बिहिबार, बैशाख १३, २०८१

राष्ट्रसङ्घ मुख्यालयमा प्रधानमन्त्री–महासचिव बानवीच विशेष भेटवार्ता

काठमाडौँ आषाढ ७ ,प्रधानमन्त्री सुशील कोइरालाले सत्य निरूपण तथा मेलमिलाप एवम् वेपत्ता छानबिनसम्बन्धी कार्यविधि कार्यान्वयन गरिएको उल्लेख गर्दै त्यसमा आममाफीको व्यवस्था नभएको स्पष्ट गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनसँग शुक्रबार अपराह्न PM-meets- न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको भेटवार्तामा उहाँले केही स्वदेशी तथा विदेशीहरूबाट आममाफीको व्यवस्था भएको भन्ने अभिव्यक्तिको खन्डन गर्दै वास्तविकता अवगत गराउनुभयो ।

भेटवार्तामा प्रधानमन्त्री कोइराला र महासचिव बानले द्वन्द्वोत्तरकालमा विश्वसनीय सङ्क्रमणकालीन न्यायिक संयन्त्रको अपरिहार्यतामा जोड दिनुभएको थियो । त्यस क्रममा प्रधानमन्त्री कोइरालाले हालै नेपालले सत्य निरूपण तथा मेलमिलाप एवम् वेपत्ता छानबिनसम्बन्धी कार्यविधि कार्यान्वयन गरेको जानकारी गराउँदै उक्त कार्यविधिले मेलमिलापलाई लक्ष्य गर्दै आममाफीको व्यवस्था नगरेकामा महासचिवलाई आश्वस्त पार्नुभयो ।

भेटमा उहाँहरूबीच आपसी हितका धेरै क्षेत्रमा विचार आदानप्रदान हुनुका साथै प्रजातन्त्र, शान्ति र संविधान लेखन प्रक्रियामा केन्द्रित रहेर विचारविमर्श भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगले आज जनाएको छ ।  प्रधानमन्त्री कोइरालालाई स्वागत गर्दै महासचिव बानले विश्वका विभिन्न भागमा नेपालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा पु-याएको योगदानको कदर गर्दै त्यसमा नेपालको निरन्तर सहभागिताको आशा गर्नुभयो ।

उहाँले नेपाली शान्ति सेनाको व्यावसायिकता र साहसको प्रशंसा गर्दै चुनौतीपूर्ण कार्य क्षेत्रमा आफ्ना सेना परिचालन गरेकामा नेपाल सरकारप्रति आभार व्यक्त गर्नुभयो । उहाँले शान्ति सैन्यबलमा लैंगिक सन्तुलन कायम गर्न राष्ट्रसङ्घ लागिपरेको जानकारी दिँदै महिलालाई पनि नेपाली शान्ति सेनामा प्रोत्साह गर्न आग्रह गर्नुभयो ।

उक्त नियोगका अनुसार महासचिव बानले नेपालको आर्थिक विकासका लागि उपलब्ध राष्ट्रसङ्घीय पद्धति तथा अतिकम विकसित तथा भूपरिवेष्टित विकासोन्मुख देशले पाउने सहयोगको उपयोग गर्न प्रधानमन्त्री कोइरालालाई अनुरोध गर्नुभयो ।  प्रधानमन्त्री कोइरालाले नेपालको विकासका निम्ति संयुक्त राष्ट्रसङ्घले निर्वाह गरेको भूमिकाप्रति कृतज्ञता ज्ञापन गर्नुभयो । उहाँले जलविद्युत्, पर्यटन, कृषि एवम् अमूल्य जडीबुटीको विकासबाट नेपालले आर्थिक समृद्धि हासिल गर्ने उल्लेख गर्दै अतिकम विकसित तथा भूपरिवेष्टित विकासोन्मुख देशलाई उनीहरूको विकास प्रयासमा अन्तर्राष्ट्रिय समुदायको विशेष सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो ।

राष्ट्रसङ्घमा महासचिव बानको नेतृत्वप्रति आभार प्रकट गर्दै प्रधानमन्त्री कोइरालाले संयुक्त राष्ट्रसङ्घका आदर्शप्रति नेपालको अटल विश्वास दोहो¥याउनुभयो । नेपाली शान्ति सेनामा महिला सहभागिता बढाउने र शान्ति सेनामा निरन्तर योगदान रहने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउँदै उहाँले नेपालको शान्ति प्रक्रियामा राष्ट्रसङ्घले गरेको सहयोगको सरहाना गर्नुभयो । प्रधानमन्त्री कोइरालाले राजनीतिक प्रक्रिया सकारात्मक गतिमा अघि बढिरहेको जानकारी दिँदै शान्ति, प्रजातन्त्रको सुदृढीकरण र राजनीतिक स्थायित्वका लागि संविधान लेखन अपरिहार्य भएको बताउनुभयो । उहाँले नेपालका प्रमुख राजनीतिक दल नयाँ लोकतान्त्रिक संविधान चाँडै जारी गर्न प्रतिबद्ध रहेका जानकारी पनि दिनुभएको उक्त नियोगले जनाएकोे छ ।

संविधान लेखनका निम्ति प्रधानमन्त्री कोइरालाको नेतृत्वमा जारी राजनीतिक प्रयासको प्रशंसा गर्दै महासचिव बानले नयाँ संविधान जारी गर्ने समयसारणीबारे चासो राख्नुभएको उक्त नियोगले केहीबेर अघि सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका दिशामा रत्तिभर समय खेर नफालिने दृढता पनि व्यक्त गर्नुभयो ।  प्रधानमन्त्री कोइरालाले महासचिव बानलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्न आमन्त्रण पनि गर्नुभयो । भेटवार्तामा महासचिव बानले प्रधानमन्त्री कोइरालाको सुस्वास्थ्यको कामना गर्नुभएको थियो । तस्बिर संलग्न छ । रासस