बिहिबार, बैशाख १३, २०८१

अश्लीलप्रेमीको भागाभाग…

काठमाडौं असोज १४,   केही समयअघि यौनजन्य फिल्मको भेलै आएको थियो । विशेषगरी लुट र चपली हाइटपछि छाडा शब्द र दृश्य राखेर फिल्म बनाउनेहरू सलबलाएका थिए । लुट र चपली हाइटले पैसा कमाएको देखेपछि न्यूनतम मर्यादाको समेत ख्याल नगरी अश्लीललाई बढावा दिएका फिल्म बग्रेल्ती बने । तर, कालान्तरमा त्यस्ता फिल्म र फिल्मकर्मीको भागाभाग भएको छ ।  अश्लील र छाडापनलाई स्थान दिएर फिल्म बनाउने, खेल्ने मात्र होइन, निर्देशन गर्नेहरू पनि दुई वर्षको अवधिभित्रै रजतपटबाट लगभग हराएका छन् । अचेल छाडा विषय र प्रस्तुतिका फिल्म बन्न पनि करिब–करिब बन्द भएको छ । लुट र चपली हाइटलाई सेन्सर बोर्डले पर्याप्त मात्रामा आँखा नलगाएकाले छाडा गाली र दृश्यका फिल्म बग्रेल्ती बने ।

दिनेश थापाले सोनिया शर्मा, जिया केसी र सबिना कार्कीलाई लिएर छाडागाली र लाजमर्दो दृश्य राखेर एटिएम बनाए । एटिएमको प्रोमो निकै आलोचित, विवाद र घृणित मात्र भएन, अब नेपाली फिल्म कता जान्छ भनेर गभ्भीर बहस नै चल्यो । त्यसपछि नै चलचित्रमा सेन्सर कडा भएर आयो । चलचित्र विकास बोर्डले त स्क्रिप्ट अध्ययन समिति नै गठन गर्‍यो । चलचित्रजस्तो स्वतन्त्र र सशक्त माध्यममाथि सेन्सरको कडा कैँची चलाउन थाल्यो । त्यसको मार अहिले पनि छ । अहिले फिल्म बनाउन पहिला नै बोर्डबाट स्क्रिप्ट पास गराउनुपर्छ । जसले गर्दा फिल्म निर्माण अझ झन्झटिलो भएको छ ।

 एटिएमपछि यौन केन्द्रित रिङरोड, बर्बाद, द रेप, लक, नाइन ओ क्लक, जिगलो, रङ वेलगायतका फिल्म बने । तर, ती कुनैले दर्शकको मन जित्न सकेनन् । यद्यपि अचेल पनि त्यस्ता फिल्म नबन्ने गरेका होइनन् । केही फिल्म भने प्रदर्शन हुनै बाँकी छन् । त्यसमध्ये नामै सुन्दा यौन बुझाउने फिल्म छ– हनिमुन नाइट । निर्माताले सामाजिक घटनामा फिल्म बनाएको बताउने गरे पनि नाम दर्शकले पत्याउने छाँट देखिँदैन ।

यौनजन्य फिल्ममा अभिनय गरेर आफूलाई स्टार सोच्नेहरू अहिले कुन दुलामा पसेका छन्, भेटाउन गाह्रो पर्छ । एटिएमका जिया, सबिना र सोनियाको फिल्म करिअर कस्तो चल्दै छ, कसैले चासो राख्दैन । जिया अभिनेता भुवन केसीसँगको निकट सम्बन्धका कारण चर्चामा आए पनि सुनाम भने कमाउन सकिनन् । दीपक श्रेष्ठको रङ वेमा प्रचुर मात्रामा यौन दृश्य दिएर थप आलोचना खेपेकी उनी अचेल फिल्मविहीन छिन् । त्यस्तै, एटिएमकी अर्की ‘हिरोइन’ सोनियाको हालत पनि उस्तै छ । ढुंगेयुग, करामतलगायतका फिल्ममा अभिनय गरे पनि एटिएमपछि भने उनी निकै आलोचित भइन् । पछिल्लो समय कुर्बान फिल्ममा अभिनय गरेकी उनलाई दर्शकले हिरोइनका रूपमा स्वीकारेका छैनन् । एटिएमकी अर्की प्रमुख पात्र सबिना कार्की पनि अचेल फिल्मविहीन छिन् ।

एटिएमभन्दा पहिला मिस्टर डन र मस्ती फिल्म निर्माण गरेका निर्माता हिरो दिनेश थापा पनि निकै आलोचित भए । फिल्मलाई थुप्रै दृश्य काटेर र केही संवादमा बिप लगाएर सेन्सरले चलाउने अनुमति दियो । तर, सेन्सरको आदेश नमानी मनोमानी ढंगले फिल्म चलाएको भेटिएकाले रिलिजको पहिलो दिननै एटिएम प्रतिबन्धित भयो । केही महिनापछि पुन: रिलिज गरियो । तर, दर्शकले साथ दिएनन् । आफूले गलत काम गरेको महसुस गरेका दिनेश अचेल मलेसियामा पसल सञ्चालन गरिसकेका छन् । अब केही वर्ष उनी फिल्म बनाउने मुडमा छैनन् । अनि, एटिएमका निर्देशक यादव सिलवाल भने गाईपालनमा लागेका छन् । उनी अचेल फिल्मको नाम पनि लिन चाहनन् ।

सुरज आरडी र विजयगोपाल दलीले निर्माण गरेको रिङरोड नामक फिल्म पनि निकै आलोचित भयो । हलमा आएको/गएको पत्तो नभएको त्यो फिल्मको युट्युबमा हालिएको सुटिङको यौनजन्य दृश्यले निकै विवादित मात्र भएन, निर्माता, निर्देशक र त्यो दृश्यमा अभिनय गर्ने सुरज र उषाले पनि गाली पाए ।

सर्वत्र आलोचना हुने, हलमा दर्शक नजाने, सेन्सरले कैँची चलाउने र बाटोमा हिँड्दा पनि गोदाई भेटिने सम्भावना अधिक भएकाले अचेल यौनलाई प्रस्रय दिएका फिल्म बन्न छाडेका छन् । अश्लील फिल्मसँगै अश्लीलतामा रमाउनेहरू पनि अचेल फ्लप भएका छन् ।

हाइवे फिल्ममा ऋचा शर्माले ‘कथाको माग’ भन्दै निर्वस्त्र दृश्य दिएकी थिइन् । हाइवेले दर्शकको निकै गाली खायो । मेरो जीवन साथी, बिन्दास र बिन्दास–२ फिल्ममा दिएको ओपन दृश्यका कारण सुष्मा कार्की पनि विवादमा आइन् । त्यसभन्दा अघि उनले ब्याच नम्बर–१६ मा अर्पण थापासँग दिएको टङकिसले पनि निकै गाली पाएको थियो । राज तिमिल्सिनासँग सिलसिला र राजभाइ फिल्ममा टङकिस सिन दिएर केही समय चर्चामा छाएकी सोनिया केसी अचेल कहाँ, के गर्दैछिन्, अत्तोपत्तो छैन ।

नयाँ पत्रिकाबाट साभार