बिहिबार, चैत्र १५, २०८०

विद्यार्थी नहुँदा करोडौँ मूल्य बराबरको भौतिक संरचना जीर्ण हुदै

भक्तपुर ज्येष्ठ २४, विद्यालय छन् तर विद्यार्थी छैनन् । सरकारी सम्पत्तिको रुपमा रहेका भक्तपुरका विद्यालयका करोडौँ मूल्य बराबरको भौतिक संरचना अलपत्र रुपमा बेवारिसे बनेको छ ।  बन्द भएका विद्यालयको भौतिक संरचनाको सही सदुपयोग नहुँदा जिल्लाका ५० वटा विद्यालयको भौतिक संरचना deo-bhaktapur-logoबेवारिसे बनेको हो ।

जिल्ला शिक्षा कार्यालय भक्तपुरका अनुसार बन्द भएका र विद्यार्थी सङ्ख्या न्यून रहेर गाभ्नै पर्ने विद्यालयको दुई रोपनीदेखि २० रोपनीसम्म जग्गा एवम् भूकम्प प्रविधिद्वारा बनाइएको पक्की भवन खाली राख्नु परेको छ ।  जिल्ला शिक्षा कार्यालयका अधिकृत ललितविक्रम सिंहका अनुसार जिल्लामा बन्द भएका छ वटा विद्यालय र बन्द हुने अवस्थामा पुगेको ५० वटा विद्यालयको भौतिक संरचनाको उचित सदुपयोग गर्न नसक्दा भवनहरू खाली राख्नु परेको बताउनुभयो ।

विद्यालयमा ५० जनाभन्दा कम विद्यार्थी भएका विद्यालय बन्द गरेर अन्य विद्यालयमा गाभ्नुपर्ने नियम भए पनि कार्यालयले गाभ्ने प्रयास गर्दा पनि नसकेपछि यस्ता विद्यालयका भौतिक संरचना अलपत्र परेका छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार त्यस्ता विद्यालयलाई अन्य विद्यालयसँग गाभ्ने तयारी गरेर प्रक्रिया अगाडि बढाए पनि स्थानीय समुदाय एवम् अभिभावकले विद्यालयका भौतिक संरचना कसैलाई पनि दिन नचाहे पछि अलपत्र यस्ता संरचना जीर्ण बन्न थालेका हुन् ।

नियमानुसार विद्यालय गाभ्नुपर्ने अवस्थामा विद्यालयका भौतिक संरचना र विद्यालयको जमिन स्थानीय निकायलाई दिनुपर्ने प्रावधान छ । तर समुदायले स्थानीय निकायलाई संरचना दिन नमानेपछि अलपत्र परेर जीर्ण बन्दै गएका छन् । नेपाल सरकार र विभिन्न विदेशी दातृ निकायको आर्थिक सहयोगमा निर्माण भएका भूकम्प प्रतिरोधी विद्यालय भवन अलपत्र अवस्थामा पुग्दा जीर्ण बन्न थालेका छन् भने भवनको सुरक्षा नहुदा भवन मक्किन थालेका छ । कतिपय भवनमा झार र काडाहरू उम्रिएका छन् भने कतिपय भवन खुला शौचालयका रुपमा समेत परिणत हुन थालेको स्थानीय बासिन्दाले बताएका छन् । रासस