शुक्रबार, चैत्र १६, २०८०

म.प.को बैठक:  प्रम कोइराला स्वास्थ्य उपचारका लागि अमेरिका जानुहुने,विभिन्न निकायमा नियुक्ति

काठमाडौँ ज्येष्ठ २९, प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि अमेरिका जानुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कोइरालाको उक्त भ्रमण तय गरी स्वास्थ्य उपचारमा लाग्ने खर्च सरकारले बेहोर्ने निर्णय गरेको बताउँदै singhadurbarअषाढ ५ गते अमेरिकामा चिकित्सकको समय निर्धारण भइसकेकाले त्यस अगावै प्रम कोइराला अमेरिका प्रस्थान गर्नुहुने सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले जानकारी दिनु भएको छ ।

त्यसैगरी, बैठकले पूर्व उपप्रधानमन्त्री तथा वाम आन्दोलनकी अग्रणी नेत्री सहाना प्रधानको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ भने बैठकले राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समितिको अध्यक्षमा कुलचन्द्र वाग्ले र गोरखापत्र संस्थानको अध्यक्षमा रमेश तूफानलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

साथै आजको मप बैठकले प्रधानमन्त्री कोइरालाको प्रशासनिक सल्लाहकारमा बाबुराम आचार्य, हेटाँैडा सिमेन्ट उद्योग लिमिटेड सञ्चालक समितिको अध्यक्षमा श्रीधरकुमार पोखरेल, उदयपुर सिमेन्ट कारखाना सञ्चालक समितिको अध्यक्षमा विमल कार्की, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिको अध्यक्षमा दयालबहादुर शाहीलाई र घरेलु तथा साना उद्योग विकास समिति सञ्चालक समितिको अध्यक्षमा जगन्नाथ नेपाललाई दुई वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिका सदस्य अशोकनाथ उप्रेतीको कार्यकाल समाप्त भएको मितिले अर्को दुई वर्ष म्याद थप्ने निर्णय गर्नुका साथै राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरूमा लामा टेन्डी शेर्पा, सुरेन्द्र हमाल र शकुन्तला नगरकोटीलाई नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।  त्यस्तै सरकारले राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा प्रणिता उपाध्यायलाई नियुक्त गर्ने निर्णय गर्नुका अलावा बुढीगङ्गा जलविद्युत् आयोजनाको निर्माणका लागि सउदी विकास कोषबाट प्राप्त हुने रु दुई अर्ब ८२ करोड सहायतासम्बन्धी सम्झौताको काम अगाडि बढाउने र सौर्य ऊर्जा प्रवद्र्धन आयोजनाका लागि जर्मन विकास बैंकले प्रदान गर्ने ७३ करोडको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।