बिहिबार, बैशाख ६, २०८१

प्रम कोइरालालद्दारा समवेदना व्यक्त, खुलामञ्चमा श्रद्धाञ्जलि दिनेको भिड, बोगटीको अन्त्येष्टि

काठमाडौ भाद्र ३०, प्रधानमन्त्री सुशील कोइराला आज बिहान एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगी सो पार्टीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको परिवारजन र  एमाओवादीका नेताहरूलाई समवेदना व्यक्त गर्नुभएको छ । हृदयघात र मस्तिष्कघातपछि बेहोस हुनुभएका एमाओवादीका Post-bahadur-Bogati1उपाध्यक्ष बोगटीको राजधानीको नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको थियो ।

प्रधानमन्त्री कोइरालाले निर्धारित समयमा संविधान जारी गर्न आयोजित बैठकहरूमा सक्रियतापूर्वक सहभागी भइरहनुभएका बोगटीलाई अकस्मात् हृदयाघात भएको खबरले आफू दुःखी भएको बेला निधनको खबर सुन्नु पर्दा मर्माहत भएको बताउनुभएको छ । त्यस्तै प्रम कोइरालाले अत्यन्त मिलनसार नेताको पहिचान स्थापित गर्नुभएका बोगटीको निधनले परिवार, एमाओवादी पार्टी र सिङ्गो राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको बताउँदै शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउँदै समयमा संविधान जारी गरेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि अर्पण हुने बताउँनु भएको थियो ।

यसअघि पार्टी कार्यालय पेरिसडाँडामा उहाँको पार्थिव शरीरलाई अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओडाउनुभयो । त्यसैगरी प्रधानमन्त्री सुशील कोइरालाले त्यहाँ पुगेर श्रद्धाञ्जलि दिँदै एमाओवादी नेता तथा बोगटीका परिवारका सदस्यलाई भेट गरी समवेदना व्यक्त गर्नुभएको हो ।

यसैवीच प्र्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङलगायत खुलामञ्चमा गई ए माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीप्रति श्रद्धाञ्जलिका व्यक्त गर्नुभएको छ । उहाँहरूले उपाध्यक्ष बोगटीको पार्थिव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजाल, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा, राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायतका नेताहरू बोगटीलाई श्रद्धाञ्जलि दिन खुलामञ्चमा पुग्नुभएको थियो ।

त्यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्त, उद्योगी, कलाकार, व्यवसायी, खेलाडी, साहित्यकारलगायत विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूले बोगटीलाई श्रद्धाञ्जलि दिनुभएको थियो । त्यस्तै ६२ वर्षीको उमेरमा हृदयघातको कारण मृत्युवरण गर्नु भएका एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उनका दुई छोरीले बोगटीको पार्थिव शरीरमा दागवत्ती दिएका हुन् ।