शुक्रबार, चैत्र १६, २०८०

आज दशैंको सातौं दिन, घरघरमा फुलपाली भित्र्याइँदै

  • आजै कालरात्रीको पूजा गरिने

  • देशभरका शक्तिपिठहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो

काठमाडौ असोज १५,  आज बडादसैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् । फूलपाती भित्र्याउन कुनै साइत नचाहिने  भन्दै नेपाल पञ्चांग निर्णयक समितिले बिहान ७ बजेर २५ मिनेटमा तुलजा भवानीको यात्रा र तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने बिहान ८ बजेर ४३ मिनेटमा रहेको जनाएको छ । त्यस्तै फुलपातीको दिन आज देशभरका शक्तिपिठहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो पनि लागिरहेको छ

सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राइन्छ । यसैबीच, नवरात्रको सातौं दिन आज कालरात्री भगवतीको पूजा अर्चना पनि गरिंदै छ  । आजकै दिन हनुमानढोकास्थित दसैंघरमा पूजारीसहित फूलपाती ल्याउने र भित्रयाउने चलन छ । फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका ६ जना र त्यहाँबाट काठमाडौंको जमलसम्म ६ जना ब्राह्मणले ल्याउने चलन छ ।

फूलपाती भित्रयाउन गुरुज्युको पल्टन, नेपाली सेना, नेपाल प्रहरी र निजामती सेवाका उच्चपदस्थ अधिकारीहरु, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिंगारिएका कल्स्यौडीहरु र साँस्कृतिक नाचगानसहितको लावालस्कर हनुमानढोकाबाट जमल प्रस्थान गर्ने गर्छ ।  घटस्थापनाका दिनदेखि दसैं सुरु हुने भएपनि दसैंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि सुरु हुन्छ । फूलपातीदेखि पूर्णिमासम्म सरकारी कार्यालय पनि बन्द हुने भएकाले घरबाट टाढा रहेका व्यक्तिहरु मूलघरमा दुर्गा भवानीको टीका थाप्न जानेक्रम सुरु हुन्छ ।