काठमाडौँ आषाढ १७, जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको पूर्ण जीवनीमा आधारित चलचित्रको निर्माण गरिने भएको छ । विपी चिन्तन प्रतिष्ठानको अगुवाइमा करिब रु ८० लाखको लागतमा निर्माण गरिने उक्त चलचित्रको कथा लेखन दीपेन्द्र दाहालले गर्नु भएको र कथा लेखन कार्य सम्पन्न भइसकेको बताउँदै प्रतिष्ठानले चलचित्रको छायाङ्कन आगामी शुक्रबारदेखि सुरु गरिने जनाएको छ ।
त्यस्तै चलचित्रको छायाङ्कन विपी कोइरालाको पुख्र्यौली थलो दुम्जाबाट सुरु गर्दै उहाँको जीवनी एवम् राजनीतिक यात्राका महत्वपूर्ण स्थल मानिने विराटनगर, काठमाडौँ, भारतका विभिन्न स्थानलमा भएका महत्वपूर्ण पक्षलाई समेट्दै प्रस्तुत चलचित्रमा विपी जीवनीलाइ ८१ वटा दृश्यमा विभाजन गरिएको प्रतिष्ठानका महासचिव देवेन्द्रप्रकाश पौडेलले जानकारी दिनुभएको छ ।
महासचिव पौडेलका अनुसार चलचित्रमा पूर्व राजासहित नेपाली राजनीतिमा विपीका सहयात्री एवम् सहयोगी राजनेता सुवर्णशंशेर, गणेशमान सिंह हुँदै गिरिजाप्रसाद कोइरालादेखि वर्तमान प्रधानमन्त्री सुशील कोइरालासम्मका घटनाक्रमलाइ समावेस गरिएको बताए ।