शुक्रबार, चैत्र १६, २०८०

विश्वविद्यालयका पाँच डीनसहित १४ जनालाई निलम्बन गर्न निर्देशन

काठमाडौँ श्रावण २०, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पाँच डीनसहित १४ जनालाई तत्काल निलम्बन गर्न उपकुलपतिलाई निर्देशन दिएको छ । आयोगले आज सो विश्वविद्यालयका उपकुलपतिलाई पत्र लेखी अनियमिततामा सङ्लग्नलाई M_universityनिलम्बन गरी आयोगमा उपस्थित गराइदिन भनेको छ ।

भौतिक पूर्वाधार निर्माण, खरिद प्रक्रिया, शिक्षक तथा कर्मचारी नियुक्ति र विश्वविद्यालयको कोष सञ्चालनलगायतमा अनियमितता गरेको भन्दै मानविकी तथा सामाजिक सङ्कायका डीन पीताम्बर ढकाल, व्यवस्थापन सङ्कायका डीन डा मस्तबहादुर गरम्जा, विज्ञान तथा प्रविधि सङ्कायका डीन डा केशरसिंह राना, इन्जिनियरिङ सङ्कायका डीन प्रा रामचन्द्र अर्याल, शिक्षा विज्ञान सङ्कायका डीन लालमणि आचार्यलाई निलम्बन गर्न निर्देशन दिएको हो ।

यस्तै, लेखा नियन्त्रक कमल केसी, सहायक प्रशासक गगनसिंह बोहोरा, उपप्राध्यापक गणेशबहादुर रावत, अनुगमन अधिकृत पारसराम गिरि, वरिष्ठ सहायकत्रय गणेशबहादुर केसी, जीवनकुमार थापा र सत्या थापा उपकुलपतिका निजी सहायक उपप्राध्यापक सुधन गौली, इन्जिनियर महेश शर्मासमेत १४ जनाले सरकारी स्रोत साधनको दुरूपयोग गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।  उनीहरू पदमा बहाल रहँदा अनुसन्धानमा बाधा पु¥याउनसक्ने र आफूविरुद्धको प्रमाणसमेत नष्ट गर्ने भएकाले तत्काल निलम्बन गर्न आयोगको ऐन, २०४८ को दफा १९ बमोजिम पत्र लेखिएको प्रवक्ता श्रीधर सापकोटाले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।