शुक्रबार, बैशाख ७, २०८१

गोलमाल भयो गोलमेच,गोलमेचलाई गोलमाल पार्ने को ?

गोलमेचलाई गोलमाल पार्ने को ?

काठमाडौं भाद्र ३१ ,आज हुने भनिएको सर्वदलीय राजनीतिक (गोलमेच) सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको छ । एजेन्डाका विषयमा छलफल गर्न बसेको चार दलको बैठकमा कुरा नमिलेपछि नेकपा–माओवादीले सर्वदलीय राजनीतिक सम्मेलनमा भाग नलिने बताएपछि स्थगित Goalmach-Neta-haruभएको हो ।
संविधानसभाबाहिर रहेको नेकपा–माओवादीसहितको मोर्चालाई संविधान निर्माणमा सहभागी गराउने उद्देश्यसहित संविधानसभा भवन नयाँ बानेश्वरमा सम्मेलन बोलाइएको थियो । सम्मेलनमा सहभागी हुने दल र प्रतिनिधिको टुंगो लागे पनि एजेन्डामा कुरा नमिल्दा सम्मेलन रोकिएको हो । एजेन्डा तय गर्न मंगलबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको चार दलको बैठक पनि निष्कषविहीन भएपछि गोलमेच सम्मेलन गोलमाल भएको हो ।
नेकपा–माओवादीले राजनीतिक सम्मेलनमा संविधानको अन्तर्वस्तु मात्रै नभई शान्तिप्रक्रियासँग जोडिएका विषयलाई पनि एजेन्डा बनाउनुपर्ने माग राखेको थियो । यस्तै नेकपा–माओवादीले संविधानका अन्तर्वस्तुमा मात्रै छलफल गर्नेभन्दा पनि शान्तिप्रक्रियाका समग्र विषय, भारतसँगको पिडिए तथा पिटिए सम्झौता र संविधानको स्वामित्व सबैले लिन सक्नेगरी सहभागिताका आधारमा छलफल गर्नुपर्ने भनेपछि वातावरण बिथोलिएको थियो । चार दलको बैठकलगत्तै बसेको माओवादीसहितको ३३ दलीय मोर्चाले सम्मेलनमा भाग नलिने निर्णय गरेपछि दलहरुको प्रयास भताभुंग भएको हो । यद्दपि सम्मेलनमा सहभागी हुन अन्य दलका नेताहरु भने संविधानसभा भवन नयाँ बानेश्वर पुगेर फर्किनुपरेको थियो ।  अन्तिम तयारी गर्ने भनेर बसेको छलफलमा प्रधानमन्त्री सुशील कोइरालालगायत एमाले तथा एमाओवादीले बेवास्ता गरेको हुँदा छलफलमा सहभागी नभएको आरोप नेकपा–माओवादीको छ ।

दु:ख लाग्यो प्रधानमन्त्रीलाई  : अन्योलबीच प्रधानमन्त्री सुशील कोइरालासहित मुख्य दलका नेताहरु बिहान ८ बजेदेखि नै संविधानसभा भवन छिर्न सुरु गरिसकेका थिए । बालुवाटारमा कुरा नमिलेपछि माओवादी नेतृत्वको मोर्चा नेकपा–माओवादी पार्टीको कार्यालय बुद्धनगर पुगे । यता बानेश्वरमा प्रधानमन्त्री कोइरालाले ९ बजेतिर आफूलाई नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले ४५ मिनेटभित्र आउने जानकारी गराएको अरुलाई सुनाउँदै थिए । वैद्य माओवादी नेतृत्वको मोर्चा भने एजेन्डै टुंगो नभएको भन्दै नजाने निर्णय गर्न पार्टी कार्यालयमा बैठक बसिरहेको थियो ।

प्रधानमन्त्री कोइरालाले फेरि फोन गरेर सोधे र सुनाए, ‘उहाँहरु १५ मिनेटमा आउने रे !’ २०/२५ मिनेटपछि नआउने खबर पाएपछि कोइरालाले फोनमै वैद्यलाई भने,‘ तपाईंहरु नआउने भए हामीलाई किन कुराएको ? हामीले तपाईंहरुकै लागि भनेर यत्रो तयारी ग-यौँ । तपाईहरु नआउँदा जनतामा नकारात्मक सन्देश जान्छ । यही आउनुस् सबै विषय यही बसेर छलफल गरौँ कुरा राख्नेस् ।’ तर, उताबाट नआउने भनेपछि फेरि प्रधानमन्त्री कोइरालाले भने, तपाईहरु नआउँदा मलाई एकदमै दुःख लागेको छ ।’ गोलो बनाएर राखिएको मेच र ब्यानर त्यत्तिकै छोडेर मुख्य दलका नेताहरु लागे । बुद्धनगरमा बसेको नेकपा–माओवादीको पदाधिकारी बैठकले मंलबारको सम्मेलनमा नजाने निर्णय गर्यो ।

दोषजति अरुलाई :  गोलमेच सम्मेलन स्थगित हुनुमा दुवै पक्षले एकले अर्कोलाई दोष लगाएका छन् । सम्मेलन स्थगित भएपछि संविधानसभा भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेकपा–माओवादी संविधान लेखन प्रक्रियामा आउन तयार नभएको टिप्पणी गरे । यस्तै कानुनमन्त्री नरहरि आचार्यले पनि नेकपा-माओवादीले ठूलो अवसर गुमाएको प्रतिक्रिया दिए । यस्तै एमालेका अध्यक्ष केपी ओलीले माओवादी सहभागिता नभएका कारण सम्मेलन स्थगित भएको बताए ।

यता नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले सरकार आफूहरुका माग पूरा गर्न देखाउन मात्रै सम्मेलनको तयारी गरेको भन्दै सहभागी नहुने निर्णय भएको बताए । उनले भने, ‘हामीले सार्थक सम्मेलन चाहेका थियौँ, तर विनाएजेन्डा बस्नुको अर्थ छैन ।’ ‘हामीले शान्तिप्रक्रियाका विषय, राष्ट्रिय महत्त्वका मुद्दा र संविधानका अन्तर्वस्तुमा छलफल गर्ने गरेर एजेन्डा तयार गर्न भन्यौँ, तर कांग्रेस-एमालेका साथीहरुले मान्नुभएन विनाएजेन्डा किन छलफलमा बस्ने भनेर आजका लागि नजाने निर्णय गर्यौं,’ उपाध्यक्ष गजुरेलले भने ।