बुधबार, बैशाख १२, २०८१

बालकको हत्या गरेको प्रमाणित भएपछि साउदीमा नेपाली महिलालाई मृत्युदण्ड

रियाद -दुईवर्षे एक बालकको घाँटी काटी हत्या गरेको आरोपमा दोषी प्रमाणित भएकी एक नेपाली घरेलु कामदार महिलालाई सोमबार टाउको काटेर मत्युदण्ड दिइएको त्यहाँको गृह मन्त्रालयले जानकारी दिएको छ । यी घरेलु कामदार महिलाले साउदी शिशु ओसामा बिन मइद अल–एन्जीलाई चक्कुले घाँटी काटेर मारेको आरोपमा निजलाई दोषी पाइएको मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरी जानकारी दियो भनी सरकारी समाचार संस्था एसपीएले उल्लेख गरेको छ ।
मन्त्रालयले यस अपराधका विषयमा थप विस्तृत विवरण दिएको छैन । यी घरेलु कामदार महिलालाई अरार नगरमा मृत्युदण्ड दिइएको हो र यस वर्ष निकै परम्परावादी मानिने यस अधिराज्यमा मृत्युदण्ड दिइएका व्यक्तिको संख्या १६ पुगेको छ । सन् २०१३ मा साउदी अरेबियामा ७८ व्यक्तिलाई मृत्युदण्ड दिइएको थियो । गत वर्ष मानव अधिकारका विषयमा संयुक्त राष्ट्रसंघको उच्चायोगले सन् २०११ पछि यस मुलुकमा मृत्युदण्डको फैसला बढ्न थालेको भनी आलोचना गरेको थियो । मानवअधिकारको क्षेत्रमा कार्यरत संस्था एम्नेस्टी इन्टरनेसनलले सन् २०१० मा २७ व्यक्तिलाई मृत्युदण्ड दिइएको र सन् २०११ मा यो सङ्ख्या ८२ पुगेको र यसमा २८ विदेशी नागरिक परेको जानकारी दिएको थियो ।

सन् २०१२ मा मृत्युदण्ड दिइएका व्यक्तिको सङ्ख्या ७९ मा झरेको थियो र त्यसमा २७ विदेशी नागरिक थिए । साउदी अरेबियामा इस्लामी सरिया कानुन लागू हुन्छ र यहाँ बलात्कार, हत्या, स्वधर्म त्याग, सशस्त्र डकैती तथा लागु पदार्थको गैरकानुनी बेचबिखनमा दोषी प्रमाणित भएमा मृत्युदण्ड दिइन्छ । एएफपी