शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट नेपाल धार्मिक महाअभियानको घोषणापत्र

काठमाडौं कात्तिक २४, गत कात्तिक २० गते राजधानीको प्रज्ञाभवनमा एक विशेष कार्यक्रमकावीच धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट नेपाल स्थापनाका लागि भन्दै नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको नेतृत्वमा आयोजित धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट नेपाल Pra_0123धार्मिक महाअभियान घोषणासभाले हिन्दू राष्टनै विश्वको एक मात्र नेपालको पहिचान भएको भन्दै नेपालको परम्परागत सनातन हिन्दू एवम् बौद्ध जैन, किरात, शिख, प्रकृतिलगायत धर्म तथा विविध जनजातिका परम्परागत स्थानीय मौलिक धर्मसंस्कृतिले नै नेपालका हिमाल, पहाड र तराईका जनतालाई एक सूत्रमा बाँधेर राष्ट र राष्ट्रियता बलियो बनाएको निष्कर्षको पहिचानगरिएको थियो ।

थुप्रै काँग्रेसका नेता तथा कार्यकताको उपस्थिती रहेको उक्त कार्यक्रममा काँग्रेस महासमिति सदस्य समेत रहेका युवा नेता लोकेश ढकालले तयार पारेको धार्मिक महाअभियानको घोषणापत्रका सम्बन्धमा हाम्रा थुप्रै पाठकहरुले जिज्ञासा राखेका कारण उक्त सभाहलमा प्रस्तुत घोषणापत्र जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ ।

नेपाली काँग्रेस
सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान
केन्दीय समन्यय समिति
२०७१, काठमाडौं ।

महाअभियानको घोषणा

हिमालय पर्वत श्रृंखला, मनोरम पहाड र सुन्दर तराईको भू–भागमा प्राकृतिक सौन्दर्य, भौगोलिक, जातीय, भाषिक एवम् साँस्कृतिक विविधताको अपार सम्पदा भएको हाम्रो देश नेपाललाई प्राचीनकाल देखि नै ऋषि–महर्षिहरूको पवित्र तपोभूमि रहेको पौराणिक एवम् शास्त्रीय आधार र तदनुकुल बनेका मौलिक परंपरागत स्थानीय धर्म संस्कृति, रीति–स्थिति, ऐतिहासिक धरोहर र सम्पदाहरू एवम् विश्वशान्तिका अग्रदूत भगवान गौतम बुद्ध नेपाल भूमिमा जन्मिए प्रति गौरवको अनुभूति गर्दै, नेपाल राष्ट्रको निर्माता पृथ्बीनारायण शाहको योगदान एवम् ‘असली हिन्दूहरूको वासस्थान नेपाल हो’ भन्ने उहाँको उक्तिको सम्मान गर्दै,

जननेता वी.पी. कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका विषयमा दिनु भएको मार्मिक विचार र सिद्धान्तलाई आत्मसात गर्दै, मुलुकको राष्ट्रियता र प्रजातन्त्रका लागि आजीवन गर्नु भएको संघर्ष, वलिदान, समर्पणले भरिएको ऐतिहासिक एवम् गौरवपूर्ण जीवनगाथाको स्मरण एवम् सम्मान गर्दै,

नेपालको परम्परागत सनातन हिन्दू एवम् बौद्ध, जैन, किराँत, शिख, प्रकृति लगायत धर्म र हाम्रो विविध जाति, जनजातिका परम्परागत स्थानीय मौलिक धर्म–संस्कृतिले नै नेपालको हिमाल, पहाड र तराईका जनतालाई एक सूत्रमा बाँधेर राष्ट्रियतालाई बलियो बनाएको तथ्यलाई स्वीकार गर्दै,

विविध प्राकृतिक, भौगोलिक, आध्यात्मिक एवम् साँस्कृतिक सम्पदाले धनी नेपालमा जाति, भाषा र भौगोलिक विविधताका बीचमा शताब्दीऔं देखि नेपाली जनता एक–आपसमा मिलेर बसेको अवस्थामा जनभावना विपरित हचुवाका भरमा धर्म निरपेक्ष राष्ट्र घोषणा गरे पछि परंपरागत नेपाली धर्म र संस्कृति माथि बलजफ्त रूपमा अतिक्रमण गरिएको, प्रलोभनमा पारेर धर्म परिवर्तन गरी धार्मिक एवम सामाजिक सद्भावलाई विथोलेर द्वन्द्व सिर्जना गरी देशलाई विखण्डनको बाटोमा उन्मूख गरिएप्रति गंभीर चिन्ता लिंदै,

विश्वमा दर्जनौंको संख्यामा राष्ट्रहरू क्रिश्चियन र इस्लामिक धर्मलाई राज्य धर्म मानेर बसेको अवस्थामा, विश्वको एकमात्र हिन्दू राष्ट्र, सिंगो नेपाली जनताको पहिचान र गौरवको विषय रहेको थियो । यो विश्वको हिन्दूहरूको आस्थाको केन्द्र भएको कारणले देशको सामाजिक एवम आर्थिक विकासमा टेवा पुग्ने धार्मिक पर्यटनको प्रचुर संभावना र हिन्दू र बौद्ध दर्शन, कला, संस्कृति, मठ–मन्दिर, गुम्बा स्तूपा आदिको तीर्थाटन, अध्ययन, अवलोकन र अनुसन्धानमा आउने यात्री एवम् विद्वानहरूको नेपाल प्रति बढेको चासोलाई सम्झदैं,

२०६८ सालको जनगणना अनुसार कूल जनसंख्या मध्ये ॐकार परिवार भित्रका ८१.३ प्रतिशत हिन्दूहरूको अगाध आस्था, ९ प्रतिशत बौद्धमार्गी एवम् ३.९ प्रतिशत किराँत, प्रकृति, जैन, शिख आदि धर्मका अनुयायीहरूबाट सनातनकाल देखि विकसित एवम् विस्तारित भएको सभ्यता र संस्कृतिमा आधारित उच्चतम मूल्य र मान्यताले निर्माण भएको राष्ट्रिय एकता, विविधता बीचको सहिष्णुता, आपसी सद्भाव र सहअस्तित्वको जगमा घृणा र द्वेष रहीत शान्तिपूर्ण जीवन पद्धति प्रति गौरव गर्दै, कूल जनसंख्याको ४.४ प्रतिशत मुस्लिम धर्मावलम्बीहरूले परापूर्व काल देखि नै निरन्तर रूपमा हिन्दूराष्ट्र प्रति राख्दै आएको अनुपम सद्भावलाई उच्च सम्मान गर्दै, नेपाल हिन्दूराज्य रहँदा नेपालमा रहेका इस्लाम, क्रिश्चियन लगायत अल्प संख्यक समुदायको धार्मिक स्वतन्त्रताको प्रत्याभूति भएको, सबै धार्मिक समुदायका बीच आपसी प्रेम, सामाजिक सद्भाव एवम भाइचारा रहँदै आएको यथार्थलाई स्मरण गर्दै,

२०६२/०६३ को अनआन्दोलनको परिणाम पुनःस्थापित संसद्ले नेपाल देशको भूराजनीतिक यथार्थ, राष्ट्रियता र यसको संवेदनशीलता, हाम्रा परंपरागत धार्मिक, सामाजिक एवम सांस्कृतिक मूल्य, मान्यता र आम जनताको विचार र भावनाको पर्वाह नगरी परम्परागत रूपमा चलिआएको सामाजिक सद्भावलाई खलल् पुग्ने गरी धर्म निरपेक्ष राष्ट्र घोषणा गरे पछि नेपालको परंपरागत धर्म र संस्कृति माथि नियोजित रूपमा आक्रमण गरी सामाजिक सद्भावलाई विथोलेर राष्ट्रियतालाई नै कमजोर बनाउन गरेको षड्यन्त्रहरू उपर गंभीर बन्दै, हामी नेपाली काँग्रेसको विभिन्न तह र ओहदामा रहेका क्रियाशील कार्यकर्ताहरूले निम्न लिखित तथ्य र आधारमा नेपाललाई हिन्दू राष्ट्र बनाउने महाअभियान शुरू गरेका छौं ।

१) नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउने सन्दर्भमा हालसम्म नेपाली काँग्रेसको केन्द्रीय समिति, महासमिति वा महाधिवेशन लगायत कुनै निकाय वा तहमा छलफल वा निर्णय गरिएको छैन ।
२) २०६२ साल मंसीर ७ गतेको १२ बुँदे सहमति र ०६२/०६३ को १९ दिने आन्दोलनको समयमा समेत हिन्दू राष्ट्र विरूद्ध कुनै माग वा आग्रह प्रकट वा अप्रकट रूपमा भएको थिएन ।
३) नेपाली काँग्रेस जस्तो व्यापक जन आधारमूलक (Mass Based) पार्टीले ९४.२ प्रतिशत भन्दा बढि जनताको आस्था, विश्वास र भावनालाई उपेक्षा गरी राष्ट्रिय एकताको आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल् पुग्ने गरी आकस्मिक र अपारदर्शी ढङ्गले धर्म निरपेक्षताको मतियार बन्ने काम नैतिक एवम् राजनीतिक दृष्टिले पनि अनुचित र त्रुटीपूर्ण देखिएकोले त्यसलाई सच्याएर नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने संवैधानिक व्यवस्था गर्न नेपाली काँग्रेस केन्द्रीय समिति र नेपाली काँग्रेस संसदीय दलले अबिलम्ब पहल गर्नुपर्ने आवश्यकता प्रति पार्टीको गंभीर ध्यान आकृष्ट गर्न चाहन्छौं ।

संविधान सभाबाट जन चाहना अनुसारको लोकतान्त्रिक संविधान निर्माण गर्न निकै ढिला भैसकेको छ । २०७१ माघ ८ मा नै नेपाली जनताले हरहालतमा संविधान पाउनु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । राजनीतिक दलहरूले कुनै पनि बहानामा ८ माघमा देशलाई संविधान दिन सकेनन् भने यो देश र जनता प्रति ठुलो बेइमानी गरेको ठहरिने छ । संविधान सभाले संविधान जारी गर्दा विगतमा भएको गंभीर त्रुटीलाई सच्याएर नेपाललाई हिन्दू गणतान्त्रिक राष्ट्र बनाइयोस् भन्ने हाम्रो जोडदार माग रहेको छ ।

हामी भिन्न राजनीतिक सिद्धान्त, र विचारमा आवद्ध तमाम नेपाली दिदी–बहिनी, दाजु–भाईहरूलाई राजनीतिक विचार भन्दा माथि उठेर, विशुद्ध आध्यात्मिक एवम् राष्ट्रियताको भावनाले नेपाललाई धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दू राष्ट्र बनाउने हाम्रो यो महान अभियानलाई समर्थन एवम् सहयोग गर्न हार्दिक आव्हान गर्दै, सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान, केन्द्रीय समन्यय समिति हिन्दू राष्ट्र स्थापनाको पवित्र एवम् महान अभियानमा दृढतापूर्वक अगाडि बढ्ने प्रतिवद्धता सहित महाअभियानको तर्फबाट यो घोषणा जारी गरेका छौं ।

प्रज्ञाप्रतिष्ठान, कमलादी, काठमाडौं,
२० कार्तिक २०७१