बुधबार, बैशाख १२, २०८१

जागिरको प्रलोभनमा रकम असुल्ने पक्राउ

भैरहवा अषाढ२५, बेरोजगार युवालाई स्थानीय युनिभर्सल साइन्सेज अफ मेडिकल कलेजमा जागिर लगाइदिने भन्दै रकम असुलेर नक्कली नियुक्ति पत्र बाँडेका एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । युवालाई ठग्न उनले आफूलाई कलेजको चिकित्सक भएको बताएका थिए । प्रहरीका अनुसार pakrauआनन्दवन-२ मणिग्रामस्थित शेष मेडिकल नामको औषधी पसलका सञ्चालक ४२ वषर्ीय झिनक धुनिया पक्राउ परेका हुन् । उनले आफूलाई डाक्टर शेष भन्दै चिनाउँथे । ठगीमा संलग्न उनका साथी नवलपरासीको सुक्रौली-२ का राममिलन सैथावार फरार छन् । उनीहरूले कलेजको नक्कली लेटर प्याड र छाप तयार पारी युवालाई नक्कली नियुक्ति पत्र थमाएको खवर कान्तिपुर दैनिकमा प्रकाशित रहेको छ।

आनन्दवनकै सागर केसी, दीपेन्द्र गुरुङ, सुष्मिता चौधरी, बालकृष्ण पौडेललगायतसँग उनले १ लाख ५० हजारदेखि २ लाखका दरले रकम असुलेको प्रहरीले जनाएको छ । कलेजको लेखा शाखाका नाममा नियुक्ति दिएका थिए । अंग्रेजीमा लेखिएको पत्रमा १६ हजार ८ सय ७५ रुपैयाँ तलब तोकिएको छ । त्यसबारेमा जानकारी पाएपछि कलेज प्रशासनले पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरीमा निवेदन दिएको थियो । उनीहरूबाट ठगिनेको संख्या यकिन छैन ।

‘मलाई नोकरीमा लगाइदिने भन्दै झिनकले ६ महिनाअघि १ लाख ५० हजार लिएका थिए,’ पीडित बालकृष्णले भने, ‘आफू डाक्टर भएको विश्वास दिलाउन साँझ ५ बजेमात्र पसल खोल्थे ।’ उनका अनुसार रकम लिएको धेरै महिना बितिसक्दा पनि धुनियाले स्थायी पत्र दिएका थिएनन् । पछिल्लो पटक सोधखोज गर्दा उनले असार ११ मा अन्तर्वार्ता दिन कलेजमा बोलाएका थिए । कलेज पुग्दा उनी त्यहाँ थिएनन् । फोन गर्दा उनले नियुक्तिपत्र लिन भैरहवाको नारायणस्थानस्थित साथीको एक पसलमा बोलाएपछि शंका उत्पन्न भएको थियो । युवाहरू कलेजमा पुगेपछि उनीहरूको धन्दा सार्वजनिक भएको हो । पीडितले उनलाई राति ११ बजे घरमा पुगेर हप्कीदप्की गरेपछि केहीलाई पैसा फिर्ता गरेका थिए । कलेजका कर्मचारी बताउने राममिलन सिंह नामको व्यक्तिले आफूलाई फसाएको धुनियाको दाबी छ ।