आफू सहमतिको वाधक होइन साधक भएको समिति सभापति भट्टराईको अभिव्यक्ति
काठमाडौ कार्तिक २४, संविधानसभाको संवैधानिक संवाद तथा राजनीतिक सहमति समितिको बैठक मंगलबार (कात्तिक-२५ गते) बस्ने भएको छ । समिति सभापति बाबुराम भट्टराईले अन्य दलका शीर्ष नेताहरुसँगको अनौपचारिक छलफलपछि समितिको बैठक भोलि मङ्गलबार दिउसो १ बजे बोलाइएको सभापति डा भट्टराईको निजी सचिवालयले जनाएको छ ।गत १८ गतेको बैठकमा कांग्रेस-एमालेले संविधानका विवादित विषयमा संयुक्त धारणा पेस गरेपछि बैठक बोलाइएको छैन । बैठक नबोलइएकोमा असन्तुष्ट दुई दलका नेताहरुले आइतबार पत्रकार सम्मेलन गरेर बैठक नबोलाइए विकल्प खोज्नेसम्मको चेतावनी दिएका थिए ।
भट्टराईले सोमबार आफ्नो फेसबुकमा पोस्ट गरेको ‘समाचार नोट’ मा बैठक बोलाइने जानकारी दिएका छन् । टाइफाइडका कारण केही दिन आराम गरेको जनाएका भट्टराईले स्वास्थ्यमा सुधार आए लगत्तै राजनीतिक परामर्शलाई तिव्रता दिएको जनाएका छन् । सोमबार उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, एमाले अध्यक्ष केपी ओली र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग टेलिफोनमा कुराकानी गरेका छन् । उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग आइतबार आफ्नै निवास सानेपामा भेटवार्ता गरेका थिए । नेताहरुसँगको कुराकानीमा भट्टराईले आफू सहमतिको वाधक होइन साधक बन्ने भन्दै सहमतिको मिलनबिन्दु खोज्नका लागि सबैमा आग्रह गरेको जनाएका छन् ।