शनिबार, बैशाख ८, २०८१

सार्कका विशिष्ट पाहुनालाई स्वागत गर्न सभागृह तम्तयार

प्रकाश सिलवाल काठमाडौँ, २ मङ्सिर । नेपाली वास्तुकारले रुपरेखा तयार गरेको मुलुककै पहिलो सभा कक्ष राष्ट्रिय सभागृह नयाँ स्वरुपले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सम्मेलनमा आउने विशिष्ट पाहुनालाई स्वागत गर्न तम्तयार भएको छ । वास्तुकार गङ्गाधर भट्टको IMG_8296sjh_roadphotography_rastriya sabha griha_2071परिकल्पना तथा चीन सरकारको सहयोगमा २०२२ सालदेखि २०२७ सम्ममा बनेको सो भवन अहिले मर्मतसम्भार, सरसफाइ, रङ्गरोगनका कारण चिटिक्क देखिन्छ । वरिपरि रूखबिरुवा र गमलाले सजिँदै गरेको भवनको मूल प्रवेशद्वारबाट भित्र छिर्नेबित्तिकै सार्क सदस्य मुलुुकका राष्ट्रिय झन्डा फहराइएको देख्न सकिनेछ भने त्यसपछि पानीको फोहोरा फाउन्टेनले आमन्त्रण गर्नेछ । काठमाडौँ महानगरपालिकाको मातहतमा रहेको सो भवनलाई ‘सिटी हल’ र ‘नेसनल एसेम्ब्ली हाउस’ पनि भनिन्छ । अठारौँ सार्क शिखर सम्मेलन यही मङ्सिर १०–११गते यहाँ हुँदैछ ।

मर्मत र विस्तारका क्रममा सो भवनको मूल दृश्यलाई परिवर्तन गर्ने सुझाव पनि कतिपयले दिएकामा नेपाली वास्तुकारले रुपरेखा गरेको पहिलो भवन भएकाले यसको मूल मर्ममा कुनै असर नपार्ने निर्णय सरकारले गरेको छ । आर्किटेक्ट तथा इन्जिनियर शङ्करनाथ रिमाल वास्तुकला पनि मौलिक सिर्जना भएकाले एउटाले बनाएको कलालाई अरूले भत्काउने वा स्वरुप फेर्नु उचित नहुने बताउनुहुन्छ । “विदेशतिर यस्ता ऐतिहासिकस्थलमा एउटा ढुङ्गा पनि छोपिँदैन र अर्काे ढुङ्गा पनि थपिँदैन, नेपालमा यस कुरालाई गम्भीरताका साथ लिइँदैन ।”

काठमाडौँ उपत्यकामा राष्ट्रिय सभागृहजस्तै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, राष्ट्रिय नाचघर, नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानजस्ता भवन बनेका छन् । सुरक्षा र पार्किङ व्यवस्थापनका हिसाबले अन्यभन्दा सहज भएकाले सभागृह छनोट गरिएको बुझिएको छ । सम्मेलनको पहिलो दिन राष्ट्र र सरकार प्रमुख तथा सम्मेलनका सहभागी सभागृह पुग्दा मुख्य कक्षनजिकै नवनिर्मित सानो भवनको मूल ढोकाबाहिर परराष्ट्रमन्त्री र शिष्टाचार महापालले तथा मूल प्रवेशद्वारमा प्रधानमन्त्री सुशील कोइरालाले औपचारिक स्वागत गर्नुहुनेछ । गलैँचा बिछ्याइएको सो भवनभित्र प्रवेश गरेपछि शीर्ष प्रतिनिधि केही समय आराम गर्नुहुनेछ । सँगै सार्क मुलुकका परराष्ट्रमन्त्रीका लागि आरामकक्ष बनाइएको छ । ती कक्षसँगै नयाँ खाजाघर र शौचालय पनि बनाइएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुन मैनालीका अनुसार आरामपछि शीर्ष प्रतिनिधि सभागृहकोे मञ्चतर्फ प्रस्थान गर्नुहुनेछ भने मन्त्रीहरु अर्काे भित्री ढोकाबाट सभाकक्षमा जानुहुनेछ । मञ्चमा सार्कका राष्ट्रप्रमुख र महासचिव बस्ने कुर्सीको प्रबन्ध गरिएको छ ।

सम्मेलनका सहभागी बस्ने स्थानका लागि सहरी विकास मन्त्रालयले सम्पूर्ण रुपमा नयाँ कुर्सी जडान गरेको छ जहाँ एकातिरको पहिलो लहरमा प्रथम महिला र बीचको लहरमा विदेशीमन्त्री तथा सँगै उहाँका सुरक्षाकर्मी रहनेछन् । ठूलो प्रेक्षालय नभएका कारण सम्मेलनभित्र ओहोरदोहोर गर्न भने केही असुविधा हुने देखिन्छ । कक्षभित्र नौ सिसिटिभी क्यामरा जडान, सांस्कृतिक कला , तुल, ध्वनि व्यवस्थापनजस्ता कार्य भइसकेको छ । वरिपरिका रूख र संरचनामा यन्त्रबाट पानी झारेर सफाइ गरिनेछ ।

मर्मत र सरसफाइमा दैनिक २५० जनशक्ति खटिएका छन् । सम्मेलनको तयारी सुरु भएदेखि नै त्यहाँभित्र कार्यालय रहेको काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित ‘मेट्रो एमएम’ हाल बन्द गराइएको छ । सभागृहमा अहिले प्रहरी पहरा गण, सामाखुसीले सुरक्षा दिइरहेको छ । तयारीका कार्य भइरहेको र सुरक्षाको संवेदनशीलताका कारण सभागृहभित्र छिर्न कडाइ गरिएको छ ।

सभागृहको दायाँतर्फका भागमा शीर्ष प्रतिनिधि र विशिष्ट व्यक्तिका गरी २४ वटा मात्र सवारीसाधन पार्किङ गरिनेछ । अन्य सवारीसाधन प्रहरी क्लब, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपआसपास र नयाँ बसपार्कमा पार्किङ हुनेछ । सो स्थलमा आज उपप्रधानमन्त्री प्रकाशमान सिंहले अवलोकन गरी मुलुकको प्रतिष्ठालाई अन्तर्राष्ट्रियजगत्मा उच्च बनाउने गरी तयारीका बाँकी कार्यलाई चाँडो र व्यवस्थित रुपमा सम्पन्न गराउन निर्देशन दिनुभयो । सो स्थलमा अनुगमन र निरीक्षणका कार्य भइरहँदा सरसफाइ र सुरक्षाका तयारीमा प्रतिकूल असर परेको पनि त्यस कार्यमा खटिएका कर्मचारीले गुनासो गरेका छन् । सम्भवतः यही मङ्सिर ५ गतेदेखि अनुगमन र निरीक्षणका कार्य पनि बन्द हुनेछ । रासस