन्न वडाका ३० जना महिलाहरू सहभागी रहेका थिए । गाविसहरूमा लैङ्गिक समताका लागि लक्षित बजेट छुट्नि थालेपछि महिलाहरूले विभिन्न तालिम सिकेर आय–आर्जनको राम्रो माध्यम बनाउन थालेका छन् । तर उनी यस्ता तालिमहरूमा महिलाहरूले समेत चासो दिएमा जिविकोपार्जनको लागि सघाउ पुग्ने सुझाव समेत दिन्छिन् ।
:मीरेष्ट नेपाल समायोजन लेखमालाबाट