भक्तपुर भाद्र ९, दधिकोट गाविस– ५ स्थित का हरिबोल न्यौपानेको घरमा गएराति चोरी गरेका छन् । घरको माथिल्लो तल्लाको खुल्ला रहेको झ्यालबाट मध्यराति प्रवेश गरेका नकाबधारी समूहले हतियार देखाएर घरका परिवारलाई नियन्त्रणमा लिई रु दुई लाखभन्दा बढीको धनमाल चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।
पीडितका अनुसार चोरले न्यौपानेको घरबाट साढे तीन तोला सुनका गहना, पाँच हजार नगद र एकथान मोबाइल चोरी गरेका छन् । एकसाता यता जिल्लामा व्यापक चोरीका घटना वृद्धि भएको छ । प्रहरीका अनुसार भदौ लागेपछि मात्रै जिल्ला १५ भन्दा बढी चोरीका घटना घटेका छन् । रातिमात्रै नभई दिउँसो हुने चोरीसमेत व्यापक बढेको छ । दुईदिन अघि बालकोट गाविसमा दिउँसो तीनघण्टाको अन्तरालमा पाँच वटा घरमा एकैदिन चोरी भएको छ । बालकोट गाविस– १ का रघुशङ्कर कार्की, लक्ष्मी विष्ट, बालकोट– ५ बृहस्पति मार्गका मोहनकृष्ण श्रेष्ठ, मध्यपुर– १५ गठ्ठाघर साँगबारीका पुष्पा खड्का र सागँबारी कै चन्द्रमान प्याँठको घरबाट सुनको गरगहना र नगद चोरी भएको प्रहरीले जनाएको छ।