बिहिबार, चैत्र १५, २०८०

एएफसी अण्डर १६ बाट नेपाल बाहिरियो

काठमाडौं भाद्र २६,   थाईल्याण्डमा जारी एएफसी अण्डर १६ च्याम्पियनसिप फुटवलको लिग चरणबाटै बाहिरिएको छ । योसँगै अण्डर १७ बिश्वकप फुटवल खेल्ने नेपालको सपना समेत यो बर्ष समाप्त भएको छ । पहिलो खेलमा डिफेण्डिङ्ग च्याम्पियन उज्वेकिस्तानलाई बराबरीमा रोक्दै कुवेतलाई २–१ ले हराएर हौसिएको नेपाल लिग चरणको अन्तिम खेलमा आज उत्तर कोरियासँग पराजित हुन पुग्यो । बराबरीमात्र पनि क्वाटरफाईनल प्रवेशका लागि पर्याप्त भएपनि नेपाल उत्तर कोरियासँग ४–१ को लज्जास्पद हार ब्यहोर्न बाध्य भयो । पांचै गोल पहिलो हाफमा सम्भव भएका थिए । नेपालका लागि एकमात्र गोल २६ औं मिनेटमा अनन्त तामाङ्गले गरेका थिए । खेलको १२ औं मिनेटमा कप्तान बिमल घर्ती मगरले वन भर्सेस वनमा गोल गर्न नसकेपछि खेल यु टर्न हुन पुगेको थियो ।

nepalFootball

खेलको चौथो मिनेटमा नै कमजोर डिफेन्सको फाईदा उठाउदै उत्तर कोरियाले अग्रता लिएको थियो । २३, २७ र पहिलो हाफको ईन्जुरी समयमा थप गोल गर्दै उत्तरकोरियाले पहिलो हाफमै ४–१ को अग्रता लिएको थियो । पहिलो हाफको तुलनामा दोस्रो हाफमा केही सुधारिएको खेल प्रदर्शन गरेपनि नेपालले गोल गर्न भने सकेन । जीतपछि उत्तर कोरिया ६ अंकका साथ समुह सीको दोस्रो स्थानमा रहदै क्वाटरफाईनल प्रवेश गरेको छ भने ४ अंकमा तेस्रो स्थानमा रहेको नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । आफ्नो अन्तिम खेलमा कुवेतलाई ४–२ ले पराजित गरेको उज्वेकिस्तान ७ अंकमा समुह विजेता बन्दै अन्तिम ८ मा स्थान बनाउन सफल भयो ।