आइतवार, जेष्ठ १३, २०८१

यी खोटा सिक्का पो रहेछन्

66235-

-राजन कार्की

“आफूले दायित्व पूरा गर्न नसक्दा अराजकता बढ्यो भन्ने लज्जावोध कुनै नेताको अनुहारमा देखिदैन। उनीहरु चर्किरहेका छन्, चम्किरहेका छन्, रित्तो भाँडो बजेझैं बजिरहेका छन्। शायद यस्तै परिस्थितिलाई मध्यनजर राखेरउखान बनेको होला – नङ्गा नाचे हजार दाउ”

        सबै टल्कने वस्तु सुन हुँदैनन्। यो कहावत नेपाली राजनीतिमा ठ्याक्कै मेल खान्छ। जनयुद्ध अथवा जनआन्दोलनमा निकै टलकदार देखिए हाम्रा नेताहरु। जब परिवर्तन भयो, तिनमा बिस्तारै बिस्तारै खिया लाग्दै गयो। ०६३ सालदेखि ०७१ सालसम्मको ९ वर्षमा हाम्रा नेताहरु सुन होइनन्, खिया लागेका फलाम पो रहेछन् भन्ने स्पष्ट हुनपुगेको छ। खियाले खाएर यी फलाम नेताहरु पातलिदै पातलिदै काम न काजका बन्दै गएका छन्। यिनलाई हामी लोकप्रिय नेता भनेर अझै पूजा गरिरहेछौं। यी लोकनेता लोकको आँखामा भ्रम छर्न पारङ्गत छन्। त्यसैको सिको गरेर प्रशासक लोकलाई छल्छन्, उद्यमी व्यापारी भ्याट, कर ठग्छन्। ०६३ सालपछिका दिनमा आ–आफ्ना सख्य र पहुँचले सकेजति लुट्ने क्रम तीब्र गतिले बढेको छ। लोकतन्त्रमा लोकप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने हो, कुनै नेताले नेतृत्वको कर्तव्यवोध गरेका छैनन्। छल्नु, ठग्नु, झुक्याउनुको अर्को नाम लोकतन्त्र हुन पुगेको छ। राजनीतिक गैरजिम्मेवारीका कारण अराजकता बढेको छ। आफूले दायित्व पूरा गर्न नसक्दा अराजकता बढ्यो भन्ने लज्जावोध कुनै नेताको अनुहारमा देखिदैन। उनीहरु चर्किरहेका छन्, चम्किरहेका छन्, रित्तो भाँडो बजेझैं बजिरहेका छन्। शायद यस्तै परिस्थितिलाई मध्यनजर राखेर उखान बनेको होला– नङ्गा नाचे हजार दाउ।
नीतिहरुको मूल हो राजनीति। भनिन्छ, राजनीतिक नेतृत्वमा क्षमता हुन्छ, उदारता, गतिशीलता र दूरदर्शिता हुन्छ। त्यस्तो गुण भएका नेतालाई राजनेता मानिन्छ। ०६३ सालमा निरङ्कूशता चाहिदैन भनेर जनआन्दोलन भयो, त्यो जनआन्दोलनमा अन्यायविरुद्ध जनयुद्धमा होमिएकाहरु समेत मिलेपछि जनआन्दोलन सफल भएको हो। यो सफलतालाई वसन्त पर्व भनियो। परिवर्तनले राजनीतिज्ञलाई निर्णायक तहमा पुर्‍यायो, लोकसमाजलाई आशाबादी गरायो। वसन्त आयो, नेता र तिनका आफन्तजनलाई आयो। चोर डाँकालाई आयो, लोकले वसन्त देख्न पाएको छैन। परिवर्तनका ९ वर्षपछि पनि निर्णायक तहका नेताहरुले लोकलाई अराजकताको दहमा डुबाइरहेको अनुभूति गर्नुपरेको छ। लोक भन्छन्– नेताहरुमा दूरदर्शिता देखिएन, विभेद र बितृष्णाका कूभावनाको अन्त्य भएन, मेरो गोरुको बाह्रैटक्का भन्ने अहंकारीपन हटेन। एउटै दलभित्र एकता छैन, दर्जनौं दलवीच सहमति खोजेर हिडेका छन्। दुई दुई थान संविधानसभाको निर्वाचन भइसक्यो, नेपालको राष्ट्रियनीति के हो? अहिलेसम्म किटान गर्न सकेका छैनन्। यस्तो हरिहल्लै चाला छ हाम्रो अग्रगामी लोकतन्त्रको। यिनै नेताहरु भन्छन्– हामी देशभक्त छौं, यिनकै ठूलो श्वर सुनिन्छ– हामी राष्ट्रवादी छौं। के देशभक्त र राष्ट्रवादी नेता भनेको साँढे डुक्रिए झैं डुक्रिनुमात्र हो कि व्यवहारमा पनि देखिनुपर्छ? देशमा विदेशीको दबदबा बढ्दै गएको छ। यी कस्ता देशभक्त नेता हुन्, जो आफ्नो मुलुकको निर्णय आफै गर्न सकिरहेका छैनन्?
१ सय ३ वर्ष लामो हुकुमी शासन मान्दैनौं भनेर २००७ सालमा जनताले राणा शासन फाले। ०१५ सालको आमचुनावपछि कांग्रेसको व्यवहारको कडी खुस्कियो, जनताले ‘तेरा घरमा कांग्रेस पसोस्’ भन्ने सराप दिन थालेको सुनेर ०१७ सालमा राजाले पञ्चायती व्यवस्था ल्याएका हुन्। पञ्चायतले अति गर्‍या, लोकमतको खती भयो भनेर कांग्रेसले ०३६ सालमा आन्दोलन गरेर जनमत संग्रह गराउन वाध्य पार्‍यो। ०४६ सालमा अर्को आन्दोलन भयो र राजा जनतासामु झुके र दलमाथिको प्रतिवन्ध फुकुवा भएको हो। दलमाथिको फुकुवालाई कांग्रेसले कूशासनमा परिणत गरिदियो। आज पनि १२ वर्षे कूशासन लोकले बिर्सेका छैनन्। कांग्रेसका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सुनको किस्तीमा राखेर लोकअधिकार राजाको हातमा राखिदिंदा केही दिन राजाले प्रधानमन्त्रीसमेत बनेर शाही शासन चलाए। अनि उठ्यो जनयुद्ध र जनआन्दोलनको एकाकार आन्दोलन। निरङ्कूशता अन्त्य गर्ने आवरणमा राजतन्त्रको उन्मूलन गरियो। तर, आज लोक भन्छन्: श्री ३ फालियो, श्री ५ मिल्काइयो, राजा फालेर बादशाही पो ल्याइएछ। राजालाई बाधक भनेको त असली बाधक त नीति र निष्ठाहीन नेताहरु पो रहेछन्। यिनीहरुमा मुलुक सपार्ने, मुलुकलाई एकतावद्ध पार्ने, मुलुकलाई सम्पन्नतातिर लैजाने अवधारणा नै रहेनछ। खोक्रा नेताहरु बोक्रामात्र रहेछन्। यी नेता होइनन्, खोटा सिक्का हुन्।

प्रजातन्त्रभन्दा उत्कृष्ठ पद्धति अरु हुनै सक्दैन। प्रजातन्त्र छ भने राजा हुनु र नहुनुले फरक नपर्ने रहेछ। जापान, बेलायत, थाइलैण्ड, स्पेनजस्ता मुलुकको प्रगतिमा व्यक्ति होइन, नैतिकताले भूमिका खेलेको छ। जापानमा कुनै व्यक्तिले भ्रष्टाचार गरेको प्रमाणित भयो भने भ्रष्टाचारी आफूले आफैलाई ‘हाराकिरी’ गर्छ। अर्थात् नैतिकतामा प्रश्न उठेपछि कुनै व्यक्ति समाजको आरोप खेपेर बाँच्न खोज्दैन। जिउँदै मरेतुल्य हुनुभन्दा मर्नु बेस ठान्छ। नेपालमा, जो जतिसुकै नैतिकहीन होस्, ऊ आफूलाई सद्धे प्रमाणित गर्न कानुनी दाउपेचमा लाग्छ। अख्तियारले प्रमाणसहित त्रिवि, काठमाडौं, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चलदेखि यतिखेर पोखरा विश्वविद्यालयका उपकूलपति, पदाधिकारीदेखि उच्च अधिकारीसम्मलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। तर, ती विश्वविद्यालय हाँक्ने विद्वानहरु ठाडो शीर लगाएर अदालतमा उभिएका छन्। एकसेएक ठूला वकिल हायर गरेर जमानतमा छुट्ने र मुद्दा जितेर समाजमा सम्मानित जीवन स्थापित गर्ने चक्करमा लागेका छन्। जव विद्वानहरुकै यस्तो हालत छ भने कर्मचारी प्रशासनमा भ्रष्टाचारी चरित्र बढ्नु र तिनको हालीमुहाली बढ्नु स्वभाविक हो। यी सबैको कारण अति राजनीतिकरण हो। जति पनि अनैतिक कामहरु पन्पिएका छन्, ती सबैमा राजनीतिक संरक्षण देखिन्छ। मूल खराव भएपछि बहाव प्रदूषित हुनु स्वभाविक छ।

यस्तो राजनीतिलाई खोटो सिक्का नभने के भन्ने? चाणक्यले भनेका छन्– धनवानको होइन, विद्वानको प्रशंसा हुनुपर्छ। हाम्रो समाजमा विद्वानको होइन, भ्रष्टाचारी धनवानको इज्जत हुन थालेकाले जो जसरी पनि धन कमाउनतिर लागेका छन्। तिनै चाणक्यले भनेका छन्– जुन देशमा आदरसम्मान छैन, गरिखान पाइदैन, बन्धुवान्धव छैनन, न शिक्षा प्राप्त गर्ने सम्भाबना छ, त्यो देशलाई छाडिदिनुपर्छ। हिजोमात्र सरकारले समाचार दियो– ३ महिनामा नै सवालाख युवा विदेशिएका छन्। चाणक्यनीति र युवाको पलायनको यो बाढीप्रति राजनीतिक नेताहरुमा कुनै चिन्ता नै देखिदैन। युवा पलायन हुनु देश खोक्रो हुनु हो भन्ने नबुझ्ने नेता खोटा सिक्कासरह हुन् भन्न हिचकिचाइरहनु पर्दैन। सिसेरोले उहिल्यै लेखेका थिए– बुद्धिमान विवेकबाट, साधारण अनुभवबाट, अज्ञानी आवश्यकताबाट र पशु स्वभावबाट सिक्छ। हाम्रा नेताले त ९ वर्षदेखिको स्वभावबाट पनि सिक्न सकेनन् र अहिले पनि रिसोर्ट जान्न भन्नेहरु रिसोर्ट गइरहेका छन्, हुनै नसक्ने सहमतिको खोजि गरिरहेका छन्। लोकतन्त्रवादी हुँ भन्छन्, लोकतन्त्रका महिमा र मर्यादा स्थापित गर्न सकिरहेका छैनन्। केन्द्रीय तथ्याङ्क विभागले नेपालमा १ सय २५ जाति छन् भनिसकेको छ, त्यसको अर्थ, औचित्य र सम्मान समेत गर्न सकिरहेका छैनन्।
हामीले खोटा सिक्कालाई नेता बनाएछौं तैपनि हामीसँग विकल्प छैन। यिनैलाई घोटघाट पारेर चलाउनु पर्ने भएको छ। यिनले शान्ति, संविधान, स्थिरता, प्रगतिका लागि के चाहिने रहेछ भन्ने तत्ववोध गरुन् भनेर अव जनताले हस्तक्षेप गर्नुपर्ने र मुलुकलाई संक्रमणबाट मुक्त पार्न स्वार्थभन्दा माथि उठ भनेर दबाब दिनुपर्ने भएको छ। आत्मकेन्द्रीत होइन, मुलुककेन्द्रीत होउ भन्नुपर्ने भएको छ। अन्यथा संविधान र शान्ति वीरवलको खिचडीकै रुपमा कहिल्यै नपाक्ने निश्चित छ। चौथो शक्ति राप्रपा नेपाललाई प्रतिगामीको प्रतिनिधि मान्छन् ठूला दलहरु। त्यही दलले समेत खुला चुनौती दिदै भनेको छ– ठूला तीन दलको सिण्डिकेटका कारण, भागबण्डे राजनीतिका कारण संविधान निर्माण हुन नसकेको हो। अलिकति मात्र नैतिकता र लोकतन्त्रप्रति निष्ठा बाँकी छ भने ठूला दलहरुलाई योभन्दा मर्नु न बाँच्नुको आरोप अरु के हुनसक्छ?

सीके राउतले राष्ट्रलाई वेश्यासमेत भने। मधेस अलग राज्य हुनुपर्छ भन्दा समेत तिनकै पक्षमा उभिने राजनीतिक दलहरु संविधान निर्माणका निर्णायक तहमा छन्। आमालाई वेश्याभन्दा मन नदुखाउने नेताहरु कस्ता होलान? मुलुकका ठाउँ ठाउँमा बुढी अवलाहरुलाई बोक्सी भनेर मलमुत्र खुवाएर, कुटपिट गरेर समाज निकाला गर्ने प्रचलन जारी छ। जब नेताहरु नै राष्ट्रआमालाई बोक्सी, वेश्या भन्न हिचकिचाउँदैनन्, भन्नेहरुको संरक्षण गरिरहेका छन्, यो मुलुकबाट अन्धविश्वास कहिले हट्ने? अन्ध धृतराष्ट्रजस्ता नेता रहेसम्म मुलुकमा लोकतन्त्रको उज्यालो हुन्छ भनेर मान्न सकिन्न। चल्दैन, कुनै हालतमा यस्ता खोटा सिक्का चल्दैनन्। यिनलाई लोकले लत्याउनै पर्छ, नभए सच्याउनै पर्छ। अन्यथा प्रशासन, उद्यम, आर्थिक क्षेत्र जताततै टे्रेडयुनियनको गुण्डागर्दी जारी रहनेछ, राजनीतिमा डन संस्कार र शासनमा माफियाको प्रभाव हट्नेछैन, न्याय भ्रष्टाचारीको हातमा रहिरहनेछ, समाजमा अपराध र घर घरमा बलात्कार बढ्दै जानेछ। जंगलमा मंगल र शासनमा मंगलसेन हावी भइरहनेछ। म्ााघ ५ मा संविधान आउने छ र मुलुकले शान्ति र स्थिरता पाउनेछ भन्ने अपेक्षा छ लोकको। संविधानसभा सत्तल बनेको छ, सभासदहरु व्यापार, विदेश भ्रमणतिर लागेका छन्। केही ठूला नेताहरु कहिले गोकर्ण रिसोर्ट त कहिले अँध्यारो कोठामा सहमतिका सूत्रहरु खोज्न थालेका छन्।

लोकमतले बनेको संविधानसभामा संविधान लेखिदैछैन। कस्तो संविधान बनाउने छलफल भइरहेको छैन।कतै दिल्लीमा भएको १२ बुँदे सहमतिबाट सुरु भएको शान्ति प्रक्रिया दिल्लीका नयाँ चक्रवर्ती बनेका नरेन्द्र मोदी जानकीको दर्शन गरेर काठमाडौं आएर यिनलाई थचारेर लुम्बिनी भएर फर्केपछि संविधानपर्व सम्पन्न हुने त होइन। यसो भयो भने हाम्रा खोटा सिक्का मोदीको छाप लागेपछि मात्र चलनचल्तीमा आउनेछन्। त्यो स्थितिमा हाम्रा नेताहरु हाम्रा प्रतिनिधि होइनन्, विदेशीका खेतालामात्र साबित हुनपुग्नेछन्। हामीले यतिबिघ्न विवेकहीनहरुलाई नेतृत्वदायिनी, भाग्यविधाता बनाएका रहेछौं त ?

प्रतिक्रियाको लागि   rajan2012karki@yahoo.com