मङ्लबार, बैशाख ११, २०८१

आजबाट पचली भैरवको जात्रा सुरु

काठमाडौ असोज १३, पचलीभैरवनाथको जात्रा राजधानीका तल्लो टोलहरूमा सोमबार राति हुँदैछ । जात्राको अघिल्लो दिन पचलीभैरवको मूर्ति भीमसेनस्थानस्थित थकुजुजुको घरबाट बाजागासहित टेकु दोभानसँगैको पचली पीठमा पुर्‍याउने परम्परा छ ।

आइतबार राति पीठमा राखेपछि मूर्तिको घाँटीमा मुन्डमाला, नागमाला, कम्मरमा बाघ र हात्तीको छालाले बेरिने चलन छ । त्यस्तै मूर्तिको कानमा कुण्डल र सुनको मोलम्मा लगाइएको नृत्य मुद्रामा ६ हातको भैरवमूर्तिसहित तामाको ठूलो घ्याम्पोमा श्रद्धालु भक्तजनबाट पूजा अर्चना गरिन्छ । त्यसपछि जाँड, रक्सी, फूल, माछा आदि भर्ने काम गर्नुका साथै थकुजुजुद्वारा मासाँहुति यज्ञ गरिनेछ । यसअघि मूर्तिलाई क्वहिटीमा चित्रकारको घरमा रङरोगन गरी आँखामा दृष्टि खोल्ने काम गरिसकेपछि थकुजुजुको घरमा पुर्‍याइनेछ ।

पचली पीठबाट सोमबार राति पचलीभैरवलाई अजिमासहित तल्लो टोलहरू इनाखा, गोफल, लगन, जैसीदेवल, चिकंमुगल, मरुटोल हुँदै सांस्कृतिक बाजागाजासहित जात्रा गर्दै हनुमानढोका दरबार पुर्‍याइनेछ । त्यहाँ सरकारका तर्फबाट एउटा राँगो बलि चढाई पूजा गरिने परम्परा छ । यस अवसरमा कुमारी घरबाट जीवित देवी कुमारीलाई पनि त्यहाँ उपस्थित गराइने चलन छ । त्यसपछि ब्रह्म टोलस्थित श्वेतभैरवको तीनपल्ट परिक्रमा गराएपछि यँङगाल स्थित पालाको घरमा पुर्‍याएपछि जात्रा सम्पन्न हुनेछ ।