बिहिबार, बैशाख १३, २०८१

कांग्रेसको तेह्रौं महाधिवेशन अगामी वैशाखमा

काठमाडौं आषाढ ३१, कांग्रेसले तेह्रौं महाधिवेशन अगामी वैशाखमा गर्ने भएको छ। कांग्रेस केन्द्रीय समितिको चारवर्षे कार्यकाल आगामी असोज ४ गते सकिन लागेपछि एक वर्ष म्याद थप गरी वैशाखमा महाधिवेशन गर्ने पार्टीको तयारी छ। पार्टी विधानमा केन्द्रीय समितिको म्याद बढीमा एक वर्ष थप गर्न सकिने प्रावधान छ। एक वर्ष म्याद थप गरे पनि महाधिवेशन वैशाखमै गर्ने निचोडमा कांग्रेस पुगेको हो। अब बस्ने केन्द्रीय समिति बैठकले एक वर्ष म्याद थप्ने भएको छ। असोज ४ गते केन्द्रीय कार्यसमितिको म्याद सकिन्छु, महामन्त्री कृष्णप्रसाद सिटौलाले भने, विधानमा एक वर्ष म्याद थप्न पाउने व्यवस्था भएकाले अब बस्ने केन्द्रीय समितिले म्याद थप गरेर अधिवेशन खुला गने खवर आजको अनपूर्णपोष्टमा गोविन्द परियारको वाईलाईनमा समाचार प्रकाशित रहेको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइराला उपचारका लागि अमेरिकामा रहेकाले औपचारिक निर्णय नगरे पनि अब बस्ने केन्द्रीय समिति बैठकमा कार्यसमितिको म्याद थप गरी महाधिवेशन मिति तोक्ने प्रस्ताव पेस हुने भएको छ।  म्याद थप्ने निश्चित छ तर महाधिवेशन कहिले गर्ने भन्ने टुंगो लागिसकेको छैनु, सिटौलाले भने, ुअसार, साउन र भदौमा वर्षा हुने भएकाले वैशाखमै गर्दा उपयुक्त होला भन्‍ने मत छ।

अघिल्लो साता बसेको पदाधिकारी बैठकले केन्द्रीय कार्यसमितिको म्याद थप गरी महाधिवेशन प्रक्रिया खुला गर्ने सहमति गरेको थियो। बैठकमा सभापति कोइराला स्वदेश फर्केपछि बस्ने केन्द्रीय समितिमा म्याद थप र अधिवेशन खुला गर्ने प्रस्ताव लैजाने सहमति पनि भएको थियो।

कांग्रेस विधानमा केन्द्रीय अधिवेशन हुनुभन्दा कम्तीमा ६ महिनाअघि गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशन खुला गर्नुपर्ने उल्लेख छ। कांग्रेसले अधिवेशनका लागि सक्रिय सदस्यता वितरण समेत खुला गरेको छैन। चार वर्षअघि काठमाडौंमा भएको बाह्रौं महाधिवेशनमा झन्डै चार लाख क्रियाशील सदस्य थिए। कांग्रेसले क्रियाशील सदस्यता यसपटक बढ्ने अनुमान गरेको छ।

कांग्रेसमा अगामी नेतृत्वका लागि वरिष्ठ नेता शेरबहादुर देउवा मुख्य आकांक्षी देखिएका छन्। अघिल्लो महाधिवेशनमा उनी कोइरालासँग करिब अढाइ सय मतअन्तरले पराजित भएका थिए। संस्थापन पक्षबाट भने सभापतिको उम्मेदवार को हुने भन्ने निश्चित भएको छैन। कोइरालाले अघिल्लो महाधिवेशनमा आफू सभापतिमा पहिलो र अन्तिम उम्मेदवार हुने भन्दै प्रचार गरेका थिए। यसपटक उनी नउठे उपसभापति रामचन्द्र पौडेल उम्मेदवार बन्ने सम्भावना छ।

कांग्रेस विधानमा ८५ सदस्यीय केन्द्रीय समितिका लागि सभापति, महामन्त्री, कोषाध्यक्ष, २५ खुला सदस्य, अञ्चलबाट एकएक जना सदस्य, समावेशीतर्फ महिला ६ जना निर्वाचित र एक मनोनीत, मधेसीतर्फ दुई महिलासहित पाँच निर्वाचित र एक मनोनीत, मुस्लिमतर्फ एक निर्वाचित र एक मनोनीत, आदिवासी जनजातितर्फ दुई महिलासहित पाँच निर्वाचित र एक मनोनीत तथा दलिततर्फ दुई महिलासहित पाँच निर्वाचित र एक मनोनीत हुने व्यवस्था छ। सभापतिको प्रस्तावमा केन्द्रीय समितिले उपसभापति, एक महामन्त्री, सहमहामन्त्री र प्रवक्ता मनोनीत गर्ने व्यवस्था छ।