शुक्रबार, चैत्र १६, २०८०

आजदेखि विश्व स्तनपान सप्ताह सुरु,शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको संख्या ३५ प्रतिशतमात्रै

काठमाडौँ श्रावण १६ , नेपाल लगायत विश्वभर आजदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा आज राजधानी लगायत मोफसलका सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले छुट्टाछुट्टै जनचेतनामूलक कार्यक्रम गदैछन् । जन्मेको ६ महिनासम्म बच्चालाई आमाको दूध बारम्बार खुवाउनुपर्छ भन्ने सन्देश   स्तनपान    प्रबाह गर्न यो दिवस मनाउने गरिन्छ । सुत्केरी हुने बित्तिकै आमाको पहेँलो बिगौती दूध निकै पोषिलो र स्वस्थ्यकर हुन्छ ।बच्चालाई दुईवर्ष नपुग्जेल पुरक आहाराका साथमा आमाको दूध पनि खुवाइरहनुपर्छ । आमाको दुधको विकल्पमा कुनैपनि खानेकुराले काम गर्दैनन् ।

नेपालमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको संख्या ३५ प्रतिशतको हाराहारीमा मात्रै छ । यस्तै ६ महिनासम्म पूर्ण स्तनपानको अवसर ५३ प्रतिशत बालबालिकाले मात्रै पाइरहेका छन् । त्यस्तै शारीरिक सौन्दर्य बिग्रने डरले र बच्चाको छिटो विकास हुने भ्रमले महिलाहरुले शिशुलाई स्तनपान नगराउने गर्दा बालमृत्युको जोखिम बढिरहेको चिकित्सकहरुको भनाइ छ ।  तर शिशुलाई नियमित दूध खुवाउने महिलामा पहिलो ६ महिनामा गर्भवती हुने डर कम हुने तथा सुत्केरी भएपछि छिटो निको हुने, गर्भवती हुनुभन्दा अगाडिकै शारीरिक अवस्थामा फर्किन मद्दत गर्ने, सुत्केरी भएपछि हुने डिप्रेसन तथा डिम्बाशय र स्तन क्यान्सरको जोखिम कम हुने जस्ता फाइदालाइ नजर अन्दाज गर्दै शिशुलाई स्तनपान नगराउने प्रवृतिले अनेकन समस्या सिर्जना गरिरहेको चिकित्सकहरुको अभिमत रहेको छ ।