बुधबार, बैशाख १२, २०८१

माओवादीमा विशेष महाधिवेशन गर्ने प्रस्ताव

काठमाडौँ अषाढ २८, नेकपा–माओवादीमा कार्यदिशाको विषयमा विवाद बढ्दै गएपछि सो पार्टीले एक वर्षभित्र विशेष महाधिवेशन गर्ने प्रस्ताव पेस गरेको छ । यही असार १८ गतेदेखि जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष मोहन वैद्यले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा असहमति जनाउँदै सचिव नेत्रविक्रम चन्दले फरक प्रस्ताव पेस cpn-maoist20गरेपछि विवाद समाधानका लागि विशेष महाधिवेशन बोलाउने तयारी भएको हो । यसअघिको केन्द्रीय समितिको बैठकमा अध्यक्ष वैद्यले प्रस्तुत गरेको ‘जनयुद्धको जगमा जनविद्रोह’ को कार्यदिशासहितको प्रस्तावमा असहमति जनाउँदै सचिव चन्दले ‘जनयुद्धको निरन्तरतामा जनविद्रोह’को कार्यदिशाको प्रस्ताव पेस गरेपछि पार्टीमा वैचारिक विवाद बढेको थियो ।

केन्द्रीय समितको बैठकको निरन्तरतामै आजदेखि सुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकमा यसअघिका दुवै प्रस्तावलाई थाती राख्दै अध्यक्ष वैद्यले एक वर्षभित्र महाधिवेशनमा जाने छुट्टै तेस्रो प्रस्ताव पेस गर्नुभएको छ । तीनवटै प्रस्ताव बैठकका सहभागीलाई दिइए पनि पछिल्लो प्रस्तावमा मात्रै केन्द्रित भएर धारणा राख्न केन्द्रीय सदस्य र सल्लाहकारलाई निर्देशन दिइएको छ ।

अध्यक्ष वैद्यले प्रस्तुत गरेको तेस्रो प्रस्तावमा तत्काललाई महाधिवेशनको कार्यादेशअनुरुप आन्दोलनका कार्यक्रमलाई तीव्र बनाउँदै लैजाने र महाधिवेशनमा मात्रै फरक मतबारे छलफल गर्ने उल्लेख छ । आजको विस्तारित बैठकमा प्रस्ताव मात्रै पेस गरिएकामा आइतबारदेखि बैठकमा प्रस्तावबारे केन्द्रीय सदस्य र सल्लाहकारले धारणा राख्ने क्रम सुरु हुनेछ । चारवर्षे कार्यकालका लागि २०६९ पुस २५ देखि माघ ३ गतेसम्म काठमाडौँमा महाधिवेशन गरेको माओवादी डेढ वर्ष नपुग्दै फेरि महाधिवेशनको तयारीमा लागेको छ ।