काठमाडौँ आषाढ २५, नेकपा एमालेको राजधानीम जारी नवौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा पार्टीको केन्द्रीय निर्वाचन आयोगप्रति पूर्ण विश्वास रहेको नदेखिएपछि संवैधानिक निकाय निर्वाचन आयोगको पनि सहयोग लिइने भएको छ । गत आठौँ महाधिवेशनबाट सोमनाथ अधिकारी प्यासीको अध्यक्षतामा गठित १३ सदस्यीय केन्द्रीय निर्वाचन आयोगमा रहेका पदाधिकारी पनि समूहगत गुट/उपगुट प्रभावमा पर्नसक्ने भएकाले अध्यक्षका प्रत्याशीहरू माधवकुमार नेपाल र केपी शर्मा ओली दुवै समूहको सहमतिका निर्वाचन आयोगलाई त्यस्तो आग्रह गरिएको हो ।
विद्युतीय मतदान गर्ने यसअघिको निर्णयमा विवाद भएपछि मतपत्रबाट निर्वाचन गर्ने पछिल्लो निर्णयलाई कार्यान्वयन गराउने क्रममा राज्यको निर्वाचन आयोगलाई आमन्त्रण गरिएको पार्टीको केन्द्रीय निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलले जानकारी दिनुभयो । पोखरेलले निर्वाचन गराउन आयोगबाट ११ जना निर्वाचन कानुन अधिकृत र आवश्यक सङ्ख्यामा गणकहरू आउने जानकारी दिनुभयो । पार्टीको आयोगका वर्तमान पदाधिकारीमध्ये अध्यक्ष सोमनाथ अधिकारी प्यासी, सदस्यहरू महेश नेपाल, रामप्रसाद श्रेष्ठ, लालुबाबु यादव र पोखरेलले कुनै पदमा उम्मेदवारी नदिने भएकाले उहाँहरू निर्वाचनको प्रक्रियामा सहभागी हुनुहुने छ ।
आयोगले विभिन्न १२ मतदान केन्द्र र ३० मतपेटिकाको व्यवस्था गर्नेछ । यसैगरी, निर्वाचनमा आठ किसिमका आठ रङ्गका मतदानपत्र प्रयोग हुनेछ । विधानले व्यवस्था गरेअनुसार नयाँ र विभिन्न कोटाका आधारमा मतपत्र प्रकाशित हुनेछ । निर्वाचन आयोगले राष्ट्रिय सभागृहमा सचिवालय स्थापना गरेको छ तर या स्थललाई पार्टीले आजसम्म मात्र बुकिङ गरेको छ । आज विधान संशोधन पारित भएमा बिहीबार बिहान मनोनयन प्रक्रिया प्रारम्भ हुनेछ । मतदान सकिएपछि पदाधिकारीको मतगणना महाधिवेशनस्थल भृकुटीमण्डपमा र केन्द्रीय कमिटीका सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय बल्खुमा हुनेछ । रासस