बिहिबार, बैशाख १३, २०८१

जातिवाद र हिन्दुवादको हुदहुद हुण्डरी

“यिनीहरुको अनुहार नै मगध साम्राज्यका महानन्दजस्ता क्रुर लाग्छन्, चन्द्रगुप्त मौर्यजस्ता राजनेता बन्नलायक गुण कसैमा देखिदैन। हाम्रा नेता जनयुद्ध र जनआन्दोलनजस्ता राजनीतिक यज्ञबाट खारिएर उत्रेका हुन् तर सतहमा जे देखियो त्यो यथार्थ होइन रहेछ। अदृश्य विदेशी ताकतको तोक्मा टेकेर र विदेशीकै भिटामिन खाएर यिनीहरु विजयश्री भएका रहेछन्”

66235-

-राजन कार्की  सडकमा चिया बेच्ने नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बनेका छन्। शारीरिक अपांगताका कारण खुट्टाले लेखेर झमक घिमिरे लेखिका बनिन्। भन्नुको अर्थ मोदीसँग इमान्दारिता र अवधारणा थियो, उनी विश्वनेताको स्तरमा उक्लिन सफल भए। झमक घिमिरेमा आत्मबल र सोच थियो, जसले उनलाई मदन पुरस्कारबाट पुरस्कृत गरायो। छिमेकका मोदीजस्ता अथवा आफ्नै मुलुककी झमकजस्ती कोही छन् राजनीतिमा? २० वर्ष भयो बिध्वंशको धुवाँमा धुमिल भएको। बन्दुक थामियो, बारुद पड्को छैन तर शान्ति र स्थिरता अझै बन्धकमै छन्। बधुवा अमलेख भइसक्यो, बन्धकमा परेको हामी नेपालीको आकांक्षा अमलेख हुने कहिलेरु यो प्रश्नको जवाफ संविधानसभाले दिनुपर्ने हो, सभामुख सुवास नेम्वाङ चिप्ला भाषण गरेर रासन पचाइरहेका छन्, साइत गुजारीरहेछन्।

अव त संविधान लेखिएला र लोकतन्त्रको गोरेटो बन्ला भनेर दोस्रो संविधानसभाको निर्वाचन भयो। राजनीतिज्ञ फेल भएर न्यायाधीशलाई सरकार प्रमुख बनाएर गरिएको निर्वाचनबाट पनि न्यायप्रेमी जन्मेनछ। जो जितेर आएका छन्, उही कानै चिरिएका र पुरानै ड्याङका मूलामात्र। तिनले समानुपातिकमा नाता र नगदनारायण हेरेर मनोनयन गरिएकाहरुको अनुहार झन कुरुप देखिन्छन्। आफ्नो मामाको त त्यो गति, कान्छामामाको कुन गतिरु यिनीहरुमा मोदीको झिल्का र झमकको झल्का केही पनि छैन। हाम्रा ठूला नेता हुन्स् प्रचण्ड, सुशील कोइराला, केपी ओली र तिनका बटालियनहरु। यिनीहरुको अनुहार नै मगध साम्राज्यका महानन्दजस्ता क्रुर लाग्छन्, चन्द्रगुप्त मौर्यजस्ता राजनेता बन्नलायक गुण कसैमा देखिदैन। हाम्रा नेता जनयुद्ध र जनआन्दोलनजस्ता राजनीतिक यज्ञबाट खारिएर उत्रेका हुन् तर सतहमा जे देखियो त्यो यथार्थ होइन रहेछ। अदृश्य विदेशी ताकतको तोक्मा टेकेर र विदेशीकै भिटामिन खाएर यिनीहरु विजयश्री भएका रहेछन्। स्वस्थानी कथामा नवराजलाई विष्णु भगवानरुपी हात्तीले बरण गरेर लावण्य देशको राजा बनाएझैं विदेशी शक्तिले यिनलाई लोकतान्त्रिक नेपालको मौजा बकस दिएका रहेछन्।

०६३ साल वैशाख ११ गतेदेखि बकसमा पाएको यही मौजामा यिनीहरु मोज गरिरहेका छन्। यिनमा नीति शिक्षा, राजनीतिक शिक्षा, सैन्यशिक्षा, ब्यूह शिक्षा, देशभक्तिको ज्ञान र संवेदनशीलता केही पनि छैन। यिनीहरु सूर्यमुखी फुलजस्तै छन् र सत्ताका वरिपरि लुटपुटिइरहेका छन्। संवैधानिक तथा राजनीतिक संवाद तथा सहमति समितिका संयोजक डा।बाबुराम भट्टराईले जानी नजानी चुरो कुरो खुस्काइदिए– सत्ताको भागबण्डाले संविधान निर्माणमा बाधा पारेको छ। अर्थात् ठूला तीन दल सत्ताको नेतृत्व परिवर्तन गर्ने नयाँ खेलमा लागिसकेका छन् र संविधान यी तीन दलको बन्धकमा परेको छ। माघ ८ मा संविधान आउँछ भनेर जनतालाई आशा देखाएर सत्ता समीकरणमा लाग्नु भनेको ठूला तीन दलको अकर्मण्यता हो। ल्हासा जाने कुतीको बाटो, योभन्दा ठूलो राजनीतिक अपराध त केही हुनै सक्दैन। यसकारण संविधानप्रति ठूला दलहरु आत्मादेखि प्रतिवद्ध छैनन्। सहमति अथवा प्रक्रियाका जतिसुकै झ्याली पिटे पनि त्यो जनतालाई देखाउने र भुलाउने रत्नपार्कमा चटकेले देखाउने चटकमात्र हो। भित्रभित्रै ठूला दलहरु सत्ता समीकरण मिलाउनतिर पो लागेका रहेछ्न्।

पञ्चायत हुन्न भनेर फालेर हालेको नयाँ लुगा थियो बहुदल, त्यसलाई जनयुद्धले च्यातचुत पारिदियो। त्यसपछि देशलाई सुहाउने, जनताले खोजेको नयाँ राजनीतिक पोसाक लोकतन्त्र हो भनियो। यसमा संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली यति ठूलो समस्याका रुपमा खडा गरियो कि संविधानसभा ठूला दलहरुका लागि निल्नु न ओकल्नुको गाँस हुन पुगेको छ। जातजाति उचालेर र राजनीतिक स्वार्थ पूरा गर्न स्वादले जिब्रो फड्कारेर राजा र हिन्दूधर्म फालियो, अग्रगामी भइयो, संघीयतामा गइयो भन्नेहरुका लागि यिनै मुद्दाहरु व्यवस्थित गर्न बाबुको बिहे देखिन थालेको छ। भनिन्छ, सर्पको विष झार्न नजान्नेले सर्पलाई नचलाउनु। समस्या पहाड बनेर टाउकामा बज्रिएपछि हाम्रा नेताहरु काँचोवायु बर्बराएजस्तो बरबराउन थालेका छन्। तँ कुटेजस्तो गर, म रोएजस्तो गर्छु भन्ने उखानझैं ठूला दलहरु समस्यालाई अझ बल्झाउन सत्ता समीकरणको नयाँ रटना र घटना जन्माउन लागिपरेका छन्।
एकदशक लामो जनयुद्ध गर्ने माओवादीले देखायो– मार्न सजिलो छ, बचाउन गाह्रो। बिगार्न सहज छ, निर्माण गर्न मुस्किल। १७ हजार मारिए, तिनका आफन्तजन आज पनि मुटु गाँठो पारेर ज्यूँदै मरिरहेका छन्। गोरखा फुजेलका नन्दप्रसाद छोराका हत्यारालाई कारवाही गर भनेर अनसन बस्दाबस्दै ज्यान गुमाउन पुगे, उनकी धर्मपत्नी गंगामाया आजसम्म वीर अस्पतालमा न्यायका लागि पलपल मरिरहेकी छिन्। वखलढुंगामा मारिएका उज्जनकुमार श्रेष्ठकी दिदी आज पनि न्यायका लागि संघर्ष गरिरहेकी छिन्। यस्ता अनगिन्ती उदाहरणहरु छन्, न्यायका लागि अर्जुनदृष्टि कहीँ छैन। त्यो जनयुद्धको मृत्य र मृत्युको भय, यो न्याय खोज्ने ज्यूँदो मृत्यु न सरकारलाई दुखेको छ, न संसदलाई। न मानवाधिकार आयोग केही गर्नसक्छ, न अदालतरु नागरिक समाज र अधिकारकर्मीहरु त मलामी हुन्, छिनछिनमा न्याय मरिरहेको छ र उनीहरु दिनदिनै मलाम गइरहेका छन्। शायद यो हत्याराले हाँकेको मलामीको देश हो। हत्यारालाई कारवाही गराएर बिधि बसाल्न कोही खडा हुन सक्दैनन्, मलाम जान जो जुनसुकै बेला तैयार छन्।

समस्या जातीय संघीयतामा छ, धर्मनिरपेक्षतामा छ र पद्धति र प्रणालीमा छ। यी समस्याहरु ठूला तीन दल मिल्दैमा फैसला हुने समस्या हुँदै होइनन्। हिम्मत भए कडा प्रश्नको सहज जवाफ, जनमत संग्रहबाट निर्णय गराउन सक्नुपर्छ। जनमत संग्रह गर्दा ८१ प्रतिशत हिन्दूहरुले ठाडै निर्णय उल्ट्याइदिने निश्चित छ। त्यसैले प्राप्त परिवर्तन गुम्न लाग्यो भनेर प्रचण्डले संसद बाहिर उभिएको बैद्यलाई गुहारेका छन्, २२ दलको मोर्चालाई शेषनाग झैं उठाएका छन्, ५ माओवादीको मोर्चालाई घचघच्याउन थालेका छन्। दुई तिहाई जनमत भएको कांग्रेस एमाले लुते भएर लुत्रुक्क परेको छ। कमजोर प्रचण्डले अस्ती १८ गते मंगलवार लिम्बुवान पुगेर गर्जिए– अव २२ दलले शासन गर्छ, संविधान लेख्छ।

सत्तालाई पञ्चदेवलको हण्डी सम्झेकाहरुले जतिसुकै भागबण्डाको सन्तोष असन्तोष प्रकट गरे पनि हिन्दूत्वको आँधी हुदहुद बनेर उठ्न उठ्न लागिसकेको छ। कांग्रेसभित्रको मजबुत संगठनलाई लिएर आजै खुमबहादुर खड्काले संविधानमै सनातन हिन्दूराष्ट्र घोषणा गराउन प्रज्ञा प्रतिष्ठानमा ठूलो भेला डाकेका छन्। १६ गते कोटेश्वरम धर्मगुरुहरु भेला भएर हिन्दुत्व बचाउनका लागि आत्मदाह गर्न तैयार भएको हुंकार गरिसकेका छन्। राप्रपा नेपालले मंसिर ७ गतेसम्म हिन्दूराष्ट्रको पक्षमा देशभरि हस्ताक्षर संकलन चलाइरहेको छ र हिन्दूजागरण अभियान छेड्ने निर्णय गरेको छ। हिन्दूत्ववादीहरुको छरिएर रहेका व्यक्ति र शक्तिहरु एकीकृत हुन थालेका छन् र यो यी सबै मिल्दा हिन्दूत्वको हुदहुद आँधी हुण्डरी बन्ने निश्चित छ।

परिवर्तनपछिका दिनमा अथवा पहिलो संविधानसभा असफल भएर दोस्रो संविधानसभाको निर्वाचनपछिका दिनमा राजनीतिलाई प्राकृतिक रुपमा बग्न दिएका भए बिबाद यसरी जटिल र दुरुह बन्ने थिएन। वातावरण धमिल्याउने काम ठूला राजनीतिक नेताहरुले नै गरेका हुन्। उनीहरुको भागबण्डा र सिण्डिकेटले, कसैलाई काखा र कसैलाई पाखा गर्ने नीतिले, निषेध र विभेदपूर्ण चरित्रले तिनका झोलेलाई बाहेक कसैलाई सन्तुष्ट पार्न सकेन। ठूला नेताका गलत क्रियाकलापका कारण आज राज्यका कुनै निकाय सुशासनयुक्त छैनन्। यहाँसम्म कि नैतिक र विवेकशील नागरिक उत्पादन गर्ने विश्वविद्यालयहरु भ्रष्टाचारमय बनेका छन्। देशका भविष्य युवाहरु निरन्तर विदेश पलायन भइरहेका छन्। मुलुकको हाडछालामात्र बाँकी छ, राजनीतिले देखाउन लायक के लायक के छ ररु
मुस्ताङको खच्चर चराउने गोठालोजस्तो भएर देश चल्दैन। गोवर भरिएको खप्परले लोकतन्त्र चलाउन सकिदैन। माओको देश चीनमा उदारवाद आइसक्यो, समाजवादी भारतमा ऐतिहासिक परिवर्तन भइसक्यो, हाम्रा नेताहरु जनतालाई भेडाबाख्रा चराएझैं चराउन खोज्दैछन्। हवल्दारी चल्ने दिन समाप्त भइसकेको हेक्का नराख्दा हाम्रा ठूला नेताहरु जनताको नजरमा घृणाका पात्र बनिसकेका छन्। सत्य बुझ्नेका लागि राजनीतिक नेतृत्व तावाबाट उफ्रेको माछा आगोमा परेजस्तो हुनुपर्ने हो। अझै यिनलाई चेत खुलेको छैन। जनताको राजनीति गर्नेले जनतालाई नै शासन गर्ने हुन्। जनताका नाममा अर्काका लागि राजनीति गर्नेहरु बकस र ज्याला खाने भरियामात्र हुनसक्छन्। हो, यही भिन्नता नबुझ्दा हाम्रा एकजना नेता पनि राजनेता बन्न सकेनन्। सबै डन पाल्छन्, माफियासँग साँठगाँठ गर्छन्, विदेशीसँग अँध्यारो कोठामा गुप्तगु गरिरहेका देखिन्छन्। जनताको अपेक्षासँग यिनलाई कुनै सरोकार नै देखिन्न। ढाँट्छन्, पेटभरि ढाँट्छन् र भन्छन्– सहमतिको निकट पुगिसकियो। ०६५ सालदेखिको यही सुगा रटान ०७१ सालसम्म पनि जारी छ। यिनले हिमालदेखि पहाडहुँदै तराईसम्मको ५४ हजार बर्गमाइलको मुलुकमा डाँफेले बेग हानेजसरी बेग हान्ने कहिलेरु हाम्रा नेताहरु दयाका पात्र छन्, यिनीहरुमाथि दयामात्र गर्न सकिन्छ। भन्न सकिन्न, यिनकै कारण उठ्न थालेको हिन्दूत्वको हुदहुद आँधीले बोकेर ल्याएको जबरजस्त हुण्डरीले कस्तो तहल्का मच्चाउने होरु खोजेको शान्ति, संविधान र प्रगति, आउन लाग्यो बित्यास, अतास र बितण्डा।
अन्तमा, पिटर डब्लु बोडीको सुझाव

संवैधानिक र राजनीतिक संवाद तथा सहमतिमा किचलो भएपछि आक्रोसित प्रचण्ड नेतृत्वको २२ दल लिम्बुवान क्षेत्रतिर लाग्यो महामहिम अमेरिकी राजदूत पिटर डब्लु बोडेले कात्तिक १७ गते एक लेख मार्फत ुम सबै राजनीतिक दलका नेताहरुलाई मतभिन्नता वा आफ्ना व्यक्तिगत महत्वकाङ्क्षाभन्दा माथि उठेर सबै नेपाली जनताको हितमा काम गर्न आग्रह गर्छुु आफ्नो कर्तव्यको निर्वाह गर्दै डा।मार्टिन लुथर किङको भनाई ुजबसम्म मानिस आफ्नो व्यक्तिगत स्वार्थको संकीर्ण दायराभन्दा माथि उठेर समग्र मानवताको बृहत् हितसम्म पुग्दैन, तबसम्म उसको जीवन सार्थक ठहर्दैनु भन्ने भनाइ स्मरण गराए। संघीयताका आवरणमा राष्ट्रपति, प्रधानमन्त्री, मुख्य मन्त्री, मन्त्रीजस्ता स्वार्थमा चुर्लुम्मै डुबेका हाम्रा होनहार ? नेताहरु ���च्चिएलान्, सुध्रिएलान् र हिन्दूवाद र जातिवादको हुदहुद हुण्डरी रोकिएला ?

प्रतिक्रियाको लागि
rajan2012karki@yahoo.com