शनिबार, बैशाख ८, २०८१

राजनीतिक दस्तावेजलाई पारित

काठमाडौँ ज्येष्ठ १८, नेकपा (एमाले) केन्द्रीय कमिटीको आजको बैठकले नवौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेजलाई पारित uml officeगरेको छ । सो दस्तावेज सर्वसम्मत रूपमा पारित भएपछि महाधिवेशनमा एकमात्र राजनीतिक विचार प्रस्तुत हुनेछ । सो दस्तावेज अध्ययन र सुझावका लागि महाधिवेशन अगावै मातहतका कमिटीमा पठाइने एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । दस्तावेज पारितसँगै एमाले महाधिवेशन अब तोकिएको समयमा हुने देखिएको छ ।

पार्टीका अध्यक्ष तथा दस्तावेज कमिटीका संयोजक झलनाथ खनालले यही जेठ १४ गतेको बैठकमा प्रस्तुत गर्नुभएको सो प्रस्तावमा केन्द्रीय कमिटीका सदस्यको सुझावलाई समेटेर पारित गरिएको हो । सहमति हुनुअघि वरिष्ठ नेता नेपाल समूहले मुलुक पूँजीवादमा प्रवेश गरिसकेको भन्ने र नेता केपी शर्मा ओली समूहले अझै अर्धसामन्ती अवस्था कायम रहेको भन्ने दाबी गर्दैआएका थिए ।

पारित दस्तावेजमा २०६२/६३ को आन्दोलनलाई विशिष्ट प्रकारको राजनीतिक क्रान्तिको संज्ञा दिइएको छ भने मुलुक प्रारम्भिक पूँजीवादको चरणमा प्रवेश गरेकाले अब सामाजिक–आर्थिक रूपान्तरणमा पार्टीको ध्यान जानुपर्ने उल्लिखित छ । त्यस्तै, पार्टीले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने यसअघिका फैसलालाई कायम राखेको छ ।

केन्द्रीय कमिटीका सदस्य ठाकुर गैरेले दस्तावेज कमिटीमा सहमति भएअनुसार मुख्य भावनाअनुसार बैठकले केही सुझावसहित त्यसलाई पारित गरेको बताउनुभयो । एमालेको पारित दस्तावेज, महाधिवेशन तयारी र व्यवस्थापनका कार्यबारे जानकारी दिन सो पार्टीले सोमबार पार्टी मुख्यालय बल्खुमा पत्रकार सम्मेलनको आयोजना गर्दैछ । यस्तै, महाधिवेशनमा प्रस्तुत गरिने साङ्गठनिक र विधानसम्बन्धी प्रस्तावबारे एमालेको सोमबार बस्ने बैठकमा छलफल हुनेछ ।  केन्द्रीय कमिटीको बैठक जारी रहेपनि एमाले नेताहरू समूहगत भेला कार्यक्रममा व्यस्त हुन थालेका छन् । आगामी असार १९ देखि २४ गतेसम्म काठमाडौँमा एमालेको महाधिवेशन हुने तय भएको छ । r