बुधबार, बैशाख १२, २०८१

आज यमपञ्चकको मुख्य दिन अर्थात भाइटीका पर्व मनाइँदै

काठमाडौ कात्तिक ८, यमपञ्चक अर्थात् तिहारको ५ औं  दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको maxresdefaultकामना गर्दै सप्तरङ्गी टीका लगाई भाइटीका पर्व मनाइँदैछ ।

आजको दिन लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्ट चिरञ्जीवी, बलीराजा, यमराज, यमुना र धर्मराजको समेत पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक परम्परा छ । भाइटीकाको उत्तम साइत ११ बजेर ३५ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  त्यस्तै दिदीबहिनी नहुनेले राजधानीको रानीपोखरी स्थित यमलेश्वर नामले परिचित वालगोपालेश्वर मन्दिर र राजधानीकै  काष्ठमण्डप मन्दिरमा अञ्जली दिदिले गर्ने सामूहिक भाइटीका कार्यक्रममा गई टीका लगाउने गर्दछन् ।