शुक्रबार, चैत्र १६, २०८०

प्रमुख तीन दलको बैठकमा एमाओवादी अनुपस्थित

काठमाडौ पौष ८, प्रमुख तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एमाओवादीको आज बिहान बस्ने भनिएको बैठकमा एनेकपा–माओवादी अनुपस्थित भएपछि बैठक बिना निष्कर्ष टुङ्गिएको छ । बैठक सुरु हुनु केही समयअघि नै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री सुशील 11103कोइरालासँग बैठकमा मधेसी मोर्चालाई पनि समावेश गर्नुपर्ने माग राखी फर्कनुभएको थियो र सोहीअनुसार अपराह्न ४ बजे चारै पक्षबीच बैठक हुने भएको छ ।

काँग्रेस र एमालेका शीर्ष नेताबीच भएको उक्त बैठकमा खासै छलफल नभएको र एमाओवादीको मागबमोजिम मधेसी मोर्चासहित अपराह्न ४ बजे बैठक बस्ने एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारकर्मीलाई जानकारी गराउनुभयो । एमाओवादीका नेताहरू उपस्थित नभएपछि बैठकमा काँग्रेस र एमालेका नेताबीच मात्र एमाओवादी नेतृत्वको मोर्चाले आन्दोलनको घोषणा गरेपछिको अवस्थाका बारेमा छलफल भएको थियो ।

बिहान काँग्रेस र एमालेबीच केहीबेर चलेको उक्त बैठकमा एमाओवादीले मोर्चा गठन गरी आन्दोलन घोषणा गरेर संविधान निर्माणको पक्षमा नभएको हो कि भन्नेबारेमा छलफल भएको काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सञ्चारकर्मीलाई जानकारी गराउनुभयो । सडक र आन्दोलनबाट संविधान बन्ने भए जनताले चुनेर बनाएको संविधानसभाको के काम भन्ने आक्रोश राख्दै उपसभापति पौडेलले भन्नुभयो, “उहाँहरूको नियत बुझ्न नसकेर हामी अलमलमा छौँ । काँग्रेस र एमालेलगायतका दलको संविधान निर्माणसम्बन्धी एकमतको धारणामा दुईतिहाइ मत पुगे पनि सहमति र सबैलाई समेटेर अघि बढ्ने मनसायले उक्त दलहरू सहमतिको प्रयासका लागि प्रयासरत रहेका बेला एमाओवादीले भने आफूलाई पेल्न खोजेको आरोप लगाएपछि दलहरूबीच धु्रवीकरण बढेको हो ।

शनिबार प्रमुख दलबीचको बैठकमा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणका सम्बन्धमा बोलेलगत्तै असहमति राखेर बैठक छोडी हिँडेको एमाओवादीसँग त्यसयता आज बैठक बस्ने भनेकोमा सो हुन सकेन ।  आज अपराह्न बैठक बस्ने भए पनि एमाओवादीको संविधान बनाउनेतिर सकारात्मक सोच नभएकाले बैठकको खासै अर्थ नभएको काँग्रेस र एमालेको बुझाइ छ । बैठकमा काँगे्रसका तर्फबाट प्रधानमन्त्री तथा सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्षहरू वामदेव गौतम र विद्यादेवी भण्डारी उपस्थित हुनुहुन्थ्यो । रासस