शुक्रबार, बैशाख ७, २०८१

ऐतिहासिक भण्डारखाल विकृतिको अखडा

काठमाडौँ श्रावण ४, पूर्णप्रसाद मिश्र/  विश्व सम्पदा सूचीमा सूचीकृत लिच्छवीकालदेखिको ऐतिहासिक महत्व बोकेको पशुपति गौशालास्थित भण्डारखाल संरक्षणको अभावमा विभिन्न विकृतिको अखडा बन्न पुगेको छ । पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषको आयोजनामा भण्डारखाल क्षेत्रको उत्खनन् गर्दासमेत यो ऐतिहासिकस्थल रहेको पुष्ठि भएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले बताउनुभयो । भण्डारखाल क्षेत्र पशुपति क्षेत्र विकास कोषको अधीनमा रहेकाले patan-3-copy-copy_20140327104416त्यहाँको वातावरण सुधार गर्ने जिम्मेवारी पनि कोषकै भएको पनि महानिर्देशक दाहालले बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोषको मातहतमा रहेको १३४ रोपनी हरियो जङ्गलको यो क्षेत्र संरक्षणको अभावमा दिनानुदिन उजाडिँदै गएको छ । कोषले ऐतिहासिक धरोहरको यस क्षेत्रलाई रेखदेख गर्नका लागि एक जना पालेसमेत नखटाउँदा भण्डारखाल क्षेत्र जसले जे गरे पनि हुने अवस्थामा पुगेको पशुपतिका स्थानीयवासी महेश्वर श्रेष्ठले गुनासो गर्नुभयो । लिच्छवीकालमा दरबार र ठूला मन्दिरका आसपासमा भण्डारखालको व्यवस्था गर्ने परम्परा रहेकाले पशुपतिको नजिक यो भण्डारखालको स्थापना गरिएको संस्कृतिविद् एवम् कोषका सदस्य सचिव डा गोविन्द टण्डनले बताउनुभयो । कोषको अधीनमा रहको भण्डारखाल अहिले अव्यवस्थित भएको स्वीकार्दै सदस्यसचिव टण्डन यसलाई उद्यान र फूल बगैँचा बनाएर व्यवस्थित गर्न लागिएको बताउनुहुन्छ ।

यो भण्डारखाललाई रणबहादुर शाह राजा भएका बेला अझ विस्तार गरिएको अभिलेखसमेत छ । काठमाडौँमा बस्ती विस्तारसँगै यस स्थललाई जङ्गल संरक्षण क्षेत्र र पशुपतिको पूजाका लागि आवश्यक फूल उत्पादन गर्ने केन्द्र बनाउने योजना धेरै पहिले बने पनि त्यो अझै सफल हुन नसकेको सदस्य सचिव टण्डनले स्वीकार गर्नुभयो ।

लिच्छवीकालीन यो ऐतिहासिक स्थलको असार २१ गतेदेखि बेलायतस्थित दुरहाम विश्वविद्यालय, पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषको संयुक्त आयोजनामा उत्खनन् कार्य भइरहेको छ । प्रारम्भिक उत्खनन् कार्यबाट उत्तर लिच्छवीकालीन समयभन्दा अघिको पोखरी र पोखरीमा जाने सिँढीसमेत फेला परेको पनि विभागका महानिर्देशक दाहालले जानकारी दिनुभयो । साउन १४ गतेसम्म चल्ने उत्खनन्बाट लिच्छवीकालअघिकै प्रमाणिक वस्तु फेला पर्ने विश्वास गरिएको पनि महानिर्देशक दाहालले बताउनुभयो । उत्खनन् कार्यमा दुरहाम विश्वविद्यालयका उपकुलपति प्रा रोविन कनिङघमसहितको छ सदस्यीय टोली, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक कोषप्रसाद आचार्यसहितको टोली र पुरातत्व विभागका रामबहादुर कुँवर, मञ्जुसिंह भण्डारी, मोहनसिंह लामा र विष्णु पाठकलगायतका अधिकारीहरूको सहभागिता रहेको छ ।Vhandarkhal

प्रारम्भिक उत्खनन्बाट लिच्छवीकालभन्दा अघिको माटोका भाँडा र लिपिसमेत फेला परेको छ । पशुपतिको भण्डारखाल ऐतिहासिक एवम् पुरातात्विक बस्तुहरूको नै भण्डार हुन सक्ने स्थानीयवासी एवम् कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्य बताउनुहुन्छ । यस किसिमको विशेषता बोकेको भण्डारखालको यो खाली र अव्यवस्थित जग्गालाई व्यवस्थित गरी गौचरण निर्माण गर्ने प्रस्ताव कोषका पूर्व सदस्य सचिव सुशील नाहटासमक्ष राख्दा गौचरणका लागि नदिएको पशुपति गौशाला धर्मशालाका अध्यक्ष प्रदीप गोयलले बताउनुभयो ।  “पशुपतिजस्तो राष्ट्रदेव रहेको धार्मिक क्षेत्रमा पालिएका गाईका लागि व्यवस्थित गौचरण बनाई यस भण्डारखालको सदुपयोग गरेर व्यवस्थित गर्न खोजेका थियौँ”, अध्यक्ष गोयलले  भन्नुभयो । पुरातात्विक वस्तुको संरक्षण गर्दै गौचरण बनाउने हाम्रो योजना थियो तर हामीलाई नदिए पनि यो ऐतिहासिक स्थललाई यो रूपमा बेवारिसे भने छोडिनुहुँदैन भण्डारखालसँगै जोडिएको गौशालाका अध्यक्ष गोयलले भन्नुभयो । भण्डारखालमा पाइलट विवेक राणाले सडकमा छोडिएका बिरामी गाईगोरुलाई जम्मा पारेर उपचार गरी आश्रय दिँदै आएको गाईगोरुको उपचारमा संलग्न अहेब टीकाबहादुर थापाले बताउनुभयो । “कोषको पालेसमेत यहाँ नबस्ने गरेकाले जो जतिखेर पनि यहाँ छिर्छन् र जे जस्ता क्रियाकलाप पनि गर्न सक्छन् कसैको कुनै रोकतोक छैन”, विकृतिका प्रत्यक्षदर्शी रहँदै आउनुभएका थापाले भन्नुभयो ।

शनिबार र सरकारी बिदाका दिन विद्यार्थीहरू फुटबल, क्रिकेट खेल्न जम्मा हुने भण्डारखालमा राति भने युवाजोडीहरू छिर्ने गरेको र सिफल चौरपट्टिबाट देखिने भागमा यौन क्रियाकलाप खुलेआम हुने गरे पनि यसतर्फ कसैको ध्यान नगएको स्थानीय राम डङ्गोलले बताउनुभयो । साथै लागुपदार्थ दुव्र्यसनीहरूका लागि पनि भण्डारखाल लोकप्रिय अखडा बन्न गएको छ । कोषका सदस्यसचिव टण्डनले यस्ता गलत क्रियाकलाप तत्कालै रोकिने प्रतिबद्धतासमेत जनाउनुभएको छ । रासस

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु