बिहिबार, चैत्र १५, २०८०

नेपाल र भारतबीच मङ्गलबारनै वार्ता र सम्झौता हुँने

विष्णु नेपाल र प्रकाश सिलवाल/ काठमाडौ मङसिर ८ नेपाल र भारतबीच दुई पक्षीय वार्ता र सम्झौतासम्बन्धी काम मङ्गलबार नै सम्पन्न हुने भएको छ । मङसिर १० र ११ गते यहाँ आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको १८ औंँ शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौ आउनुभएपछि सिंहदरबारमा दुई देशका बीचमा आपसी वार्ता र सम्झौतासम्बन्धी कार्यक्रम तय गरिएको छ ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले दिएको जानकारीअनुसार प्रधानमन्त्री सुशील कोइरालाले भारतीय समकक्षी मोदीसँग सिंहदरबारमा मङ्गलबार नै द्विपक्षीय वार्ता गर्ने र आपसी सम्झौता तथा सहयोग आदानप्रदान हुने तय गरिएको छ । दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नौ सय मेगावाट क्षमताको बहुप्रतीक्षित र बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको लगानीकर्ता भारतीय कम्पनी सतजल विद्युत् निगमसँग लगानी बोर्डबीच परियोजना विकास सम्झौता हुन लागेको हो ।

लगानी बोर्डले यही मङ्सिर ५ गते सो सम्झौतालाई स्वीकृत गरेको थियो । प्रधानमन्त्री मोदी सार्कका अन्य मुलुका राष्ट्र प्रमुख÷सरकार प्रमुख झैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेपछि उहाँ रहने होटल सोल्टीमा केही समय विश्राम गरी सिंहदरबार आउनुहुनेछ । मङ्गलबार नै मोदीको उपस्थितिमा काठमाडौंँ–नयाँ दिल्ली जोड्ने बसको शुभारम्भ गरिने तथा सशस्त्र प्रहरी बलको भवन निर्माणसम्बन्धी सहयोग तथा नेपाली सेनालाई हेलिकोप्टर हस्तान्तरण गरिने कार्यक्रम छ ।

यस्तै दुवै देशका प्रधानमन्त्रीले ट्रमा सेन्टरको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ । मोदी प्रधानमन्त्री भएपछि गत साउन १८ गते पहिलो पटक नेपालको औपचारिक भ्रमण गरी दुई देशको सम्बन्धलाई नयाँ उचाइमा लाने उद्घोष गर्नुभएको थियो । मोदी, अन्य मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुख र नेपालका अन्य राजनीतिक दलका शीर्ष नेतासँग अलग अलग भेटघाटको कार्यक्रम नरहे पनि विभिन्न भोजका क्रममा भेट हुने बताइएको छ ।RSS