बिहिबार, बैशाख १३, २०८१

सार्कमा मोतीको टापु

काठमाडौँ मङसिर ६,  भीष्मराज ओझा / दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य मुलुक श्रीलङ्का पूर्वमा बङ्गालको खाडी, पश्चिममा अरेबियन सागर, उत्तरमा भारतीय पाल्क स्ट्रेट र दक्षिणमा हिन्द महासागरले घेरिएको टापु देश हो । ‘श्री’ र ‘लङ्का’ मिलेर बनेको श्रीलङ्काको अर्थ संस्कृत भाषामा पवित्र टापु हुन्छ ।

shreelankaसार्कका अन्य सदस्य राष्ट्रका तुलनामा श्रीलङ्काको आर्थिक वृद्धिदर र साक्षरता प्रतिशत उच्च छ । प्राचीनकालमा सिलोनका नामले परिचित श्रीलङ्का ६५ हजार छ सय छ १० वर्गकिमि क्षेत्रफलमा फैलिएको छ । पछिल्लो जनगणनाअनुसार यसको जनसङ्ख्या दुई करोड १८ लाख ६६ हजार ४४५ छ ।

श्रीलङ्काको जनसङ्ख्या वृद्धिदर ०.७९ प्रतिशत र औसत साक्षरता दर ९२ प्रतिशत छ । जातीय दृष्टिमा सिंहाली ७४ प्रतिशत, तामिल १८ प्रतिशत, बर्घर ०.८ र मूर ७.१ प्रतिशतको बसोबास छ । सरकारी भाषा सिंहाली र तामिल हुनाका साथै राष्ट्रिय भाषा अङ्ग्रेजी रहेको श्रीलङ्कामा धार्मिक रुपमा बौद्ध ६९.३ प्रतिशत, हिन्दू १५.५, इसाइ ७.६ र मुसलमान ७.५ प्रतिशत छन् ।

सन् १८१५ सम्म बेलायती साम्राज्यको अधीनमा रहेको ‘मोतीको टापु’मा त्यसअघि पोर्चुगल र नेदरल्यान्डसले शासन गरेका थिए । बेलायती प्रभुत्वबाट सन् १९४८ फेब्रुअरी ४ मा स्वतन्त्र भएको श्रीलङ्काले प्रजातान्त्रिक समाजवादी गणतन्त्र शासन पद्धति अपनाएको छ । राष्ट्रपतीय राजनीतिक प्रणाली अँगालेको श्रीलङ्कामा राष्ट्रपति छवर्षे कार्यकालका लागि जनताबाट प्रत्यक्ष चुनिन्छन् भने २२५ सदस्यीय एक सदनात्मक व्यवस्थापिकाबाट राष्ट्रपतिले प्रधानमन्त्री चयन गर्ने व्यवस्था छ । श्रीलङ्का प्रशासनिक रुपमा नौ प्रान्त, २५ जिल्ला र २५६ विभागीय सचिवालय विभाजित छ ।

सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्र सङ्घको सदस्यता पाएको यस मुलुकमा सन् १९८३ देखि तामिलको बसोबास छ । श्रीलङ्काको पूर्वी र उत्तरी भेगलाई छुट्टै राज्यको माग राखीे लिबरेसन टाइगर्स अफ तामिल इलम (लिट्टे)ले २६ वर्षसम्म गरेको सङ्घर्षका कारण करिब ८० हजार मानिसले ज्यान गुमाएका थिए । सन् २००९ मे २० मा सैनिक कारबाहीबाट झन्डै तीन दशक लामो गृहयुद्ध अन्त भएको घोषणा गरेको थियो ।

उष्ण प्रदेशीय श्रीलङ्काको न्यून तापक्रम १६ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३८ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । हिन्द महासागर र बङ्गालको खाडीबाट बहेको मनसुनका कारण श्रीलङ्कामा वर्षा हुन्छ र वार्षिक दुई हजार पाँच सय मिमिसम्म वर्षा हुन्छ । जीवहरुको संरक्षणका लागि श्रीलङ्काली सरकारले हुरुलु, सिंहारुजा र कानेलिया–डेडियागाला–नकीयाड्निया आरक्षण केन्द्रको स्थापना गरेको छ । हात्तीको बथान, हरिण, मयूरलगायत विभिन्न जलचरको बासस्थानको संरक्षणका लागि ११ राष्ट्रिय निकुञ्ज र एक वन संरक्षण क्षेत्र स्थापना गरिएको छ ।

भौतिक पूर्वाधारको अवस्था हेर्ने हो भने श्रीलङ्काको बन्दरानयाके अन्तर्राष्ट्रिय विमानस्थल एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हो । मुलुकभर अन्य १४ वटा कच्ची र पक्की आन्तरिक विमानस्थल छन् । श्रीलङ्कन एयरलायन्स त्यहाँको राष्ट्रियध्वजाबाहक विमान हो ।

एसियाको सबैभन्दा पुरानो रेडियोका रुपमा रहेको ‘रेडियो सिलोन’ श्रीलङ्काको राष्ट्रिय रेडियो हो भने राष्ट्रिय टेलिभिजन ‘रुपवाहिनी’, सरकारी पत्रिका ‘डिनामिना’, ‘सिलुमिना’, ‘तामिल’, ‘डेली न्युज’ र ‘द सन्डे अब्जरभर’ हुन् । ‘च्यानल आइर्’, ‘उदयान टिभी’ र ‘नेथर टिभी’ निजी क्षेत्रका टेलिभिजन हुन् भने ‘लङ्कादीप’, ‘लङ्का’, ‘डेली मिरर’, ‘द वटम लाइन’ र ‘सुदर वली’ निजी क्षेत्रका पत्रिका हुन् ।  श्रीलङ्कामा १६ सरकारी विश्वविद्यालय सञ्चालनमा छन् र त्यहाँको प्राकृतिक सौन्दर्य, उष्णप्रदेशीय सदाबहार जङ्गल, समुद्री तटका साथै सांस्कृतिक सम्पदा पर्यटन गन्तव्यका लागि विश्वभर प्रसिद्ध छन् । – www.rssnepal.com  बाट