मङ्लबार, बैशाख ११, २०८१

सम्बन्धमा जेलिएको संविधान

राजनीतिक ब्युरो/  काठमाडौं माघ १५   कहिले अब वार्तामा नबस्ने घोषणा गर्छन् त कहिले रिसोर्टमा सँगै रात कटाउँछन् । कहिले सहमति हुन थाल्यो भन्छन् त कहिले आफैँ भाँडेर हिँड्छन् । वास्तवमा संविधान बनाउन सात वर्षयता भइरहेका प्रयास केही नेताका सम्बन्धको जालोमा अड्किएको छ ।  अरू वेला आत्मीय सम्बन्ध रहे पनि छलफलका क्रममा नेताहरू आ–आफ्नो स्वभावअनुसार प्रस्तुत हुन्छन् । संविधानका मुद्दाले मात्र होइन उनीहरूको व्यक्तिगत सम्बन्धले पनि वार्ता प्रभावित भएका छन् ।

व्यक्तिगत सम्बन्ध र सहकार्यको लामो अभ्यास अभावका कारण पनि पछिल्ला राजनीतिक वार्ता निष्कर्षमा पुग्न नसकेका हुन् । वार्तामा बस्ने शीर्ष नेताहरूका आपसी सम्बन्धले पनि बैठक प्रभावित पार्ने गरेको छ । नेताहरूको एक–अर्काप्रतिको दृष्टिकोणले सहमतिलाई असर परेको भए पनि उनीहरू यसलाई विचारकै लडाइँ भन्न रुचाउँछन् । प्रमुख दलका नेताहरूबीचको सम्बन्धबारे नयाँ पत्रिकाले खोजीनिती गरेको छ । उनीहरूका सम्बन्ध उतारचढावपूर्ण छन् ।  यद्यपि नेताहरू व्यक्तिगत सम्बन्ध र स्वभावले नभएर राजनीतिक मुद्दाकै कारण वार्ता निष्कर्षमा नपुगेको बताउँछन् । ‘वार्ता निष्कर्षमा नपुग्नुमा व्यक्तिगत सम्बन्धको कुनै भूमिका छैन,’ दलीय छलफलमा सहभागी भइरहने एमाले वरिष्ठ नेता झलनाथ खनालले नयाँ पत्रिकासँग भने, ‘यो लडाइँ दृष्टिकोणको लडाइँ हो, व्यक्ति को हुन्छ भन्ने हेरिएको छैन, आएका मुद्दाले देशको हित हुन्छ कि हुँदैन भन्नेमै हाम्रो जोड छ ।’

सुशील–केपी सम्बन्ध

1
प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बन्ध ओली एमाले संसदीय दलको नेता चुनिएपछि मात्रै गाढा भएको हो । त्यसअघि पार्टीभित्रैको ‘प्रतिपक्षी बेन्च’मा रहेका ओलीसँग पार्टीगत रूपमा ‘डिल’ गर्नु नपरेकाले कोइराला र ओलीको व्यक्तिगत सम्बन्ध त्यति ‘नोटेबल’ थिएन । ओली पार्टी अध्यक्ष र संसदीय दलको नेता भएपछि निर्णायक भूमिकामा पुगे । कांग्रेससित सरकारमा सहकार्य गर्न थालेपछि दुई ठूला पार्टीका प्रमुख सुशील र ओलीबीचको सम्बन्ध सुधारिँदै गयो । दुवै पार्टीले आन्तरिक रूपमा र पछिल्लोपटक संविधानका अन्तर्वस्तुमा समेत साझा धारणा बनाए । यसले दुई नेतालाई थप नजिक्यायो ।

ओली एमालेको नेतृत्वमा नआउँदासम्म कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग धेरै निकट थिए । आफू नेतृत्वको सरकार हुँदा गिरिजाप्रसाद त्यतिवेला उपप्रधानमन्त्री रहेका ओलीलाई मन्त्रिपरिषद् बैठकमा आफू एकछिन मात्रै बसेर जिम्मा दिएर हिँड्ने गर्थे ।  अहिलेको सत्ता गठबन्धनको नेता तथा प्रधानमन्त्री सुशील कोइराला भए पनि ओलीको हस्तक्षेपकारी भूमिका देखिएको छ । जसले वेलावेलामा सुशीललाई झस्काउनेसमेत गरेको छ । यस विषयमा कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठकमा समेत कोइरालामाथि प्रश्न उठ्ने गरेको छ ।  तर, संविधानका तत्कालीन राजनीतिक मुद्दा र सरकारको दीर्घायुको बाध्यात्मक कारणले प्रधानमन्त्री तत्काल ओलीसित टाढिने अवस्थामा छैनन् । ओली र सुशील दुवै संविधान जारी गर्नुअघि दुई दलको सम्बन्ध तोडिन नहुनेमा बढी सचेत छन् । एमाले र कांग्रेस अलग भए संविधानसभामा दुईतिहाइ मत कहिल्यै नपुग्ने उनीहरूको बुझाइ छ ।

ओलीको दृष्टिमा सुशील : मुद्दाप्रति दृढ भए पनि उपयुक्त वेला निर्णय लिन नसक्ने
सुशीलको दृष्टिमा ओली : मुद्दाको अगुवाइ गर्छन्, तर आफ्नो मान्यताबाट दायाँबायाँ नगर्ने र नटेर्ने

सुशील–प्रचण्ड सम्बन्ध

4
यी दुई नेताबीच पहिलो भेट शान्तिप्रक्रियापछि भएको हो । व्यक्तिगत रूपमा दुवैको राम्रै सम्बन्ध छ । गिरिजाप्रसाद कोइराला कांग्रेस सभापति हुँदा सुशील ‘सिन’मै थिएनन् । सरकार र तत्कालीन माओवादीबीच वार्ता हुँदा अहिलेका कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला मध्यस्थकर्ता हुन्थे । धेरै कुरामा गिरिजाप्रसाद आफँै सक्रिय हुन्थे । सुशीलले १२ बुँदे समझदारी भइसकेपछि मात्रै थाहा पाएका थिए ।

सुशील र प्रचण्ड दुवै एक–अर्कालाई राष्ट्रवादी नेता ठान्छन् । प्रचण्डले सुशीललाई इमानदार र सादगी नेता मान्छन् । सुशील पनि प्रचण्डलाई ‘सिनियर’ मान्छन् । उनले प्रचण्डलाई ‘सिनियर’ मान्नुको कारण हो– विस्तृत शान्तिसम्झौतामा गिरिजाप्रसाद र प्रचण्डले हस्ताक्षर गर्नु । नाताले दाजु पर्ने सभापति गिरिजाप्रसादको समकक्षीका रूपमा सुशील प्रचण्डलाई आदर गर्छन् ।  तर, पछिल्लो समय यी दुई नेताबीच तिक्तता बढेको छ । प्रचण्डलाई सुशीलले १२ बुँदे समझदारी, विस्तृत शान्तिसम्झौता र गिरिजाप्रसादको ‘स्पिरिट’ नबुझेको लागेको छ । त्यस्तै, सुशीललाई प्रचण्डले पुराना कुरा मात्र उचालिरहेको लागेको छ ।

तर पनि दुवै नेता आपसी संवादलाई भने कहिल्यै रोक्दैनन् । प्रचण्डकहाँ कुनै सन्देश पठाउनुपरे सुशील कृष्णप्रसाद सिटौलालाई पठाउँछन् । सकभर आफँै पनि टेलिफोन गर्छन् । संविधानसभामा गत आइतबार एमाओवादी नेतृत्वको विपक्षी मोर्चाको विरोधका बाबजुद प्रश्नावली समिति गठन भएपछि पनि सोमबार सुशीलले प्रचण्डलाई टेलिफोन गरेका थिए ।

केपी–प्रचण्ड सम्बन्ध

2
कम्युनिस्ट आन्दोलनमा लागेका पुराना नेता भए पनि ओली र प्रचण्डको व्यक्तिगत सम्बन्ध कहिल्यै निकट हुन सकेन । पञ्चायतकालमा लामो जेलजीवन बिताएर ०४७ मा मात्रै जेलमुक्त भएका ओली खुला राजनीतिमा आएपछि प्रचण्ड भूमिगत भए । ओली पार्टीप्रमुख नरहेकाले प्रचण्डलाई पनि ओलीसँग भेट्न त्यति जरुरी भएन । प्रचण्डले युद्धकालमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालसित पटक–पटक वार्ता गरेका थिए ।

ओली एमालेको मुख्य जिम्मेवारीमा नभए पनि तत्कालीन माओवादीले सशस्त्र संघर्षको घोषणा गरेदेखि नै त्यसको कडा आलोचकका रूपमा देखिएका थिए । माओवादीको युद्ध उत्कर्षमा पुगेदेखि अहिलेसम्म पनि ओलीले माओवादीलाई हेर्ने दृष्टिकोण कडा छ । ओली एमालेको अघिल्लो महाधिवेशनमा झलनाथ खनालसँग पार्टी अध्यक्षमा उम्मेदवार रहेका वेला प्रधानमन्त्री रहेका प्रचण्डले खनालका पक्षमा एमालेभित्र लबिङ चलाएको आरोप लागेको थियो ।

ओली र प्रचण्डको पहिलो भेट तत्कालीन सात दल र माओवादीबीच १२ बुँदे सम्झौता हुँदा दिल्लीमा भएको थियो । १२ बुँदे समझदारीको ड्राफ्ट गर्ने वेला ओली पनि त्यसको सदस्य थिए । त्यसयता ओलीले माओवादी शान्तिप्रक्रिया र १२ बुँदे सहमतिप्रति इमानदार नभएको, विचारमा दिशाहीन रूपमा अल्मलिएको र लोकतान्त्रिक प्रणालीलाई रणनीतिक रूपमा उपयोग मात्रै गरेको भन्दै आलोचना गर्ने गरेका छन् । त्यस्तै, सस्तो लोकप्रियताका लागि जस्तासुकै आश्वासन जनतालाई दिएर समाजलाई विभाजित गर्ने र अराजकता निम्त्याउने नेताका रूपमा ओलीले प्रचण्डको विरोध गर्ने गरेका छन् ।

त्यस्तै, प्रचण्ड ओलीलाई परम्परावादी, अनुदार र हठी ठान्छन् । ओली गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता नरुचाउने नेता भएको प्रचण्डको बुझाइ छ ।

ओलीको दृष्टिमा प्रचण्ड : सस्तो लोकप्रियताका लागि जस्तोसुकै सपना बाँड्ने र समाजलाई विभाजित गरी अराजकता निम्त्याउने, विचारमा दिशाहीन, लोकतान्त्रिक प्रणालीलाई रणनीतिक रूपमा मात्रै उपयोग गरेको

प्रचण्डका दृष्टिमा ओली : परम्परागत, परिवर्तनप्रति अनुदार, घमण्डी, अहंकारी, हठी र सामन्ती सोच भएको

माधव नेपाल र प्रचण्डको अनौठो सम्बन्ध

3
एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र एमाओवादी अध्यक्ष प्रचण्डको सम्बन्ध घृणा र प्रेमले भरिएको छ । माओवादी युद्धकालमा एमालेको महासचिवका रूपमा नौपटक वार्ता गरेका नेपाल र प्रचण्डबीच शान्तिप्रक्रियामा खेलेको भूमिकाको वर्चश्वको लडाइँ पनि छ । आफू संकटमा परेका वेला प्रचण्डले शान्तिप्रक्रियामा भूमिका खेलेको भन्दै सम्झने, तर अरूवेला लडाउने र पछार्ने चरित्र भएका नेता ठान्छन् माधव नेपाल प्रचण्डलाई ।

शान्तिप्रक्रिया अघि बढेका वेला गिरिजाप्रसादलाई छुट्टै रिझाएर एमालेलाई कमजोर बनाउने काम प्रचण्डले गरेको र कोइरालाले पनि एमालेलाई साइजमा राख्न प्रचण्डलाई पुल्पुल्याएको माधव नेपालले बताउने गरेका छन् । ‘एमालेलाई साइजमा राख्न गिरिजाबाबुले पुल्पुल्याएका वेलादेखि नै प्रचण्डमा धम्क्याएर आफ्नो स्पेस बनाउने बानी परेको हो,’ नेपालले प्रचण्डबारे भनेका छन् । तर, तिक्तताबीच पनि नेपाल र प्रचण्डको आत्मीयता छ । दुई नेता कहिले सँगै फिल्म हेर्नसमेत जान्छन् । प्रचण्ड आफ्ना निजी समस्यामा समेत नेपालको सल्लाह लिन्छन् ।  त्यस्तै, प्रचण्डले अघिल्लो संविधानसभामा दुई–दुई क्षेत्रबाट चुनाव हारेका माधव नेपाललाई मनोनीत गरेर संविधानसभामा ल्याउन भूमिका खेलेका थिए । उनकै भूमिकाका कारण नेता नेपाल संवैधानिक समितिको सभापतिसमेत भएका थिए ।

5

प्रचण्ड र मधेसी दलका नेता
अहिले गाढा देखिए पनि एमाओवादीका अध्यक्ष प्रचण्ड र अधिकांश मधेसवादी नेताबीचको सम्बन्ध पुरानो होइन । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसित भने प्रचण्डको पुरानै चिनजान हो । तर, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुर र सद्भावना अध्यक्ष राजेन्द्र महतोसित धेरै पछि मात्रै सम्बन्ध बनेको हो।  विगतमा प्रचण्ड र उपेन्द्र एउटै पार्टीमा पनि थिए । उनीहरूबीच तिक्ततापूर्ण सम्बन्ध रह्यो । गौर हत्याकाण्डपछि त एमाओवादीले उपेन्द्रलाई गद्दारसमेत भन्यो । संविधानसभाको पहिलो चुनावपछि प्रचण्डको नेतृत्वमा बनेको सरकारमा मधेसी दलहरू पनि सहभागी बने । यसले सम्बन्धमा सुधार ल्यायो ।

डा. बाबुराम भट्टराई नेतृत्वको सरकार बनेपछि भने प्रचण्ड र मधेसी नेताबीच सम्बन्ध थप गाढा भएको हो । अहिले दुई शक्ति संविधानका विवादित मुद्दामा एकै ठाउँ उभिएका छन् । सत्तारुढ कांग्रेस–एमाले बहुमतको दम्भका साथ अघि बढेको निष्कर्ष निकाल्दै संघीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीलगायतका मुद्दामा उनीहरू एकै ठाउँ उभिएका छन् । नयाँ पत्रिकाबाट